बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसमा गगनको लिखित मत : फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ

सोमबार, ०८ साउन २०८०, १८ : ०६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मत दर्ज गराएका छन् ।  सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने भन्दै लिखित प्रस्ताव दर्ज गराएका हुन् ।

 उनको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’ संसद्को नियमावलीले ३ वर्षभन्दा बढीको सजाय हुने मुद्दामा निलम्बन हुने व्यवस्था स्मरण गराउँदै उनले त्यो पार्टीमा पनि पालना गराउनुपर्ने बताए । भोलि आफूलाई परे पनि त्यो कुराको कार्यान्वयन गर्नुपर्ने बताए ।

'सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ,' उनले भने, 'बैठकको मुड हेर्‍यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउछु ।'

भ्रष्टाचारका सन्दर्भमा सरकारले चालेका कदममा कांग्रेसले साथ दिनुपर्ने थापाको भनाइ थियो । उनले भने, 'भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन । केही कारणले कसैले छुट पनि पाउनुहुन्न । कसैले भारी पनि बोकाउनुहुन्न । कोही व्यक्तिलाई अनावश्यक लान्छना लगाउने कुरा बन्द हुनुपर्छ । कांग्रेसले सरकारले अगाडि बढाएका कुरामा साथ दिनुपर्छ । कांग्रेस भएका कारणले कसैले छुट पाउनुहुन्न । कांग्रेस भएकै कारणले भारी पनि बोक्नुहुन्न ।'

362608516_1363396857857163_7893098747662538755_n362938525_295614916463943_4482666124297340007_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप