सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राहत वितरण गर्न गएका व्यक्तिलाई जब बालिकाहरुले यौन दुर्व्यवहारको पीडा सुनाए...

बिहीबार, ११ साउन २०८०, २१ : ३८
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । केही दिन अगाडि एक व्यक्ति स्वयम्भू–१५ स्थित एक होस्टेलमा पुगे । विद्यालय प्राङ्गणमै सञ्चालित होस्टलमा पुग्दा उनले जे देखे, त्यो कल्पना गर्न लायक थिएन । कुनै एक संस्थाद्वारा सञ्चालनमा रहेको विद्यालयसँगैको होस्टेलमा ससाना बालबालिका बस्दै आएका थिए । 

त्यहाँ उनले जताजतै फोहोरै फोहोर देखे । डुङडुङती गन्हाउने । बाहिर जानेले नाक बन्द गर्नुपर्ने अवस्था । त्यहीबीच उनी भित्र पुगे । र भित्र उनीसँग बालिकाहरुले आफ्नो कुरा सेयर गरेपछि उनी छांगाबाट खसेझै भए । त्यहाँ होस्टेलमा बस्दै आएका बालिकाहरुले सरबाट यौन दुव्यर्वहार हुने गरेको बताए ।

त्यसपछि उनले तत्काल विभिन्न संघ संस्थामा उक्त जानकारी गराए । बन्धक जस्तै बनाएर राखेर बालिकाहरुमाथि होस्टेल सञ्चालकबाटै यौन दुव्र्यवहार हुने गरेको आरोप लागेपछि त्यहाँका ११ जना बालिकाको उद्धार गरिएको छ । 

राष्ट्रिय बालअधिकार परिषद्, काठमाडौँ महानगरपालिका, बाल हेल्पलाइन १०९८ र बालअधिकारका लागि राष्ट्रिय अभियानको संयुक्त टोलीले ११ जनाको उद्धार गरेको हो । बुधबार गएका उनीहरुलाई उद्धार गर्नुका साथै यौन दुव्र्यवहारको आरोपमा प्रहरीले होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपितलाई प्रहरी वृत्त स्वयम्भुमा राखिएको छ । बालिकाहरुमाथि यौन दुव्यर्वहार भएको उजुरीको आधारमा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको वृत्तका प्रमुख डिएसपी राजबाबु महर्जनले बताए । 

उद्धार गरिएका बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ । पीडित बालिकाहरुलाई काउन्सिलिङ गरेर आफुमाथि भएको दुव्यर्वहारबारे जानकारी लिने काम समेत भइरहेको छ । प्रारम्भिक चरणको जानकारी अनुसार कतिपय बालिकामाथि बलात्कार समेत भएको छ । कतिपयले आफुमाथि दुर्व्यवहार गरेको र कसैले भनेको खण्डमा जे पनि गर्ने भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।  

बाल कल्याण परिषद्मार्फत १०० भन्दा बढी बालबालिका उक्त संस्थामा बस्नुका साथै त्यही अध्ययन गर्दै आएका छन् । त्यही संस्थामार्फत विद्यालय सञ्चालन गरेर बालबालिकाहरुलाई पढाउँदै आइएको थियो । अनुसन्धानकै क्रममा रहेकाले सबैको जानकारी गोप्य राखिएको प्रहरीले जनाएको छ । 

‘एक जना त्यहाँ जानुभएको थियो । त्यही क्रममा बालिकाहरुले आफुमाथि सरले यौन दुर्व्यवहार गर्ने, जथाभावी छुने गरेको भनेका रहेछन् । त्यो जानकारी आएपछि सरोकारवाला सबै गएर बालिकाहरुको उद्धार गरेका छौं’ उद्धारमा खटिएकी राष्ट्रिय अभियानको सचिवालय सदस्य सोनी भट्टराईले भनिन् । 

बालगृहको नाममा सञ्चालित उक्त संस्थामा बालबालिका बस्न लायक नै नरहेको उनको भनाई छ ।  उक्त विद्यालयमा अब काठमाडौं महानगरपालिकाले अनुगमन गर्नेछ । र आवश्यक परेको खण्डमा विद्यालय बन्द समेत गराउन सक्नेछ । त्यहाँ रहेका बालबालिकालाई भने बालअधिकार परिषद्ले हेर्नेछ । 

यो स्कूल संस्थाले सञ्चालन गर्दै आएको होस्टेलको विषयमा के गर्ने भन्ने विषयमा सरोकारावाला निकायले छलफल थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप