सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै

सोमबार, ०४ भदौ २०८०, २२ : २४
सोमबार, ०४ भदौ २०८०

काठमाडौं । नेपालमै पहिलो पटक २०७२ मंसिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवाले गति लिँदै गएको छ । २०७९ सम्म जम्मा १० वटा कलेजो प्रत्यारोपण गरेको केन्द्रले २०८० सालमा ३ जनाको कलेजो सफल प्रत्यारोपण गरिसकेको छ ।
 
संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण स्वदेशमै न्यून शुल्क (१५ लाख रुपैयाँ)मा हुने गरेको केन्द्रले जनाएको छ । डा. पुकार चन्द्र श्रेष्ठको सक्रियतामा स्वदेशी चिकित्सकको दक्षता वृद्धि गरी नेपालमै उपलब्ध जनशक्तिबाट प्रत्यारोपण सेवा सुरु गरिएको हो ।
केन्द्रले विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा समेत सुधार गरेको छ । केन्द्रका अनुसार यस अगाडि भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यस पटक एक जनामात्र विशेषज्ञ चिकित्सकको सहयोगमा केन्द्रको आफ्नै जनशक्तिबाट एक हप्तामा २ जनाको कलेजो प्रत्यारोपण भएको छ  ।
प्रत्यारोपणका लागि केन्द्र आफैँ सक्षम हुँदै गएको र आगामी दिनहरुमा विदेशी विशेषज्ञ चिकित्सक आवश्यक नपर्ने केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपण सर्जन डा पुकार चन्द्र श्रेष्ठले बताए ।
गत बिहीवार सल्यानका ५२ वर्षीय कृष्ण बहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । उनलाई आफ्नै छोरा २३ वर्षीय किरण केसीले कलेजो दान गरेका हुन् भने शनिबार भएको कलेजो प्रत्यारोपणमा ५७ वर्षीय कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतीक्षा राईले कलेजो दान गरेको केन्द्रले जनाएको छ । 
प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा सहयोग गर्न भारतबाट कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा शिल्भाकुमार नागानाथन आएका थिए ।
प्रत्यारोपित र अंगदाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको  केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा रामबाबु साह, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न रहेको जनाइएको छ ।
त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा. विवेक नेपाल, डा. जस्मिन जोशीले गरेका थिए भने नर्सिङ्ग तर्फ पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो ।
 
स्थापनाको ११ वर्ष अवधिमा एक हजार १०० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको केन्द्रले २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भए पश्चात हालसम्म पाँच जना व्यक्तिबाट मस्तिष्क मृत्यु भएको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप