शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीकै अगाडि चित्रबहादुर केसीले भने– ‘राज्यसत्ता नै लुटपाटमा लागेपछि गर्नुहुन्छ के ?’ (भिडियो)

शुक्रबार, १९ साउन २०८०, २२ : २१
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा जेष्ठ सदस्यको हैसियतमा सभापति रहेका चित्रबहादुर केसीले राज्यसत्ता लुटपाट र भष्ट्राचारमा लागेको आरोप लगाएका छन् । शुक्रबार बसेको समितिको बैठकमा विविध कार्यसूची अन्तर्गत सांसदहरुले सुन तस्करी अनुसन्धानको विषयमा सरकारको जवाफ माग्न जोड दिएका थिए ।

सांसदहरुले गृहमन्त्री र प्रधानमन्त्रीलाई बोलाउन माग गरेका थिए भने समितिको बैठक नियमित गर्न आग्रह गरेका थिए ।  बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सहभागी थिए ।

देशमा यति ठूलो सुन तस्करी काण्ड हुँदापनि राज्यव्यवस्था समितिको बैठक नबोलाएको भन्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले केसी जेष्ठ सदस्यको हैसियतमा समितिको सभापति भएकोले उनी नभएको बेला अर्को जेष्ठ सदस्यले समितिको अध्यक्षता गरेर बैठक सञ्चालन गर्न सकिने बताए । 

सांसदहरुको प्रश्न र सुझावहरुको जवाफ दिने क्रममा सभापति रहेका केसीले राज्य व्यवस्था समितिको बैठक राख्न सभापति निर्वाचित नभएको अवस्थामा सबै सांसदहरुको जिम्मेवारी बराबरी रहेको बताए । 

उनले भने– ‘उमेरले जेठो भएकोले म अहिले एकछिनका लागि यसको सभापति भएको न हो । मैले बैठक बोलाएन भनेर सबै दोष मेरो काँधमा हाल्न पाइदैन नी । सरकारसँग त मैले भनिरहेको छु, किन सभापति चयनका लागि बैठक बस्दैन ? साथीहरुले भन्नुहुन्छ अहिले केही एजेण्डा छैन, बेला भएको छैन भनेपछि नबोलाएको हो । मेरो आफ्नो व्यक्तिगत समस्या त छँदैछन् । कतिपय माननीयहरुलाई त मैले भनेको पनि छु ।’

बैठकमा सांसदहरुले ललिता निवास प्रकरण, नक्कली शरणार्थी प्रकरण, विमानस्थल भन्सारको बाटो हुँदै भएको क्वीन्टल बढी सुन तस्करी प्रकरणमा अनुसन्धान फितलो भएको आवाज उठाएका थिए । 

समितिका अन्य सदस्यहरुले उठाएको आवाजमा समर्थन गर्दै सभापति केसीले भने– ‘अहिले नेपालको स्थिति धेरै गम्भीर छ, राज्यसक्ता नै लुटपाटमा, भष्ट्राचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाँही पार्टी हो, कुन चाहीँ व्यक्ति हो भन्नु भन्दापनि राज्यसक्ता पुरै लुटपाटमा सामेल भइसकेपछि त के हुन्छ ? तैपनि हामीले त हरेश खानु त भएन । लोकतन्त्र छ र कमसेकम हामीले जनताका बीचमा समसामयिक कुरा गरिरहेका छौँ ।’

उनले समितिको बैठकलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले आफू बैठकमा उपस्थित नभएपनि ‘खुर्सानी बिना भान्छा रोकिन्न’ भनेझै बैठक नियमित रुपमा सञ्चालन गर्न सकिने बताए ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप