बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पहिलो भारतीय महिला सुपरस्टारकी छोरी हुन् सायरा बानो : १२ वर्ष हुँदादेखि दिलिपसँग विवाह गर्ने सोच, साैता पनि सहिन्

शुक्रबार, ०८ भदौ २०८०, १५ : २२
शुक्रबार, ०८ भदौ २०८०

६० को दशककी सबैभन्दा चर्चित अभिनेत्री सायरा बानो अगस्ट २३ (भदौ ६) मा ७९ वर्ष पुगिन् । सायराकी आमा नसिम बानो ४० को दशककी चर्चित अभिनेत्री थिइन् । उनलाई हिन्दी सिनेमाकी पहिलो महिला सुपरस्टार भनिन्छ । सायरा तीन वर्षकी हुँदा भारत पाकिस्तान विभाजन हुँदा बुवाले परिवारलाई छोडेर पाकिस्तान गए । 

बाल्यकालदेखि नै सायरा बानोले दुईवटा सपना देखिन् । पहिलो सपना – आफ्नी आमाजस्तै ब्युटी क्विन वा सुपरस्टार हुनु र दोस्रो २२ वर्ष जेठा दिलीप कुमारसँग विवाह । 

भाग्यवश, सायराको यो दुवै सपना पुरा भयो । उनलाई नायिका बनाउन आमा नसिम बानोले आफ्नो करियरको तिलाञ्जलि दिइन् र एउटा प्रश्नले दिलीपलाई उनको हात थाम्न बाध्य पारिन् ।

सायरा बानोको ७९ औँ जन्मदिनको विशेष मौकामा उनको जीवनको सुन्दर यात्रा पढौँ ।

saira bano३ वर्षको उमेरमा छुट्यो बुवाको साथ

२३ अगस्ट सन् १९४४ मा मसुरीमा नायिका नसिम बानो र निर्माता मियां–उल–हकको घरमा छोरी सायरा बानो जन्मिइन् । हुन त मियां–उल–हम एक आर्किटेक्ट थिए तर नसिमसँग विवाह गरेपछि उनले आफ्नो प्रोडक्सन कम्पनी सुरु गरे र फिल्म बनाउन थाले । सायरा तीन वर्षको हुँदा सन् १९४७ मा भारत–पाकिस्तान विभाजन हुँदा उनका पिताले पाकिस्तान छाने । आमा नसिम बानो उनीसँग पाकिस्तान जान मानिनन् र आफ्ना सन्तानलाई लिएर बेलायत गइन् ।

बेलायतमा कमाइको माध्यम नपाएपछि आमा नसिम बानो दुई सन्तानसहित भारत फर्किइन् र फिल्ममा काम गर्न थालिन् । सायरा बाल्यकालदेखि नै आमाबाट प्रभावित थिइन् र उनीजस्तै हुन चाहन्थिन् तर उनकी आमा त्यस्तो चाहँदैन थिन् । सायरा कि वकिल कि डाक्टर बनोस् भन्ने आमाको चाहना थियो । उनी पढाइमा पनि तेज भएकोले आमाले पढ्न लन्डन पठाइन् । सायरा स्कुलको छुट्टीमा मात्रै भारत जान्थिन् ।

saira bano1१२ वर्षको उमेरमा २२ वर्ष जेठो दिलीप कुमारसँग विवाह गर्ने ढिपी 

एक दिन छुट्टीमा घर गएकी १२ वर्षकी सायरो बानो आफ्नी आमासँग घरमा महबूब खानको निर्देशनमा बनेको फिल्म ‘आन’ हेरिरहेकी थिइन् । फिल्मका हिरो थिए दिलीप कुमार । फिल्ममा दिलीपको दमदार भूमिका सायरालाई यति मनपर्यो कि दिलीप सँगै विवाह गर्ने भनेर जिद्दी गर्न थालिन् । १२ वर्षकी सायराको यस्तो जिद्दी देखेर नसिम बानो हाँसिन् । कसैले सोचेको पनि थिएन कि बालापनमा उनको यो जिद्दीले वास्तविकतामा परिणत हुनेछ ।

बच्चा बेला फ्रक लगाएर मुगल–ए–आजमको सुटिङ हेर्न पुगेकी थिइन् सायरा

४० को दशकमा दिलीप कुमार र मधुबाला स्टारर फिल्म मुगल–ए–आजमको सुटिङ सुरु भएको थियो । फिल्मको सेट यति भव्य थियो कि मानिसहरू टाढा टाढाबाट सेट हेर्न पुग्थे । एक दिन सायरा पनि आफ्नी आमासँग मुगल–ए–आजमको सेटमा पुगेकी थिइन् । यद्यपि, उक्त सेटमा उनलाई मनपर्ने हिरो दिलीप कुमारसँग भेटघाट हुन सकेन । 

सायराका लागि आमाले करियर तिलाञ्जलि दिइन्

सायरा छुट्टीमा घर जाँदा  प्रत्येक पल्ट फिल्मको अफर आउँथ्यो तर आमाले सधैँ अस्वीकार गर्थिन् । १६ वर्षको उमेरमा सायरा छुट्टी मनाउन भारत जाँदा उनले फिल्म जंगलीको अफर पाइन् जसमा शम्मी कपुर मुख्य भूमिकामा देखिँदै थिए । नसिम बानो त्यतिबेला पनि चाहँदैन थिन् कि सायरा फिल्ममा आउन् तर सायराले जिद्दी गरेपछि भने उनी मानिन् ।  फिल्मको आधा सुटिङ उनले पहिलो छुट्टीमा गरिन् त्यसपछि लण्डन फर्किइन् । अर्को वर्ष स्कुलको छुट्टी हुँदा फिल्मको बाँकी सुटिङ पुरा गरिन् । उनकी आमा नसिम बानोलाई थाहा थियो कि उनले फिल्ममा काम गर्न जारी राखे मानिसहरुले सायराको  तुलना उनीसँग गर्नेछन् । त्यसैले उनले सन् १९५७ बाट हिन्दी फिल्ममा काम गर्न छोडिन् । 

हुन त सायरा बाल्यकालदेखि नै नृत्य र अभिनयमा माहिर थिइन् तर आमाले भनेपछि उनले व्यावसायिक कथक र भरतनाट्यमको तालिम लिइन् । एक वर्षमा फिल्म सुट भयो र सन् १९६१ मा रिलिज भयो ।

सुटिङका बेला शम्मी कपुरले कराउँदा रुन थालिन् सायरा

कुनै तालिम बिना पहिलो फिल्ममा अभिनय गर्नु सायरा बानोका लागि थोरै मुश्किल रह्यो । फिल्म जंगलीको सुटिङका बेला शम्मी कपुर र सुटिङ हेर्न मानिसको भीड लाग्थ्यो । भीड देखेर सायरा डराउँथिन् । एक दिन फिल्मको सुटिङ हेर्न सयाँै मानिस जम्मा भएका थिए । निर्देशक सुबोधले ‘एक्सन’ भनेपछि उनी डराएर राम्रोसँग डायलग पनि बोल्न सकिनन् । एक–दुई पटकमा सायराले शट दिन नसकेपछि शम्मी कपुरले समय बर्बाद भएको भन्दै उनलाई कराउँदै भने, ‘यस्तो डर लागिरहेको छ भने तिम्रो लागि बुर्का मगाइदिन्छौँ, त्यो लगाएर अभिनय गर्नु ।’

सबैको अगाडि गाली खाँदा सायरा रुन थालिन् तर केही समयपछि उनले एक टेकमा नै शट दिइन् । साथै उनले शम्मी कपुरलाई भने, ‘राम्रोसँग अभिनय नसिकेसम्म तपाईंसँग फिल्म गर्दिनँ ।’

फिल्म जंगली सफल भएपछि यी दुईको जोडी सफल भयो । सायरा र शम्मीलाई थुप्रै फिल्म अफर भए तर उनले हरेक पल्ट अस्वीकार गरिन् । 

saira bano2दिलीप कुमारको फिल्मसँग पहिलो फिल्मको टक्कर, थाहा पाउँदा रोइन्

एक दिन फिल्म जंगलीको सुटिङ सकेर सायरा आमासँग अकबर अली रोड गएकी थिइन् । उनी जुन पसल गइन्, त्यहाँका पसलेलाई नसिम बानो एक नायिका हुन् भन्ने थाहा थियो । उनी दिलीप कुमारका ठुला फ्यान पनि थिए । 

कुरा गर्दै जाँदा नसीम बानोले सायराको फिल्म अर्को महिना रिलिज हुन लागेको बताइन् । यो सुनेर पसलेले अर्को महिना त दिलीपको फिल्म गंगा जमुना पनि रिलिज हुन लागेको र उक्त फिल्म अगाडि अरु फिल्म टिक्न सक्दैन भनिदिए । यो सुनेर सायरा दुःखी भइन् र रुन थालिन् । उनले आमालाई अब उनको फिल्म हेर्न कोही पनि नआउने बताइन् । 

दुवै फिल्म एक साताको अन्तरालमा रिलिज भए । त्यसताका दिलीप कुमार स्टार थिए र सायरा त्यतिबेला नयाँ कलाकार थिइन्, तैपनि दुवै फिल्मबीच कडा प्रतिस्पर्धा भयो । भाग्यवश दुवै फिल्म सुपरहिट भए ।

फिल्म जंगलीबाट सायराले देशव्यापी चर्चा पाइन् । ‘चाहे कोई मुझे जंगली काहे’, ‘मै कश्मीर की काली हूं’ र ‘आई आया सुकु सुकु’ गीत धेरै हिट भए । यस्तै, उनले ब्लफ मास्टर, झुक गया आसमान और आई मिलन की बेला, पूरब पश्चिम जस्ता धेरै हिट फिल्म दिएर शीर्ष अभिनेत्रीमा आफ्नो नाम स्थापित गरिन् ।

saira bano3परिवारका सदस्यले दिलीपकुमारलाई भनेका थिए – सायरासँग काम नगर्नू

सायरा हिन्दी सिनेमाको चर्चित नाम बनिसकेकी थिइन् त्यसैले उनका थुप्रै फिल्ममा दिलीप कुमारलाई हिरोको रुपमा राख्ने कोसिस गरियो  तर दिलीप कुमारले हरेक पटक सायरासँगको फिल्मलाई अस्वीकार गरिरहे । यसको कारण के थियो भने सायराको परिवारसँग दिलीप कुमारको घनिष्ठ सम्बन्ध थियो । उनका परिवारले दिलीपलाई सायरालाई आफ्नो फिल्ममा नलिन आग्रह गरेका थिए । यसो गर्दा सायराको अभिनयको भूत उत्रिने आशा परिवारले राखेका थिए । यही कारण दिलीप कुमारले सायरालाई आफ्ना धेरै फिल्मबाट हटाए । ती फिल्महरूमा सुपरहिट फिल्म राम और श्याम (१९६७) पनि पर्छन् । सँगै फिल्ममा अभिनय नगर्नुको अर्को एउटा कारण भनेको दिलीप कुमारलाई सायरा निकै सानी लाग्थ्यो । 

सायरा १९ वर्षको उमेरमा राजेन्द्र कुमारसँग विवाह गर्न चाहन्थिन्

सायरा बानो र तत्कालीन चर्चित अभिनेता राजेन्द्र कुमार १९६३ मा आएको फिल्म ‘आइ मिलन की बेला’ मा सँगै देखिएका थिए । सुटिङको क्रममा धेरै समय सँगै बिताउँदा दुवैले एकअर्कालाई मन पराउन थाले । त्यतिबेला सायरा १९ वर्षकी मात्र थिइन् र राजेन्द्र कुमार ३४ वर्षका थिए । उनी विवाहित थिए छोराछोरी पनि थिए ।

सबै कुरा थाहा भए पनि सायरा राजेन्द्र कुमारसँग बिहे गर्न चाहन्थिन् तर आमा नसिम बानोलाई थाहा हुने बित्तिकै उनले उनीहरुको सम्बन्धमा आपत्ति जनाइन् । तर आमाको कुराले सायरालाई कुनै असर गरेन र उनले राजेन्द्र कुमारसँगको सम्बन्धलाई निरन्तरता दिइन् ।

saira bano4आमा नसिम बानोको आग्रहमा सम्झाउन पुगेका थिए दिलीप कुमार

नसिम बानुलाई थाहा थियो कि सायराले दिलीप कुमारलाई बाल्यकालदेखि नै धेरै माया गर्छिन् । त्यसैले दिलिपले सम्झाए उनले मान्लिन् कि भन्ने आशा राखिन् । यो कुरा दिलीप समक्ष राखिन् तर सुरुमा दिलीपले त्यसो गर्न इन्कार गरे । नसिम बानोले बिन्ती नै गरेपछि भने उनले माने । 

पहिलो भेट र सायरा बानोको एक प्रश्न...

त्यसबेलासम्म दुवैको भेट भएको थिएन, न त कुनै कुराकानी नै भएको थियो । उमेर बढेसँगै सायराले सानो बेलाको कुरा पनि बिर्सिसकेकी थिइन् । एक दिन मौका मिल्ने बित्तिकै दिलीप कुमार सायरा बानुलाई सम्झाउन गए । दिलीप साहबले उनलाई विवाह गरिसकेका राजेन्द्र कुमारसँग विवाह गरे उनी राजेन्द्रको जीवनमा दोस्रो महिला मात्रै बन्ने बताए । दिलीप कुमारले आफ्नो कुरा पूरा गर्नुअघि नै सायरा बानोले सोधिन्, ‘त्यसो भए के तपाईंले मलाई बिहे गर्नुहुन्छ ? ’

यो सुनेर दिलीप केही मिनेट मौन भए र त्यसपछि त्यहाँबाट निस्किए । केही समयपछि दिलीप कुमारले सायरालाई साथ दिने निर्णय गरे । यी दुई सुरुमा साथी बने र त्यसपछि उनीहरुबीच प्रेम बस्यो । दिलीपको साथ पाएपछि सायराले राजेन्द्र कुमारलाई छोडिन् ।

saira bano5सायरा बानोलाई भेट्न हरेक दिन मुम्बईबाट चेन्नई जाने गर्थे दिलीप कुमार

सायरा बानो लामो समयसम्म चेन्नई बसिन् । यस्तो अवस्थामा मुम्बईमा सुटिङका क्रममा दिलीप कुमार सायरा बानोलाई भेट्न हरेक दिन चेन्नई जाने गर्थे र केही घन्टा भेटेर फर्कने गर्थे । सायरालाई आफूसँगै बाहिर लैजान उनी आमासँग अनुमति लिन्थे । केही वर्ष सम्बन्धमा रहेपछि दुवैले ११ अक्टोबर १९६६ मा विवाह गरे । बिहेका बेला सायरा बानो २२ वर्षकी मात्र थिइन् भने दिलीप कुमार ४४ वर्षका थिए ।

saira bano6अन्तिम समयसम्म दिलीप कुमारको दैनिक ‘नजर उतार्थिन्’ सायरा बानो

सायरा बानो दिनहुँ दिलीप कुमारको नजर उतार्ने गर्थिन् । दिलीप कुमारकी आमा र हजुरआमा पनि उनको नजर उतार्थे । वास्तवमा, एक बाबाले उनका हजुरआमा र आमालाई यो बच्चालाई १५ वर्षको उमेरसम्म नराम्रो नजरबाट जोगाउन भनेका थिए त्यसैले उनीहरूले उनलाई नराम्रो नजरबाट बचाउन निधारमा खरानीको टिका लगाइदिन्थे ।

सायरा उनको जीवनमा आएपछि उनले दिनहुँ उनको नाममा परोपकार गर्न थालिन् । उनले कि त कुनै गरिबलाई खाना खुवाउँथिन्  वा राशन दिन्थिन् । दिलीप सानैदेखि निकै सुन्दर भएकोले नजर लाग्छ भनेर सायरा बानो विश्वास गर्थिन् ।

saira bano7८ महिनामा गर्भपतन भयो, त्यसपछि कहिल्यै आमा बनिनन् 

दिलीप कुमारले आफ्नो आत्मकथा दिलीप कुमार–द सब्सटेन्स एन्ड द स्याडोमा सन् १९७६ मा सायरा आमा बन्ने तयारीमा भएको तर ८ महिनामा रक्तचाप बढेपछि बच्चाको ज्यान बचाउन नसकेको बताएका छन् । यसमा लेखिए अनुसार ती बच्चा गुमाएपछि उनी यति टुटेका थिए कि उनले कहिल्यै बच्चा नजन्माउने निर्णय गरे । दुवैले यसलाई भगवानको इच्छा सम्झेर स्वीकार गरे ।

saira bano8सायरासँग विवाह गरेको १५ वर्षपछि दिलीप कुमारले गरेका थिए दोस्रो विवाह

सायरा बानोसँग विवाह गरेको १५ वर्षपछि दिलीप कुमारले सन् १९८१ मा हैदराबादकी समाजसेवी अस्मा रहमानसँग विवाह गरे । दिलीप कुमारले उनलाई दोस्रो पत्नीको दर्जा दिएका थिए, यद्यपि यसले सायरा बानो र उनीहरूको सम्बन्धलाई असर गरेन । सायराले उनकी कान्छी श्रीमतीलाई पनि स्वीकार गरिन् र कुनै गुनासो गरिनन् । करिब २ वर्षपछि दिलीप कुमारले आफ्नो गल्ती महसुस गरे र सन् १९८३ मा अस्मा रहमानसँग सम्बन्धविच्छेद गरे र सायरासँग फेरि बस्न थाले । 

– दैनिक भास्कर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप