आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

विद्याबारे ओलीको फेरियो बोली, भने– उहाँलाई रोक्दैनौँ तर आउँछु त भन्नुपर्‍यो नि !

आइतबार, १० भदौ २०८०, १७ : ३३
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः एमाले राजनीतिमा आउन चाहे नरोक्ने प्रस्टीकरण दिएका छन् । 

यसअघि अध्यक्ष ओलीले साउन अन्तिम साता (साउन २८) गते पूर्व राष्ट्रपति भण्डारी सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूले भिाजित गर्ने षडयन्त्रअनुसार चलाएको बताएका थिए । 

तर, त्यसको १५ दिन पनि नबित्दै भण्डारीबारे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको बोली फेरिएको हो । आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहे उनलाई सधैँ स्वागत रहेको पनि बताए ।

‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हुन्छ, कसले रोक्छ ? कसरी रोक्छ ?’, प्रश्न गर्दै ओलीले भने, ‘त्यसकारण हामी उहाँलाई निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व दिनुभयो भने ठिक छ तर उहाँ आउँछु त भन्नुपर्‍यो नि ! उहाँलाई सधैँ वेलकम छ ।’

उनले भण्डारीलाई एमालेमा आउन निषेध गर्यो र रोक्यो भनेर प्रचार गरेर भ्रम फिँजाएको भन्दै असन्तुष्टि समेत जनाए ।  साउन २८ मा एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पूर्व एमाले उपाध्यक्ष समेत रहेकी भण्डारी राष्ट्रपति भैसकेको व्यक्ति सम्मानित भएर बस्नु नै उपयुक्त हुने बताएका थिए । 

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ’, अध्यक्ष ओलीले त्यसबेला भनेका थिए, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिकैका मित्र र पार्टीको उपाध्यक्ष नै हो ।’ 

त्यसबेला उनले भण्डारीलाई नेताहरूले भेटेको र सक्रिय राजनीतिमा फर्कने भन्ने कुरालाई लिएर एमालेलाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्या समेत गरेका थिए । 

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठुलो कुरा होइन। विष्णु पौडेलले मात्रै होइन, मैले पनि कुरा गरेको छु । अरूले पनि कुरा गर्नुभएको छ । कुरा गरेको विषयलाई कार्ड नै छपाएर लिएर जानुभयो रे नि त, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्नुभयो भन्ने, यस्तो खालको प्रयासलाई मलजल नगर्दा राम्रो हुन्छ’, ओलीको भनाइ थियो । 

नेकपा एमालेका केही नेताहरूले भण्डारी एमालेको सक्रिय राजनीतिमा पुन फर्कनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । त्यसरी लबिङ गर्ने नेताहरूमा कर्ण थापा, कृष्ण राई, विशाल भट्टराई लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप