सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजरको सैन्य विद्रोह अन्तिम होइन : फ्रान्स

शुक्रबार, १२ साउन २०८०, १५ : ३४
शुक्रबार, १२ साउन २०८०

नियामे । फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको उल्लेख गर्दै त्यसमा सैन्य अधिकारको समर्थन भएकाले सत्ता विप्लवमा लागेकाले जितेका बताएको छ । 

नाइजरलाई उपनिवेश बनाएको फ्रान्सले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सैन्य विद्रोहलाई अन्तिम मान्न नसकिने बताएको हो । सबै सैन्य अधिकारी एकताबद्ध नरहेका सङकेत गर्दै फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले उक्र कुरा बताइन् । 

सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । 

फ्रान्सेली विदेशमन्त्रीले सैनिक घेरामा राष्ट्रपति निवासमा रहेका राष्ट्रपति बाजुमसँग राष्ट्रपति इम्यानुएल म्याक्रोँले टेलिफोन वार्ता गरेको जानकारी दिँदै बन्दी बनाइएका राष्ट्रपति स्वस्थ रहेको बताइन् । “नाइजरक राष्ट्रपतिसँग सम्पर्क कायम गर्न सकिन्छ, उहाँ अगम्य हुनुहुन्न,” उनले भनिन् । 

अफ्रिकी तथा अन्य अन्तर्राष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

सैनिक घेरामा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले  प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका बताए । उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता पनि व्यक्त गरेका हुन् । 

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिए । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् । 

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप