विदेशी श्रमिकको नेपालमा बस्न पाउने अवधि बढ्यो
काठमाडौँ । नेपालमा आउने विदेशी श्रमिकले नेपाल बस्न पाउने समयावधि थप गरिएको छ । अबदेखि विदेशी श्रमिकहरूले नेपालमा बढीमा १२ वर्षसम्म बस्न पाउने भएका छन् ।
यसअघि त्यस्ता श्रमिकहरूले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर बढीमा ७ वर्ष बस्न पाउने कानूनी व्यवस्था थियो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले श्रम नियमावली २०७५ मा पहिलो संशोधन गरेर अवधि बढाइएको बताए ।
अब विदेशी श्रमिकले सम्बन्धित मन्त्रालयको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वीकृति लिई विभागले बढीमा १२ वर्षसम्म श्रम स्वीकृति दिनेछ ।
त्यसका लागि ७ वर्ष पुरा भएपछि अझै अवधि थप गर्नुपर्ने भएमा पहिलो पटक तीन वर्ष र दोस्रो पटक दुई वर्षभन्दा बढी नहुने गरी बढीमा पाँच वर्षसम्म श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गर्न सकिनेछ ।
श्रम नियमावली अनुसार श्रम इजाजत वा श्रम स्वकृति दिँदा विशिष्ट दक्ष प्राविधिक विदेशी श्रमिकलाई बढीमा पाँच वर्षसम्म र अन्य विदेशी श्रमिकलाई बढीमा तीन वर्षसममको लागि श्रम इजाजत वा श्रम स्वीकृति दिन सकिने व्यवस्था रहेको छ । तर, विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैर नाफामूलक संघ, संस्था जस्ता क्षेत्रमा विशेष योगदान गरेका राष्ट्रहित र जनकल्याणमा उल्लेखनी योगदान गरेका विदेशी श्रमिकलाई विभागले मन्त्रालयको स्वीकृति लिई बढीमा दुई वर्षसम्म श्रम इजाजत वा स्वीकृतिको अवधि थप गर्न सक्ने कानूनी व्यवस्था थियो । यस हिसाबले मन्त्रालयको सिफारिसमा विशेष व्यक्तिहरूलाई दुई वर्ष थप गरेर सात वर्षसम्मका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको थियो । अबदेखि भने त्यस्ता श्रमिकको हकमा बढीमा १२ वर्षसम्म श्रम स्वीकृति पाउनेछन् ।
प्रवक्ता गोपले ठूल्ठूला आयोजनाहरूको म्याद थपिँदै जाने तर, विदेशी श्रमिकको श्रम स्वीकृति छोटो अवधिका लागि हुँदा समस्या परिरहेको बताए ।
‘विदेशी लगानीका जलविद्युत आयोजनाहरू, सुरूङमार्ग, सडक आयोजनाहरूको म्याद थपिँदै गइरहेको हुन्छ । त्यहाँ काम गर्न विदेशी श्रमिकको श्रम स्वीकृतिको अवधि भने बढीमा ७ वर्षको हुँदा काम गर्न समस्या भयो भन्ने गुनासो आयो । त्यही आधारमा नियमावली संशोधन गरिएको हो,’ उनले भने ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ हजार ९९७ जना विदेशी श्रमिकलाई श्रम स्वीकृति प्रदान गरिएको थियो ।
विदेशी श्रमिकको हकमा सुरुमा नेपालमा पर्यटक भिसामा आउँछन् । त्यहाँबाट अध्यागमन विभागबाट श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्छ । त्यही आधारमा विभागले श्रम मन्त्रालयको सिफारिसमा श्रम स्वीकृति दिने कानूनी प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण