सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसदमा सुन प्रकरण प्रवेश

‘सुनमय संसद्’ : तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न विपक्षी दलको दबाब

बुधबार, १० साउन २०८०, १८ : ५५
बुधबार, १० साउन २०८०

काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक सुन तस्करीको विषयमा केन्द्रित बन्यो । झन्डै डेढ घण्टा चलेको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरुले सुन तस्करीको विषयलाई महत्वका साथ उठाएर सरकारमाथि निष्पक्ष छानबिन गर्न र मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब सिर्जना गरे । 

बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बस्ने समय तय भएपनि झन्डै डेढ घण्टापछिमात्र बैठक सुरु भएको थियो । सुन तस्करी प्रकरणलाई लिएर संसदमा सशक्त हस्तक्षेपका लागि रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल एमालेले मध्यान्न १२ बजेपछि नयाँ बानेश्वरमा संसदीय दलको बैठक राखेको थियो । उता राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सांसदहरु सहभागी भएर सुन तस्करी प्रकरणबारे संसदमा छलफल गर्न, त्यसको छानबिन, गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग्नेबारे जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरे । 

सुन तस्करी प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने एमालेले पहिलेनै तयारी गरिरहेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरुद्ध नगरी संसदीय प्रक्रियाबाटै सरकारमाथि दबाब सिर्जना गर्ने तयारी गरेका थिए । 

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारकै संरक्षणमा सुन तस्करी भएको आरोप लगाउँदै छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेको छ । 

उता अर्को विपक्षी दल रास्वपाले भने सरकारले गरेका भ्रष्टाचारविरुद्धका काममा समर्थन गर्ने बताए पनि सरकारले गहिराइमा पुगेर अनुसन्धान तथा अभियुक्तहरुलाई पक्राउ नगरेकोमा आपत्ति जनाएको छ । भ्रष्टाचार प्रकरणका मुख्य अभियुक्तहरुलाई पक्राउ गर्ने, विषयवस्तुको गहिराइमा नपुगी गिजोल्ने काम मात्र गरेको रास्वपाको आरोप छ । 

यस्तै अर्को प्रतिपक्षी दल राप्रपाले सरकारलाई सुन तस्करी तथा अन्य भष्ट्राचारका विषयमा जरोसम्म पुगेर काम नगरेको आरोप लगाएको छ । मुख्य अभियुक्तलाई छाडेर भरियालाई मात्र जेलमा कोचेर सरकारले जनताको आँखामा छारो हाल्न खोजेको राप्रपाको आरोप छ । 

यता सत्तापक्षकै एक सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य अभियुक्तलाई पक्राउ नगरे संसद् भवनमै आमरण अनसन बस्ने चेतावनी दिए । 

झन्डै डेढ घण्टा चलेको बैठकमा विपक्षी दलहरूले सरकारलाई सुन तस्करी प्रकरणमा छानबिन तथा अनुसन्धान गर्न र मुख्य दोषीलाई समाएर कारबाही गर्न दबाब सिर्जना गरेका छन् । 

एमालेको माग : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाऊ 

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा सरकारको संरक्षण रहेको आरोप लगाएको छ । बुधबार बसेको बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले १ क्वीन्टल बढी सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण रहेको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । उच्चस्तरीय छानबिन समिति नबनाएर एमालेले संसद् चल्न नदिने गिरीले बताए । 

प्रमुख सचेतक गिरीले पछिल्लो पटक १ क्विन्टलभन्दा बढी सुन आएको, त्यहाँ सुरक्षाकर्मी, भन्सारका कर्मचारी रहेको, विभिन्न सेटिङ मिलाएर बाहिर निकालेपछि राजस्व अनुसन्धान विभागले समातेको बताए ।

१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रमुख सचेतक गिरीले भने,‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो कि थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृह मन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’

वैशाखमा दर्ता भएको कम्पनीले दुई तीन महिनाको अवधिमा ३३ पटक क्वीन्टलका क्वीन्टल समान भित्रिएको भन्दै त्यसको संरक्षण गर्ने काम प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले संरक्षण गरेको हो कि हैन भन्दै प्रमुख सचेतक गिरीले प्रश्न गरे । उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बताउन माग गरे । 

उनले पछिल्लो एक वर्षयताको अवस्था हेर्दा विमानस्थलको सुरक्षा व्यवस्था फितलो बनाइएको बताए । पौष १० गते दुबईबाट ९ किलो सुन विद्युतीय चुरोटभित्र सुन ल्याएको माघ २९ गतेसम्म भन्सारभित्रै राखिएको र बाहिर ल्याउन कृष्णबहादुर महराका बाउछोराले धेरै पटक फोन गरेको कुरा बाहिर आएको बताउँदै सत्तापक्षकै नेता कृष्णबहादुर महराले १९५ पटक चिनियाँ व्यापारीलाई फोन गरेको तथ्य बाहिर आउँदा पनि छानबिन नभएकोमा प्रश्न गरे । उनले भन्सार कार्यालयका कर्मचारी भक्तिराज श्रेष्ठलाई महराले धेरै दबाब दिएको तर श्रेष्ठले आफूले स्वीकार नगरेको बयान दिएको संसदमा सुनाए । 

संसदभवनमा आमरण अनसन बस्ने कांग्रेस सांसद शर्माको चेतावनी 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट १ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने चेतावनी दिए । उनले तस्करीमा संलग्न भरियामात्र पक्राउ गरी नाइकेलाई नसमात्ने हो भने प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि संसदमा भवनमा आमरण अनसन बस्ने चेतावनी दिएका हुन । 

उनले भने, ‘नेताहरु काठमाडौँ बसेका बेला त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन आउँदाखेरी मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसदमा रहेका सांसदहरु पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । बाहिर होउन्जेल त म पर्खिउँला । तर यो चिजलाई गुमचुम पारेर बिचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरु भाग्छन्, दुईजना मन्त्री गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही बिचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।’

रवि लामिछानेले मागे सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको जवाफ 

राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सुन तस्करी प्रकरणमा रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भन्दै त्यसमा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे । 

उनले विमानस्थल बाहिर ट्याक्सीमा सुन आएको थाहा पाएपछि त्यही नसमातेर ट्याक्सी मालिकको पुगेपछि समातेको भए मालिक पक्राउ गर्न सकिनेतर्फ किन ध्यान नपु¥याएको भन्दै प्रश्न गरे । उनले सुन ठुलो सेटिङमा रहेको र यो निरन्तर चलिरहेको बताए । 

उनले केही कर्मचारीलाई सरुवा गरेर सुन तस्करी प्रकरणलाई टाल्न नपाइने बताए । 

नेता लामिछानेले सरकारले भ्रष्टाचार हरेक प्रकरणमा हात हालेको तर जरोसम्म नपुगेर गिजोल्ने काममात्र गरेको आरोप लगाए ।

 

राजेन्द्र लिङ्देनको प्रश्न : बाह्य दबाब र सूचनाको आधारमा देखाउनकै निम्ति सुन पक्रने काम भएको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको जरोसम्म पुग्न माग गरेका छन् । लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणको जरोसम्म पुग्न नसकेको बताउँदै उनले सरकार त्यसतर्फ अग्रसर नभएको बताए । 

उनले भने,‘अहिलेपनि हामीले १ क्विन्टल, डेढ क्वीन्टल सुन प्रक्रिया, यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइरहेको छ । त्यो कुनै सूचनाको आधारमा पक्राउ प¥यो होला नि त । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने सूचना दिएन होला ? कि यो कुनै बाह्य दबाब र सूचनाको आधारमा कसैलाई देखाउनकै निम्ति यो एक ट्रिप सुन पक्रने काम भएको हो ? हामीलाई आएको केही सूचना अनुसार यो आकस्मिक रुपमा पक्रेको वा थाहा पाएको आधारमा पक्रेको होइन । नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट भइरहेको छ । अरुले दिएको सूचना र दबाबका आधारमा पक्राउ भएको भन्ने कुरा बजारमा आएको छ ।’

उनले भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई जोगाउन काम नगर्न आग्रह गरेका छन् । अहिले अनुसन्धानका नाममा अहिले झारा टार्ने काम भइरहेको बताउँदै अनुसन्धानका लागि छानबिन आयोग बनाउन माग गरे । 

माओवादी सांसद पौडेल : विपक्षी दलले दिउँसै रात पार्न खोजे 

यता सत्तापक्ष दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले गरेको राम्रा कामबाट आत्तिएर विपक्षी दलहरुले दिउँसै रात पार्न खोजेको आरोप लगाए । 

उनले सरकारले सुशासन स्थापनका लागि धेरै राम्रा कदमहरु चालेको भन्दै प्रशंसा गरे । उनले सरकारले तस्करीको सुन समातेको प्रकरणमा बधाई दिँदै विपक्षीले दिउँसै रात पार्न खोजेको टिप्पणी गरे । 

उनले भने,‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढिरहेको छ, माननीयहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’ उनले कुनै दल विशेष भनी नहेरेर निष्पक्ष ढंगले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियालाई महाभियोग लगाउन सांसद यादवको माग 

यता जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाभियोग लगाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले जनप्रतिनिधिले निर्वाचन खर्च नबुझाएको भन्दै विज्ञप्ति निकालेर चरित्रहत्या गरेको बताए । 

उनले भने,‘हिजोमात्र प्रमुख निर्वाचन आयुक्तले एउटा विज्ञप्ति जारी गर्नुभएको छ । जनप्रतिनिधिहरुले खर्च विवरण बुझाएन, सार्वजनिक गरेन भनेर विज्ञप्ति निकाल्नुभएको छ । त्यो विज्ञप्ति कस्तो छ भने जनप्रतिनिधिहरुको चरित्र हत्या हुनेगरी योजना बनाएर प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो सभामुख महोदय । जवकि हामीले समयमै खर्चको विवरण बुझाएका छौँ । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । हामीले आफ्नो फेसबुक पेज मार्फत, सामाजिक सञ्जालमार्फत खर्चको विवरण सार्वजनिक पनि गरेका छौँ ।’

सांसद यादवले अगाडि भने,‘तर जानीजानी कानुनको आफैँ व्याख्या गरेर प्रमुख आयुक्तले जनप्रतिनिधिहरुको चरित्रहत्या गर्न खोज्नुभएको छ त्यो खेदजनक छ । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्त ज्यूलाई माफी माग्नका लागि अनुरोध गर्दछु । माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई बाध्य भएर कि त हामीले मानहानिको मुद्दा ठोक्नुपर्छ, अथवा महाभियोग लगाउनुपर्छ ।’ 

सभामुखले ‘शून्य समय’सुरु गर्न लागेपछि एमालेको अवरोध 

आकस्मिक समयमा आफ्नो भनाई राखेर अन्य दलका सांसदहरुलाई बोल्न अवरोध नगरेको प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखले शून्य समयको कार्यक्रम घोषणा गरेपछि सभामुखको आसन अगाडि पुगेर नाराबाजी सुरु ग¥यो । सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले आगामी साउन १५ गते सोमबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । आकस्मिक समयमा बोल्ने क्रममै एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरी संसद् अघि बढाउन नदिने चेतावनी दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप