सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धादिङमा हिंसा पीडित बालिकाहरुलाई पुनः स्थापनामा समस्या

बिहीबार, २५ साउन २०८०, १२ : २२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । धादिङको सदरमुकाम धादिङबेसीमा अवस्थित ‘सुरक्षित आवास’ गृहमा हिंसा पीडित बालिकाहरूले सेल्टर लिने गरेका छन् । सहयात्री समाजले सञ्चालन गरेको सो आवास गृहमा अहिले १३ जना बालिकाहरू छन् । उनीहरूमध्ये ६ जना यौन हिंसामा पीडित हुन् । यौन हिंसामा परेका बालिका मानसिक रूपमा समेत विक्षिप्त छन् । 

अधिकांश बालिकाहरूलाई परिचितहरूले नै हिंसा गरेको धादिङस्थित सहयात्री समाजकी अध्यक्ष गीता खनालले बताइन् । सुरक्षित आवास गृहमा रहेका पीडितहरू सरकारी विद्यालयमा अध्ययन गर्दैछन् । तर, उनीहरूलाई समाजमा पुनः स्थापना गराउन समस्या भएको सरोकारवालाहरूले बताएका छन् । परिवारबाट हिंसामा परेका पीडितहरू घर फर्कने अवस्था नहुँदा बालिकाहरूले न्यायको महसुस गर्न सकेका छैनन् । पीडितको पुनः स्थापनामा भूमिका खेल्ने अभियन्ताहरू पनि अलमलमा छन् । 

आरोपितलाई जेल चलान गरेपछि आफूले न्याय पाएको महसुस नभएको पीडित बालिकाहरू बताउँछन् । पीडितहरूलाई समाज र परिवारमा पुनःस्थापना गर्न नसक्दा आवास गृहलाई व्यवस्थित बनाउन प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने सरोकार वालाहरुले बताएका छन् । 

गत आर्थिक वर्षमा सुरक्षित आवास गृहमा आएका मध्ये ५२ प्रतिशत महिलाहरू अझै पनि पारिवारिक रूपमा पुनःस्थापना गर्न नसकिएको र यो अवस्था न्यायका हिसाबले विकराल रहेको सहयात्री समाजमा आबद्ध राधिका सापकोटाले बताइन् । 

आवास गृह सहज रूपमा सञ्चालन गर्न स्थानीय निकायसँग समन्वय गरिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । उनले भने– ‘हिंसा प्रभावितहरूलाई अभिभावको रूपमा सरकारले समेत राख्न पठाउने एकमात्र सहयात्री समाजको आवास गृह भएको हुनाले त्यसलाई सहज रूपमा सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्छ ।’ 

जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा हिंसामा परेका मध्ये ६० प्रतिशत महिला आफ्नै श्रीमानबाट पीडित भएको र घर निकालिएको तथ्य सार्वजनिक गरिएको छ । आवास गृह सञ्चालनमा बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ लाख ५० हजार र नीलकण्ठ नगरपालिकाले ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप