शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि ‘गुँलापर्व’ सुरु

बिहीबार, ३२ साउन २०८०, १३ : ४९
बिहीबार, ३२ साउन २०८०

भादगाउँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । यस वर्ष साउन ३२ गतेदेखि भदौ ३० गतेसम्म मनाइने भएको छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी रामशेखर शाक्यले बताए । उनका अनुसार बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।

दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइने शाक्यले जानकारी दिए । उनका अनुसार एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।

यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएका ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको शाक्यले बताए । उनका अनुसार गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ । 

“गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ”, उनले भने, “पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ ।” उनका अनुसार पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप