बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समिति बैठक

मञ्जु खाणले लेखा समिति सभापतिलाई बैठकमा ‘दाइ’ भनिन्, सचेत गराउनुपर्ने केसी मुसुमुसु हाँसे

आइतबार, १४ साउन २०८०, १८ : १५
आइतबार, १४ साउन २०८०

काठमाडौँ । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र विविध विषयमा छलफल गर्ने कार्यसूची थियो । बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा सभापति थिए नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसी । 

बैठकमा समितिको आन्तरिक कार्यविधिका साथै विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणमा छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराउने लगायतका विषयमा छलफल भयो । औपचारिक बैठकको छलफलका क्रममा सभापतिको भूमिकामा रहेका केसीलाई कांग्रेस सांसद मञ्जु खाणले ‘दाइ’ भनेर सम्बोधन गरिन्, जुन संसदीय अभ्यास विपरीत थियो । खाणले दाइ भनेर सम्बोधन गरेपछि सभापतिको भूमिकामा रहेका केसीले संसदीय शब्द प्रयोग गर्न निर्देशन दिनुपर्नेमा उनले मुसुमुसु हाँसेर खाणका कुरा सुने । खाणले बैठकको आन्तरिक कार्यविधि कस्तो हुनुपर्ने भन्ने बारेमा बैठकमा लिखित भनाई राखेकी थिइन् । 

औपचारिक ढंगले संसदीय बैठक चलिरहेका बेला नाता सम्बन्धको आधारमा सभामुख वा सभापतिलाई सम्बोधन गर्नु अशोभनीय मानिन्छ । 

लेखा समिति सचिव भन्छन् : समितिको बैठक संसद्को सभाभन्दा केही अनौपचारिक हुन्छन्

सार्वजनिक लेखा समितिका सचिव एकराम गिरीले संसदीय समिति संसद्को सभाभन्दा केही अनौपचारिक हुने बताए । तरपनि सभापतिलाई सम्बोधन गरेर आफ्नो कुरा राख्नुपर्ने उनले बताए ।   

उनले प्रतिनिधिसभा नियमावलीले सभामा बोल्दा सभाको प्रमुखलाई सम्बोधन गरेर बोल्नुपर्छ भनेको उल्लेख गर्दै त्यही कुरा समितिमा पनि लागू हुने बताएपनि संसद्को सभाभन्दा समितिको बैठक केही अनौपचारिक हुने तर्क गरे । 

सभापतिमा आफूले जन्माएको छोरा नै भएपनि ‘माननीय सभापतिज्यू’ भनेर सम्बोधन गर्नुपर्छ : शशी श्रेष्ठ 

राज्य व्यवस्था तथा सुशासन समितिका पूर्व सभापति शशि श्रेष्ठले संसदीय समितिमा सभापतिको भूमिका सभामुखको जति नै भएकोले नाता लगाएर सम्बोधन गर्न संसदीय मान्यता विपरीत रहेको बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले संसदीय समितिमा आफ्नै छोरा, नाति सभापति भएपनि माननीय सभापति भनेर सम्बोधन गर्नुपर्ने बताइन् । 

पूर्वसभापति श्रेष्ठको भनाई जस्ताको तस्तै:

संसदीय समितिको बैठकमा सभापतिलाई कुनै नाता लगाएर सम्बोधन गर्न मिल्दै मिल्दैन । संसदीय समितिको सभापति भनेको ‘मिनी पार्लियामेन्ट’ को सभामुख हो । सभामुखलाई जे अधिकार हुन्छ, सभापतिलाई पनि त्यही सबै अधिकार हुन्छ । त्यहाँ कसैले गलत ग¥यो भने कारबाही गर्ने, स्पष्टीकरण सोध्नेदेखि कारबाही गर्ने सम्मको अधिकार हुन्छ । 

सभामुखलाई नाता सम्बन्ध लगाएर सम्बोधन गर्न मिल्छ र ? आदरणीय सभामुख देवराज दाइ, देवराज काका, देवराज भाइ अथवा देवराज फुपाजू आदी इत्यादि भन्न मिल्छ र ? सभामुखलाई यसो भन्न नमिल्ने भएपछि सभापतिलाई भन्न कहाँ मिल्छ र ?

समिति भनेको संसद्को कामलाई प्रभावकारी बनाउनका लागि सहयोग गर्नका लागि बनाइएको हो । एकातिर संसद्को काम कारबाहीलाई सहज बनाउने, सहयोग गर्ने भयो, अर्को कुराचाँही सरकारको काम कारबाहीलाई सल्लाह सुझाव दिने, निगरानी गर्ने, खबरदारी गर्ने लगायतका कुराहरु हुन् । त्यसकारण समितिको सभापतिलाई नाता लगाएर सम्बोधन गर्ने भन्ने कुरा हुन सक्दैन । 

त्यस्तो अवस्थामामा रुलिङ गर्ने, निर्देशन दिने सभापतिलाई पूर्ण अधिकार हुन्छ । पहिलो कुरा त सदस्यहरु आफै सचेत हुनुप¥यो । आफ्नो अधिकार के हो, आफू कहाँ छु थाहा पाउनुप¥यो । घरमा छु कि वा समाजको कुनै चौतारीको भेलामा छु कि ? संसदमा छु कि सदस्यहरुले पनि छुट्टयाउनुप¥यो । म कहाँ छु, के को लागि छु, भन्ने बारेमा माननीय सदस्यहरुले छुट्याउनुपरेन । घर, व्यवहार, समाज, चौतारीको जस्तो संसदमा कुरा हुँदैन । हाम्रा अरु औपचारिक बैठकहरुमा हामीले संवोधन गर्दा त्यही ढंगले गर्नुपर्छ भने यो त संसद् हो । समिति भनेको त मिनी संसद् हो । मिनी संसद् भइसकेपछि संसदमा जे भूमिका खेलिन्छ त्यही भूमिका यहाँ खेल्नुपर्छ । कसलाई के सम्बोधन गर्ने भन्ने कुरापनि थाहा नपाउने हो भनेदेखि त अध्ययन गर्नुप¥यो नि । थाहा नहुन सक्छ अध्ययन गर्नुप¥यो । 

अर्को कुरा सदस्यहरुलाई थाहा नभएर भन्न संसद् सुरु भएका यत्तिका महिना भयो, अझै थाहा भएन होला भन्न त मिल्दैन । एक महिना, दुई महिना थाहा भएन भन्नपनि सकिएला । यत्तिका दिनमा अव थाहा भएन भन्न त हुन्न । फेरिपनि थाहा भएन भने सभापतित्व गरिरहेको मान्छेले यो गर्न हुने र यो गर्न नहुने भन्ने कुरामा सचेत गराउनुपर्छ । 

उमेरमा जे भएपनि दाइ, भाइ, काका, मामा, भान्जा, भान्जी केहीपनि साइनोले सम्बोधन  गर्न मिल्दैन । समितिमा आफूले जन्माएको छोरा नै सभापति छ भनेपनि माननीय सभापति ज्यू नै भनेर सम्बोधन  गर्नुपर्ने हुन्छ । भूमिकामा छोरा, नाति, नातिनीहरू, छोरीहरु जो पनि हुन सक्छन्, घरमा आएर ए के गरिस् भन्न सकिन्छ तर त्यहाँ चाहिँ माननीय सभापति ज्यू भनेर नै सम्बोधन गर्नुपर्ने हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप