शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विश्व खेलकुदमा यस्तो पनि हुन्छ ! स्वर्णको नजिक पुगेकी खेलाडी ११औँ भइन्

आइतबार, ०३ भदौ २०८०, १६ : ४२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेदरल्यान्ड्सकी चर्चित एथलेटिक्स खेलाडी हुन्, सिफान हसन । उनी मध्यम तथा लामो दूरीकी धाविका हुन् । विश्व एथलेटिक्समा उनले थुप्रै उपाधि चुमिसकेकी छन् । ओलम्पिक खेलकुदमा पनि उनले पदक जितेकी छन् । 

अहिले हंगेरीको बुडापेस्टमा ‘१९औँ विश्व एथलेटिक्स च्याम्पियनसिप’ सञ्चालन भइरहेको छ । प्रतियोगितामा शनिवार राति महिला १० हजार मिटर रोड रेस थियो । त्यो प्रतियोगिताको अन्तिम समय डच धाविका सिफान हसनका लागि जीवनकै सबैभन्दा निराशाजनक क्षण बन्न पुग्यो ।

प्रत्यक्ष प्रसारण हेरिरहेका खेलप्रेमीहरु पनि प्रतियोगिताको नाटकीय अन्त्य देखेर स्तब्ध भए । अन्तिम समयमा भएको एउटा नाटकीय संयोगका कारण स्वर्ण जित्नु पर्ने खेलाडीको ११औँ स्थानमा पुगिन् । उनीभन्दा पछाडि रहेका खेलाडीले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

उक्त स्पर्धामा ३० बर्सिया डच धाविका सिफान हसनले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएकी थिइन् । खेलको अन्तिम समयसम्म पनि उनी अगाडि थिइन् । महिलातर्फको १० हजार मिटर दौड सकिन एक सय मिटर पनि बाँकी थिएन । त्यतिबेलासम्म पनि सिफान हसन आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि थिइन् ।

उनी स्वर्ण पदक जित्नेमा ढुक्क थिइन् । दर्शकलाई पनि यही लागेको थियो । दुर्भाग्य, विजय लक्ष्य पुग्नुभन्दा केवल २० मिटर पहिले सिफान हसन ठेस लागेर लड्न पुगिन् । जोडले दौडिएका कारण नराम्ररी लडेपछि उनी केही समयसम्म उठ्न सकिनन् ।

त्यसपछि उनीभन्दा पछाडि रहेकी इथियोपियाकी धाविका गुडाफ सेग्याले स्वर्ण पदक जितिन् । उनले ३१ मिनेट २७.१८ सेकेन्डमा दौड पूरा गरिन् । सिफान हसन लडेको मौकाको फाइदा उठाउँदै इथियोपियाकै लेत्सेनबेट गिडीले निर्धारित दूरी ३१ मिनेट २८.१६ सेकेन्डमा पार गर्दै रजत जितिन् ।

त्यसपछि इथियोपियाकै एग्याहु टाएले निर्धारित दूरी ३१ मिनेट २८.३१ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जितिन् । सिफान हसन सम्हालिनुअघि नै १० जना धावकले दौड पूरा गरिसकेका थिए । त्यसमध्ये कतिपय धावकले त विश्व च्याम्पियनसिपमा सिफान हसनलाई उछिन्ने कल्पनासम्म गरेका थिएनन् ।

अन्ततः स्वर्ण पदकको अत्यन्तै नजिक पुगेकी सिफान हसन ३१ मिनेट ५३.३५ सेकेन्डमा दौड पूरा गर्दै ११औँ भइन् । जबकि यसअघि उनले महिला १० हजार मिटर दौड २९ मिनेट ०६.८२ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सिफान हसनले सन् २०२० मा टोकियो ओलम्पिकमा महिला पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । त्यो ओलम्पिकको महिला १५ सय मिटर दौडमा उनले कांस्य पदक हात पारेकी थिइन् ।

यसैगरी सन् २०१९ मा कतारको दोडमा सम्पन्न विश्व च्याम्पियनसिपमा पनि उनले १५ सय र १० हजार मिटर दौडमा स्वर्ण पदक चुमेकी थिइन् । यसदेखि बाहेक पनि उनले थुप्रै प्रतियोगितामा पदक जितिसकेकी छन् । 

यो विश्व च्याम्पियनसिपमा पनि उनलाई स्वर्ण पदकको प्रबल दाबेदारको रूपमा हेरिएको थियो । तर, अन्तिम समयमा आएर नियतिले ठगेपछि उनी ११औँ स्थानमा चित्त बुझाउन बाध्य भइन् । ‘सिफन अन्तिम समयमा अल्झिएर लडिन् । उनी हुत्तिएर मेरो लेनमा आएकी थिइन । तर, मैले त्यसको वास्ता गरिन र आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहेँ,’ स्वर्ण पदक जितेपछि सेग्याले भनिन् । 

सिफान हसनले भने आफूलाई पछाडिबाट कसैले धकेलेको आरोप लगाएकी छन् । उनले उजुरी गरिन् भने यसअघिमा छानबिन अगाडि बढाइने छ । ‘मलाई मभन्दा पछाडि रहेकी इथियोपियन खेलाडीले धकेलेजस्तो लाग्छ,’ उनले भनेकी छन्, ‘त्यहाँ के भएको थियो भनेर जान्न पाउनु मेरो अधिकार हो । मैले उक्त खेलको भिडियो रिप्ले हेर्न पाउनु पर्छ ।’ 

उनले त्यो घटनाको विषयमा कुरा गर्ने कुनै शब्द आफूसँग बाँकी नरहेको बताएकी छन् । ‘यो दुर्भाग्यलाई स्विकार्नु र हाँस्नुको कुनै विकल्प थिएन । मैले त्यसै गरेँ,’ उनले भनिन्, ‘विश्व खेलकुदमा जे पनि हुन्छ । आज म दुर्भाग्यको सिकार बनेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप