आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
यातायात सिन्डिकेट

यातायात व्यवसायीको ‘दादागिरी’ पछि पालिकाको पहलमा टिपरबाट ओसारियो यात्रु

आइतबार, २१ साउन २०८०, १५ : ५०
आइतबार, २१ साउन २०८०

सुर्खेत । पश्चिम सुर्खेतका नागरिकले जिल्ला सदरमुकाम पुग्न गाडी चढ्न नपाएको भन्दै चौकुने गाउँपालिकाले आफ्नै टिपर सञ्चालन गरेर पालिकावासीलाई सेवा दिन थालेको छ । ४३ दिन भयो पश्चिम गुटु, बिजौरा, लगाम, बेतानमा गाडी नलचलेको । जसका कारण बिरामी, गर्भवती सुत्केरी महिलालाई समस्या भइरहेको छ भने स्थानीय बजारमा महँगी बढेको छ ।

गाडी नचल्दा लगाम, बेतानदेखि दुई दिनको पैदल यात्रा गरेर गाडी चढ्न विद्यापुर आउँछन् चौकुनेवासी । तर, भाडा भने लगाम यताकै तिर्नुपर्छ । रुट परमिट लिएर पनि सम्बन्धित ठाउँमा गाडी नलाएपछि चौकुनेबासी आक्रोशित छन् ।

पटक–पटक आग्रह गर्दा पनि गाडी सञ्चालन नहुँदा शनिबार विद्रोह स्वरुप पालिकाले आफ्नै दुई वटा टिपरमा ६० जना यात्रु बोकेर वीरेन्द्रनगर आयो । रुट परमिट लिएर पनि यातायात व्यवसायीले अत्याचार गरेको र त्यहाँ स्वार्थको राजनीति भइरहेको भन्दै पालिकाले गिट्टी, बालुवा बोक्ने आफ्नै टिपरमै भए पनि सेवा सुरु गरेको हो । जसको नेतृत्व स्वयं पालिकाका अध्यक्ष खड्ग विक (विवश)ले गरेका थिए ।

chaukune-tiper (1)

केही वडाध्यक्ष पनि टिपरमै सुर्खेत पुगे । नजिकैको पञ्चपुरीको विद्यापुरसम्म गाडी चलाउने तर, चौकुनेसम्म गाडी सञ्चालन नगरी आफ्ना जनतामाथि नाकाबन्दी भइरहेको जनप्रतिनिधिको भनाइ छ । ‘४३ दिनदेखि चौकुनेमाथि नाकाबन्दी लाग्यो, हामीले कहिलेसम्म नाकाबन्दी सहने ? अब त अति भयो । हाम्रा नागरिकले दिएको निर्देशन अनुसार टिपरमा निःशुल्क वीरेन्द्रनगर जाने गरी सेवा सुरु ग¥यौँ,’ शनिबार टिपरमा बस्दै गर्दा अध्यक्ष विकले भने, ‘सवारी साधन नचल्दा चौकुनेमा महँगी बढ्यो, जनताले ठुलो दुःख भोग्नुप¥यो ।’

यातायात व्यवसायीको सहजताकै लागि अर्को पालिका (पञ्चपुरी)मा गएर पनि बाटो बनाइएको उनको दाबी छ । त्यति गर्दा पनि यातायात व्यवसायीले गाडी सञ्चालन नगरेको उनले बताए । उनी भन्छन्, ‘हामीले सम्बन्धित सबै निकायलाई लिखित, मौखिक रुपमा आग्रह गरे पनि सुनुवाइ भएन । स्थानीय सरकारले नै यातायात व्यवसायीको ज्यादतीविरुद्ध संघर्ष गर्नु परिरहेको छ ।’

यातायात व्यवसायीबाट मनोमानी तरिकाले नागरिकलाई दुःख दिने काम भइरहेको अध्यक्ष विकको आरोप छ । ‘पटक–पटकको आग्रहपछि केही दिनअघि गुटुसम्म दुई वटा गाडी पुगेका थिए तर, संयुक्त यातायात प्रालिका अध्यक्षले चौकुनेबाट एक जना पनि यात्रु बोकेर आए गाडीको सम्बन्धन खारेज गरिदिने धम्की दिएपछि रातारात गाडी फिर्ता भए,’ उनले भने, ‘यो त उहाँहरुले चौकुनेवासीमाथि अत्याचार गर्नुभयो ।’

वीरेन्द्रनगरबाट चौकुने गुटुसम्म ६० र गुटुदेखि लगामसम्मको दुरी ३३ किलोमिटर छ । पश्चिम क्षेत्रका लागि ९ वटा साना तथा ठुला गाडी वीरेन्द्रनगरबाट छुट्छन् । तर, ती गाडीहरु पञ्चपुरी नगरपालिका–९ को विद्यापुरभन्दा अगाडि जाँदैनन् । यातायात व्यवसायीले सडकलाई कारण बनाई गाडी सञ्चालन नगरेको बताएका छन् । यद्यपि विद्यापुर–गुटु, लगाम खण्डमा गाडी नै चल्न नसक्ने स्थितिमा सडक बिग्रिएकोे भने छैन ।

चौकुने–७ सान्नेघारीकी बुद्धिसरा सलामी १०० वर्षकी भइन् । उनलाई नियमित चेकअपका लागि महिनामा दुई पटक वीरेन्द्रनगर आइरहनुपर्छ । उनी गाडी नहुँदा शुक्रबार बेलुकी नै पैदल हिँडेर गुटु बजार पुगिन् । त्यहीँ बास बसेकी उनी शनिबार टिपरमा जान पाउने भएपछि हर्षित भइन् । चौकुनेका बासिन्दा वीरेन्द्रनगर बजारसँग आश्रित छन् ।

chaukune-tiper (2)

रमिते प्रशासन !

शनिबार यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध चौकुनेले टिपरमा जनता ओसारेपछि सामाजिक सञ्जालमा यातायात व्यवसायीको निकै आलोचना भयो । कतिपयले अहिलेको समयमा पनि गाडी चढ्न नपाएर विद्रोह गर्नुपर्ने स्थिति आउनु दुःखद् पक्ष भनेर अर्थ्याएका छन् भने कतिपयले उक्त क्षेत्रमा चल्ने गाडीको रुट परमिट खारेज गर्नुपर्ने बताएका छन् । यो विषयमा सुरुवातदेखिनै जानकार रहे पनि प्रशासन भने रमिते बनिरहेको छ ।

रुट परमिट लिने तर, गाडी नचलाउने सवारी साधनको रुट परमिट निलम्बन गर्ने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख छ । रातोपाटीले प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई यो विषयमा बुझ्न खोज्दा उनी व्यस्त रहेको उनका सहयोगीले बताए । यद्यपि आइतबार बेलुका चार बजे सर्वदलीय बैठक बोलाइएको बताइएको छ । यस्तै उक्त क्षेत्रका सांसदहरुले पनि यस विषयमा खासै चासो नदिएको नागरिकहरुको गुनासो छ ।

सोही क्षेत्रबाट केन्द्रीय सरकारको यातायात राज्यमन्त्री रहेकी नन्दा चपाईँले समेत उक्त विषयबारे खासै चासो दिएकी छैनन् । सांसद हृदयराम थानीले भने सार्वजनिक यातायातको समस्याले जनतालाई मर्कामा पार्न नहुने र तत्काल सबै पक्ष मिलेर छलफल, समन्वय र सहकार्यको बाटोबाट समस्याको स्थायी समाधान खोज्न जरुरी रहेको बताएका छन् । ‘रातोपाटीसँग उनले भने, ‘हिजो उहाँ (पालिका अध्यक्ष)ले टिपरमा राखेर जनताले ल्याउने हिम्मत गर्नुभयो । अब यो समस्यालाई समाधान गर्नुपर्छ भन्ने हो । यो निकै दुःखद पक्ष हो ।’

स्थानीय केही सरोकारवालाले यातायात क्षेत्रमा पनि राजनीति हावी भएको र राजनीतिक स्वार्थकै कारण यातायात व्यवसायीले गाडी चौकुने नलगेको आरोप लगाएका छन् । उक्त क्षेत्रमा ०४८ सालमै गाडी पुगेको थियो । ०८० सालमा आउँदा चौकुनेबासीले गाडी चढ्न संघर्ष गर्नुपरेको गुटुका स्थानीय थीरराज अधिकारी बताउँछन् ।

अध्यक्ष भर्सेस यातायात व्यवसायी

बड्डीचौर–बेनीघाट सडकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मदन भण्डारी राजमार्गका रुपमा नामकरण गरिएको थियो । अहिले उक्त सडकलाई तीन खण्डमा विभाजन गरिएको छ भने बड्डीचौर–खम्बागाडे (१३ किमि)र विद्यापुर–बल्दे (२२ किमि) खण्डमा कालोपत्रेसहितको सडक निर्माणको कार्य भइरहेको छ ।

यातायात व्यवसायी र चौकुने गाउँपालिकाबीच विवाद भएको खण्ड भनेको विद्यापुर–बल्दे अन्तर्गत हो । तर, सडकको सबैभन्दा समस्याग्रस्त खण्ड भनेको बड्डीचौर–खम्बगाडे अन्तर्गतको बीउरेनी खोलामा हो । उक्त खोलामा अहिले सहज रुपमा गाडी सञ्चालन हुने अवस्था छ ।

त्यस उताको सडकमा पनि गाडी नै चल्न नसक्ने स्थिति देखिन्न । तर, पनि यातायात व्यवसायीले गाडी सञ्चालन गर्न मानेका छैनन् ।

chaukune-tiper (3)

गाउँपालिका अध्यक्ष विकले बुधबार चौकुनेमै पत्रकार सम्मेलन गरी यातायात व्यवसायीमाथि आक्रोश पोखेका थिए । यातायात व्यवसायीले जनसेवाको भाव नदेखाएको र पैसा कमाउनका लागि भ्रष्ट सोच देखएको उनको भनाइ थियो ।

यातायात व्यवासायीले उनको अभिव्यक्तिप्रति आपत्ति जनाए । व्यवसायीले अध्यक्ष विकले आफ्ना अभिव्यक्ति नसच्याए गाडी झनै नचल्ने चेतावनी दिएका थिए । अध्यक्ष विकले प्रतिक्रियामा भने, ‘तिम्रा गाडीमा ताला लगाएर राख, हामी आफ्ना जनतालाई टिपरमै बोक्छौँ ।’

उनले गाडीको सहज यात्राका लागि समस्या भएको स्थानमा ठेकेदार कम्पनी र स्वयं पालिकाले समाधान गरिएको बताए । ‘केही निजी गाडी, ट्याक्टर, टिपर सहज रुपमा चल्छन् तर, उहाँहरुको गाडी चल्दैन, यहाँ सडक नराम्रो भएर होइन, उहाँहरुको मक्सद नै गाडी नचलाउने भएर हो,’ उनले भने ।

अब पालिकाले भाडामा बस सञ्चालन गर्ने

संयुक्त यातायात सेवाका अध्यक्ष नारायण चपाइँले गुटुसम्म गाडी सञ्चालन गरिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले यस अघि सडक हेर्न पठाइएका व्यक्तिले सडक अप्ठ्यारो भनेका कारण रोकिएको र अब सञ्चालन हुने बताए ।

यद्यपि पालिका अध्यक्ष विकले भने यातायात व्यवसायीको कुनै विश्वास नरहेकाले अब पालिकाले आफै गाडी भाडामा लिएर सञ्चालन गर्ने बताए । ‘अब संयुक्त यातायात प्रालिले हाम्रा गाडी अवरोध गर्नु भएन, केही दिनमै भाडमा बस सञ्चालन गर्छु,’ रातोपाटीसँग उनले भने, ‘अब जनताले टिपरमा हिँड्नु पर्दैन । आजको सर्वदलीय बैठकमा निष्कर्ष निकालेर भोलि नै लगाम बस पुर्याउँछु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप