शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीमा निरन्तर पहिरो : ललिता निवास काण्डले अध्यक्ष नेपाल र पार्टीको भविष्य कस्तो होला ?

शुक्रबार, २६ साउन २०८०, ०८ : ३९
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेकपा एमालेमा झण्डै १५ वर्ष शक्तिशाली महासचिव रहेका माधवकुमार नेपाललाई एमालेमा विद्रोह गरेर नयाँ पार्टी बनाएको २ वर्षमै पार्टी जोगाउन हम्मेहम्मे परेको छ । २०७८ भदौ २ मा २० प्रतिशत सांसदको समर्थनमा एमालेबाट अलग भएका उनले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ ।

नेकपा एकीकृत समाजवादीलाई ‘पिँध नभएको लोटा’को संज्ञा दिँदै पुराना नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जंगली लगायत थुप्रै नेता तथा कार्यकर्ता एमालेमै फर्किसकेका छन् । नेतृत्वमा निरंकुशता हावी भएको, विधि, विधान र प्रक्रिया अनुसार नेतृत्व नचलेको, विचार, दृष्टि, सिद्धान्त, कार्यदिशा एमालेको भन्दा फरक नभएको उनीहरूको आरोप छ ।

धेरै नेता तथा कार्यकर्ता निराशामा रहेकाले नेकपा एकीकृत समाजवादीमा ठूलो पहिरो जाने एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको दाबी छ । उनका अनुसार ७७ जिल्लाबाट ठूलो मात्रामा नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किने क्रम रोकिएको छैन । नेकपा एकीकृत समाजवादीबाट ३० जना केन्द्रीय नेता एमालेमा फर्किएको विवरण अधिकारीले रातोपाटीलाई उपलब्ध गराएका छन् । यद्यपि, यसरी फर्किएका केही नेताको विवरण अद्यावधिक गर्न बाँकी रहेको दाबी गर्दै उनले करिब ४० जना केन्द्रीय नेता एमालेमै फर्किसकेको जिकिर गरे ।

प्रदेश र स्थानीय तहमा फर्र्किएका नेता तथा कार्यकर्ताहरूको विवरण आउन बाँकी रहेको उनको भनाइ छ । अधिकारीले अहिलेसम्म ३० जना केन्द्रीय नेता र १२ जना जिल्ला अध्यक्षहरू नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले फर्किएको जानकारी दिए ।

संकटको भूमरीमा एकीकृत समाजवादी

पार्टी विभाजनको बेला ३० प्रतिशत केन्द्रीय सदस्य, २० प्रतिशत सांसद र करिब १४ प्रतिशत प्रदेश र स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई साथ दिएका थिए । प्रतिनिधिसभामा १२१ सिट रहेको तत्कालीन एमालेमा २७ जना सांसदले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ६ लाख मत पाएको थियो । प्रतिनिधिसभा निर्वाचनमा आइपुग्दा तीन लाख मत पनि कटाउन सकेन । अर्थात् राष्ट्रिय पार्टीको मान्यतासमेत पाउन सकेन । प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीले जम्मा १० सिट जित्यो । नयाँ पार्टी गठन भएको २ वर्षमा ५० प्रतिशत जनमत घटेको नेताहरूले तथ्य दिएका छन् । राष्ट्रिय सभामा एक स्वतन्त्रसहित सो पार्टीका ९ जना सदस्य छन् । प्रदेशतर्फ प्रत्यक्षमा जम्मा १५ जनाले जितेका छन् । प्रचण्ड सरकारमा २ जना मन्त्री सहभागी छन् ।

नेता तथा कार्यकर्ताहरू पार्टीमा रोक्ने गरी नेताहरूले आकर्षक कुनै प्याकेज ल्याउन सकेका छैनन् । वडातहसम्म अझै संगठन विस्तार हुन सकेको छैन । कतिपय ठाउँमा संगठन विस्तार भए पनि सक्रिय छैन । पदाधिकारी कै नेताहरूसमेत नेतृत्वप्रति सन्तुष्ट छैनन् । पार्टीप्रति चरम निराशा व्यक्त गर्दै एमाले फर्किनेको संख्या ह्वात्तै बढेको छ । यी सबै हिसाबले पछिल्लो समय नेकपा एकीकृत समाजवादी चरम संकटको भूमरीमा फस्दै गएको देखिन्छ ।

यी हुन् एमालेमै फर्किने केन्द्रीय नेताहरु

मुकुन्द न्यौपाने, केदार न्यौपाने, भागवत विश्वासी, सूर्य शर्मा, सूर्यचन्द्र न्यौपाने, सुवास कर्माचार्य, बालकृष्ण चापागाईं, शारदा, कुलवीर चौधरी, हिराचन्द्र केसी, तारा लामा, मिठाराम केसी, अशोक यादव, सीता गुरुङ, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा, विक्रम शाही, गणेश खनाल, देवी थापा, सरोजकुमार यादव, बीना बुढाथोकी, चन्द्रलाल बुढा, अशोक चन्द, दलबहादुर सुनुवार, कुर्मराज शाही, रीता रावल, सुन्दर विश्वकर्मा, नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किएका छन् ।

कुन जिल्लाबाट को को अध्यक्ष आए ?

श्रीधर पोखरेल– मकवानपुर, विष्णु देवकोटा–रसुवा, हरिप्रसाद न्यौपाने–जुम्ला, गगन रावल–बाजुरा, हिरण्य भट्टाराई–अछाम, नन्दसिंह बुढा–डोल्पा, सुन्दर विश्वकर्मा–बारा, रमेश बस्नेत–रामेछाप, नरेश भण्डारी–गुल्मी, श्रीराम कार्की–तनहुँ, कुलमणि बेलबासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम ।

नेपालमाथि झलनाथको आक्रोस, अध्यक्षमा दाबी गर्ने संकेत  

अध्यक्ष नेपालको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाउँदै सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा १६ पृष्ठको लिखित दस्तावेज नै पेस गरेका छन् । साउन २१ गते बसेको बैठकमा उनले पार्टीको वर्तमान स्थिति र ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू समेटेर दस्तावेज पेस गरेका हुन् । खनालको दस्तावेजले नै पार्टी निकै संकटग्रस्त अवस्थामा रहेको पुष्टि गरेको छ । उनले पार्टीको अवस्था माथितिर रावणको टाउको जस्तो र तलतिर सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा रहेको उल्लेख गरेका छन् ।

‘त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठिक उल्टो हो’, उनले पेस गरेको दस्तावेजमा उल्लेख छ ।

खनालले विभागहरू निष्क्रिय रहेको, जनवर्गीय संगठन भूमिकाविहीन र दिशाहीन अवस्थामा पुगेको, विचार, दृष्टिकोण, सिद्धान्त एमालेभन्दा भिन्न नभएको, आम कार्यकर्ताहरूमा निरासा, हतास, पदलोलुपता र पलायनका प्रवृत्ति विकास भइरहेको आरोप लगाएका छन् । नेतृत्वमा एमालेकै जबज धङ्धङी बाँकी रहेका, पार्टी विभाजनको बेलाभन्दा ५० प्रतिशत जनमत खुम्चिनु दुःखद भएको उनले उल्लेख गरेका छन् । एमाले र एकीकृत समाजवादी कसरी भिन्न भयो भन्दै उनले त्यसको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

‘एमालेबाट विभाजन भएको २ वर्षसम्म पार्टी जबजमै अल्झिएको छ । पार्टीको विचार, दृष्टिकोण, कार्यदिशा र कार्यक्रम प्रस्ट छैन । एमाले र हाम्रो पार्टीबीच के भिन्नता छ ? नेतृत्वले पुष्टि गर्नुपर्दैन ?’, उनले भने, ‘नेता तथा कार्यकर्ताहरू ठूलो मात्रामा एमाले फर्किरहेका छन् । पार्टीमा रहेकाहरू पनि चरम निराशा बोकेर बसेका छन्, तिनलाई व्यवस्थापन गर्नुपर्छ कि पर्दैन ?’

वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले कांग्रेससँगको सहकार्य तोड्नुपर्ने बताएका छन् । ‘एक समय संविधान र संसदको रक्षा गर्न कम्युनिस्ट र कांग्रेसबीच सहकार्य आवश्यक थियो । अब कांग्रेसलाई बोकेर हिँड्नु आवश्यक छैन । वामपन्थी शक्तिहरूको सरकार बन्नुपर्छ । दलाल पुँजीवादी शक्तिहरूले वामपन्थी शक्तिलाई कमजोर पार्ने खेल भइरहेको छ । हामी कांग्रेस र एमालेको पिछलग्गु बन्ने होइन, आफ्नै शक्तिमा उभिनुपर्छ’, उनले भने ।

यसैगरी उनले माघमा हुने महाधिवेशनमा नेतृत्व दाबी गर्ने संकेतसमेत गरेका छन् । अहिले नै नेतृत्व दाबी गर्ने पक्षमा आफू नभए पनि नयाँ विचार, सिद्धान्त र दृष्टिकोणका साथ नयाँ समाजवादी पार्टी बनाउन आवश्यक परे नेतृत्व लिन तयार भएको उनले बताए ।

‘एमालेको पुरानै जबज बोकेर अब एकीकृत समाजवादी चल्दैन । पार्टी बनाउन नयाँ समाजवादी विचार, दृष्टिकोण, कार्यदिशा र कार्यक्रम चाहिन्छ । म अहिले नै नेतृत्व दाबी गर्ने पक्षमा छैन तर आवश्यक परे नेतृत्व लिन तयार छु’, उनले भने ।

‘पार्टी बचाउन माधव–झलनाथले विश्राम लिनुपर्छ’

पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली वैचारिक तथा सांगठनिक रूपमा एकीकृत समाजवादी र एमालेबीच कुनै भिन्नता नरहेको बताउँछन् । एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले समाजवादी नयाँ दृष्टिकोण, विचार, सिद्धान्त अगाडि ल्याउन नसकेको उनको बुझाइ थियो । नेकपा एकीकृत समाजवादीमा वैचारिकभन्दा पनि अवसरवादी चरित्रका नेताहरू हाबी भएकाले पार्टी संकटमा फसेको जिकिर उनले गरे ।

‘सैद्धान्तिक र सांगठनिक रूपले एकीकृत समाजवादी अलग पहिचान हुन सकेन । सांगठनिक स्वरूप एमालेकै छ । सैद्धान्तिक रूपले पनि जबजभन्दा बाहिर जान सकेको छैन । एउटै सिद्धान्तका दुई वटा पार्टी चल्न सक्दैन’, मैनालीले भने । नेकपा एकीकृत समाजवादीमा अवसरका लागि आएका नेताहरू बढी रहेकाले भन्दै उनले अवसर नपाएपछि पार्टी छोड्नु स्वाभाविक भएको बताए ।

‘जहाँ अवसर पाइन्छ उतै जान्छन् । समाजवादीमा माधवसँग बसेर सुविधा नपाइने भएपछि अर्को विकल्प खोजेका हुन् । ओली, प्रचण्ड, शेरबहादुरसँग नेता तथा कार्यकता अडिनुमा उनीहरूसँग अवसरको स्रोत प्रशस्त छ,’ मैनालीले भने, ‘स्रोत भइसकेपछि भोलि टिकट लिन सजिलो हुन्छ, सांसद र मन्त्रीका कुरा आउँछ । खर्चको कुरा छन् । यीमध्येमा माधव कमजोर भए । उनीसँग अवसरको स्रोत केही छैन । उनीसँग बसेर खर्च पाइँदैन । टिकट पाए पनि चुनाव जितिँदैन । यसलै विकर्षण सुरू भएको छ ।’

एकीकृत समाजवादीको अस्तित्व रक्षाका लागि माधव र झलनाथ लगायत पुराना नेताहरूले मार्गप्रशस्त गर्नुपर्ने मैनालीको सुझाव छ । माधवको ठाउँमा झलनाथ आउनुमा कुनै भिन्नता नभएको उनको भनाइ छ ।

‘माधव, झलनाथ लगायत पुराना नेताहरूले विश्राम लिनुपर्छ । नयाँ नेतृत्वले नयाँ समाजवादी धार समाउन सके सानो आकारमा पार्टीको अस्तित्व रहन सक्छ । पद भन्दा पनि संगठन टिकाउन गाह्रो छ’, उनले भने, ‘नेकपा एकीकृत समाजवादीमा पद, शक्तिका भोगी धेरै छन्  । उनीहरू अवसर नपाउने बित्तिकै अन्य पार्टीमा दौडिहाल्छन् । उनीहरूको उद्देश्य जसरी पनि पद, प्रतिष्ठा र शक्ति हत्याउने हो, त्यो नभए जहाँ अवसर हुन्छ, त्यहाँ जान्छन् ।’

ललिता निवासले नेपाल र पार्टीको भविष्य डामाडोल हुनसक्छ

साउन २१ गते स्थायी कमिटी बैठकबाट अध्यक्ष नेपालले माघको दोस्रो साता १० औं महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गराए । त्यसअघि पार्टीको पोलिटब्यूरो र केन्द्रीय समिति बैठकले महाधिवेशनको एजेण्डा तय गर्ने निर्णय बैठकले गरेको थियो । त्यसैदिन नेपाललाई नमिठो झट्का लाग्ने गरी ललिता निवास प्रकरणमा सर्वोच्चले आदेश दियो । अदालतले उनीसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

आदेशको कुनै पर्वाह नगरी उनी भोलिपल्ट प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन लन्डन उडे । यद्यपि विदेश जानुअघि अदालतको फैसलाबारे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चासो व्यक्त गरेका थिए । ललिता निवास प्रकरणमा अध्यक्ष नेपाललाई अहिलेसम्मकै राजनीतिक क्षति हुन सक्ने वाम विश्लेषक मैनालीको बुझाइ छ । एकीकृत समाजवादी सबैभन्दा संकटपूर्ण रहेको अवस्थामा ललिता निवास काण्डले माधवकुमार नेपालको राजनीतिमा ठूलो क्षति पुग्न सक्ने उनले अनुमान गरे ।

‘ललिता निवास काण्डले उहाँलार्ई खानेवाला छ । उहाँ आफू धेरै जान्ने र सैद्धान्तिक हुँदाहुँदै पनि मुक्ति पाउन सजिलो छैन । मैले हिनामिना गरेको छैन भनेर छुट पाउन सकिँदैन,’ मैनालीले भने, ‘अदालतले अनुसन्धान गर्नु भनेर अदेश दिइसकेको छ । भोलि अदालतको आदेशबाट क्याबिनेटको निर्णय रद्द होला । त्यो निर्णय रद्द भएन भने ११२ रोपनी जग्गा व्यक्तिकै नाममा जान्छ ।’

आफ्नो नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णय रद्द भएपछि माधव र बाबुरामले नैतिक जिम्मेवारी बोक्नुपर्ने अवस्था आउने मैनालीले बताए । उनले भने, ‘क्याबिनेटमा बसेर यति ठूलो ब्लण्डर गर्नेले उन्मुक्ति पाउने छुट हुँदैन ।’

ललिता निवास प्रकरणले माधवकुमार नेपाल लगायत पार्टीको स्थिति झनै डामाडोल हुने मैनालीको भनाइ छ । छिट्टै पार्टी छाडेर नयाँ मानिस ल्याए भने संकट टर्न सक्ने उनको बुझाइ छ । तर त्यसका लागि नेपाल तयार हुने अवस्था आफूले नदेखेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप