शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा भएको ब्रिटिस नेप्लिज् प्रिमियर लिगमा मिडल्याण्ड वारियर्स विजयी

मङ्गलबार, २३ साउन २०८०, २० : ४१
मङ्गलबार, २३ साउन २०८०

लन्डन । बेलायतमा सम्पन्न दोस्रो ब्रिटिस नेप्लिज् प्रिमियर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिता मिडल्याण्ड वारियर्सले जितेको छ । लन्डनको  साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा आयोजित प्रतियोगितामा वीनर मिडल्याण्ड वारियर्सले २५५० पाउण्ड नगदसहित, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो । यो पुरस्कार रकम बेलायतका  नेपाली समुदायमा हालसम्मकै सबै भन्दा उच्च रहेको  बताइएको छ ।

पुरस्कारको मुख्य प्रायोजक ‘द रवि फाउन्डेसन’ का संस्थापक एवम् युवा व्यवसायी रविन्द्रजंग लामिछानेले  पुरस्कार प्रदान गरे । यसै गरी रनर अप गोर्खा क्रिकेट क्लबले एक हजार पाउण्ड नगद, प्रमाणपत्र र ट्रफी जितेको छ जुन पुरस्कार माया सपोर्टेड लिभिङले प्रायोजन गरेको थियो । उक्त टिमलाई गोर्खा कन्स्ट्रक्सनका प्रमिस श्रेष्ठले प्रायोजन गरेका थिए ।

विजयी खेलाडीलाई इलिङ तथा साउथहल सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र नेपाल क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्लले ट्रफी, प्रमाणपत्र प्रदान गरे ।

कोभिड १९ का कारण यस अघि स्थगित रहेको बीएनपीएल प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरि ६ टिमले प्रतिस्पर्धा गरेका थिए । सुपर एट (८ ओभर) संरचनाको उक्त खेलमा प्रति टिम ८ खेलाडी थिए । बिहान ८ बजेबाट सुरु गरिएको खेल साँझ ८ बजेसम्म सञ्चालन गरिएको उक्त खेल हेर्न करिब तीन हजार दर्शक सहभागी भएको भएको आयोजकले बताए ।

उक्त लिगमा विशेष अतिथिका रूपमा सहभागी हुन हालै मात्र अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल  लन्डन आएका हुन् । संन्यास लिएकै दिन उनी नेपालबाट लन्डनतर्फ उडेका थिए ।

मुख्य आयोजक ‘केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेशन डाइरेक्टर सुनिल थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, अतिथि, दर्शक र खेलाडीप्रति आभार व्यक्त गरे ।

टुर्नामेन्ट डाइरेक्टर विनोद विकास सिम्खडा र मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले पनि प्रतियोगिता सोचेभन्दा बढी सफल भएकामा सबैप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले अर्को वर्ष खेल अझ व्यापक र परिष्कृत बनाउने प्रण गरे ।

बिहान ८ बजे सुरु भएर साँझ ८ बजेसम्म सञ्चालन भएको खेल हेर्न करिब तीन हजार दर्शक सहभागी भएको आयोजकको दाबी छ ।

प्रतियोगितामा  डिजे हेम विष्टको संगीत, बाउन्सी क्यासल र स्ट्रिट फुडको स्टल पनि राखिएको थियो । कार्यक्रमलाई बेलायतका विभिन्न व्यवसायीहरूले प्रायोजन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप