शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडाको एक बेकरी उद्योग सिल, ३ वटालाई जरिवाना

बिहीबार, १८ साउन २०८०, २० : १६
बिहीबार, १८ साउन २०८०

मकवानपुर । हेटौंडाको एक बेकरी उद्योगमा प्रशासनले सिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वमा रहेको अनुगमन टोलीले हेटौंडा–१९, बस्तीपुरमा रहेको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो ।

सो उद्योगबाट उत्पादित खाद्य बस्तुको नापतौल नगरेको, उत्पादनमा अखाद्य बस्तु प्रयोग गरेको, उत्पादित बस्तुमा लेवल नलगाएको, उत्पादनमा प्रयोग गरिएका सामग्रीहरु र उद्योग सरसफाइ नगरेको भन्दै अनुगमन टोलीले उद्योगमा सिल गरेको हो । अनुगमन टोलीले उद्योगको एउटा मेसिन र उत्पादित सामग्री भण्डारण कक्षमा सिल गरेको छ ।

अनुगमन टोलीले उद्योगलाई २ लाख ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । अनुगमनका क्रममा उद्योगले गत २०७७ देखि कुनै पनि सरकारी संस्थामा नवीकरण नगरेको र खाद्य अनुज्ञापत्र समेत नवीकरण नभएको पाएको थियो । उद्योगमा उत्पादन तथा बिक्री अनुमति नभएका गुट्खा, चकलेट, मिठाइ लगायतका खाद्य सामग्रीसमेत फेला परेको थियो ।

उद्योगलाई ३ दिनभित्र सम्बन्धित कार्यालयहरुमा उद्योग तथा अनुज्ञापत्र नवीकरण गर्नका साथै थप प्रक्रियाका लागि घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ ।

२० वटा उद्योग व्यवसायमा गरिएको अनुगमनमा थप ३ वटा पसल तथा व्यवसायलाई जरिवाना गरी सचेत गराइएको छ । बस्तीपुरको सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानले सञ्चालन गरेको किराना तथा मासु पसललाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

पसल तथा व्यवसायमा सरसफाइ नगरेको, उपभोग्य मिति समाप्त भएका सामग्रीहरु फेला परेको, खरिद तथा बिक्री बिल नराखेको भन्दै उनीहरुलाई जरिवाना गरिएको हो भने दोर्जे सिन्तानले व्यवसाय दर्ता नगरी पसल सञ्चालन गरेको भन्दै जरिवाना गरिएको हो ।

अन्य पसल व्यवसायहरुलाई सरसफाइ तथा व्यवसाय नवीकरण लगायतका विषयमा ध्यान दिन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टीका शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप