शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले दुःख पाउनको लागि संघीयता आएको होइन : मुख्यमन्त्री यादव

शुक्रबार, १९ साउन २०८०, ०८ : ५८
शुक्रबार, १९ साउन २०८०

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले जनताले दुःख पाउनको लागि संघीयता नआएको बताएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिए । 

जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम उनले प्रश्न गरे । मुख्यमन्त्री यादवले मधेश प्रदेशको शिक्षाको स्तर उकास्न सम्बन्धित निकायका प्रमुखहरुलाई कडा निर्देशन दिँदै इमानदारीपूर्वक काम गर्न जरुरी रहेको बताए ।

प्राविधिक शिक्षाको क्षेत्रमा ४८ करोड बजेट लगानी भएपनि त्यसको उपलब्धि चित्तबुझ्दो नभएको उनले स्पष्ट पारे । 'अहिलेसम्म पनि जति उपलब्धि हुनुपर्ने हो, त्यति भएको छैन,' मुख्यमन्त्री यादवले भने ।

आफू समस्या समाधान गर्न तयार  रहेको तर लापरबाही गर्नेहरुलाई कारबाही गर्न पनि पछि नपर्ने दृढता उनले बताए । ११ औं राष्ट्रिय खेलकूद प्रतियोगिता गराउन सबै जिल्लामा स्टेडियम निर्माणको लागि प्रदेश सरकार लगानी गर्न तयार रहेको उनले बताए ।

जनकपुरधामको रामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि भारत सय करोड रुपैयाँ दिन सहमत भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले रंगशालामा लाग्ने थप खर्च पनि भारतले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जनाए । सोही  अवसरमा प्रदेशमा गुणस्तरीय विद्यालय स्थापना गर्ने आफ्नो अठोट रहेको जानकारी पनि उनले दिए ।

समीक्षा गोष्ठीमा शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले संघीयतामाथि चौतर्फी प्रहार भइरहेको चर्चा गर्दै कर्मचारीहरु कर्तव्य र दायित्व वोधका साथ अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । 'संघीयता जोगाउने जिम्मेवारी कर्मचारीमाथि आएको छ,' उनले भने –कर्मचारीले कर्तव्य र दायित्ववोध गरेर अघि बढ्नुपर्छ ।'

उक्त अवसरमा मधेश प्रदेशका निमित्त प्रमुख सचिव किशोर कुमार चौधरीले अन्तिम समयमा काम गर्दा गुणस्तर र परिमाणमा असर पर्ने भन्दै समयसीमा तोकेर योजनाअघि बढाउनुपर्नेमा जोड दिए । गोष्ठीमा शिक्षा तथा समाज कल्याण मन्त्रालय मातहत रहेको शिक्षा विकास निर्देशनालय, मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायतको कार्यालयले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप