शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिला उद्यमीलाई व्यवसाय प्रबर्द्धनमा सहयोग गर्न आग्रह

मङ्गलबार, २३ साउन २०८०, १७ : ३५
मङ्गलबार, २३ साउन २०८०

विराटनगर । महिला उद्यमीहरूले आफूहरूको व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले उद्यमशीलताको लागि सूचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानुनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरू पहुँच आधारित हुने गरेको गुनासो गरे । वास्तविक उद्यमीहरू विभिन्न अवसरबाट वञ्चित भएको, बैंक तथा वित्तीय संस्थाहरूबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरू मर्कामा परेको उनीहरूको दाबी थियो । 

कार्यक्रममा सहभागीहरूले व्यवसायिक प्रवद्र्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको पनि बताए ।

कार्यक्रममा कोशी प्रदेशको पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करीब २५ महिला उद्यमीहरू सहित ३५ जनाको सहभागिता थियो । कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिचका डेप्यूटी टिम लिडर अनिरुद्ध न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुति दिएका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीले स्रोत, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने बताइन् । उनले महिला उद्यमीहरूलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताइन् । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरूले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रभाव सम्बन्धी जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप