शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

रुपान्तरणको जिम्मा देउवाले नै लिनुपर्छ : अमृत अर्याल

शुक्रबार, ०५ साउन २०८०, १४ : ३५
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले रूपान्तरणको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा उनले भने, ‘रूपान्तरणको जिम्मा शेरबहादुर देउवाले नै लिनुपर्छ । शेरबहादुर दाइले विवेकपूर्ण निर्णय गर्नुहुनेछ । उहाँको विवेक र चातुर्यले काम गर्नेछ भन्ने लागेको छ मलाई ।’

सभापति देउवा नै विगतमा रूपान्तरण र पुस्तान्तरणको अभियन्ता भएको उनको भनाइ छ ।  ‘विपीले किसुनजीलाई कार्यवाहक बनाउनुभयो। विपीको कार्यवाहक बन्न पाउनु गौरवको कुरा हो भनेर किसुनजीले भन्नुभयो। किसुनजीबाट गिरिजाबाबुमा नेतृत्व गयो। त्यसपछि ‘आरएसएस’ जन्मियो,’ अर्यालले भने, ‘आरएसएसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयम् सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि रूपान्तरण र पुस्तान्तरण नै थियो।’

उनले त्यसपछि कांग्रेसमा ‘एकेजीवी’ जन्मिएको बताए। ‘एकेजीवी समूहमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि पुस्तान्तरण र रूपान्तरण नै थियो,’ अर्यालले भने, ‘यसलाई नयाँ रूपमा र अस्वाभाविक रूपमा लिनु हुँदैन ।’ उनले नेताहरू देशभर हिँडेर अभियान चलाइरहँदा वा शालीन रूपमा प्रस्तुत भएर नेतृत्वको दाबी गर्नु दुवै स्वाभाविक भएको उनले बताए ।

‘शेखर कोइराला ७७ वटै जिल्लामा पाँच–सात पटक गइसक्नुभयो होला । एक किसिमको प्रभाव छोड्दै हुनुहुन्छ,’ अर्यालले भने, ‘अर्कातिर, केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति हुनुभएका नेता पूर्णबहादुर खड्का चुपचाप शेरबहादुर दाइको पदचाप पच्छ्याउँदै हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप