शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
श्रम/रोजगार

प्रधानमन्त्रीको चीन भ्रमण : हङकङ र मकाउसँग श्रम सम्झौता हुनसके आकर्षक रोजगारीको अवसर

बुधबार, २० भदौ २०८०, १७ : ४८
बुधबार, २० भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा श्रम सम्झौताका सवाललाई पनि प्रमुखताका साथ उठाउन सरोकारवालाले जोड दिएका छन् । 

प्रधानमन्त्रीको भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार विकास, कृषि, वाणिज्यका साथसाथै श्रमका एजेन्डालाई पनि प्रमुखताका साथ उठाइनु पर्ने चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरले जोड दिए । लामो समयदेखि हङकङ र मकाउसँग नेपालको श्रम सम्झौताका लागि आफूहरूले पहल गर्दै आए पनि सकारात्मक नतिजा आउन नसकेको उनको भनाइ छ । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले मकाउ र हङकङमा श्रम सम्झौताका लागि चिनियाँ पक्षसँग कुराकानी गरेमा सकारात्मक नतिजा निस्कन सक्ने उनको विश्वास छ । हङकङ र मकाउ चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा रहेका छन् । 

श्रम सम्झौताका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि निरन्तर पहल भए पनि नतिजा निस्कन सकेको छैन’, अध्यक्ष थापाले भने, ‘यो बीचमा तीन पटक म एनआरएनए मकाउको अध्यक्ष पनि भएँ । यो पटक चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले पहल गरिदिनुहुन्छ भन्ने आशावादी छ ।’

चीन र मकाउले कतिपय निर्णय गर्दा चीनको अप्रुभल चाहिने भएकाले उच्चस्तरीय भ्रमणमा नै चिनियाँ पक्षसँग कुरा उठाउन आवश्यक देखिएको बताइएको छ ।  

‘विगतमा हामीले हङकङ र मकाउसँग मात्रै पहल गरेका थियौँ । चीनसँग पहल भएको थिएन । अब नतिजा निस्कने गरी जान कूटनीतिक पहल नै जरुरी छ’, उनले भने, ‘चीन सरकारले नेपालबारे हङकङ र मकाउको बारेमा आवश्यक समन्वय गरेको खण्डमा कार्यान्वयनमा सहज हुनसक्छ ।’ 

यसबारेमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्न चाहेको उल्लेख गर्दै थापाले त्यसका लागि प्रधानमन्त्रीसँग समय मिलाउन प्रयास भइरहेको बताए । मकाउ र हङकङलाई नेपालमा आउँदा फ्री भिसा छ । तर नेपालीले भने सहजरुपमा भिसा नपाउने अवस्था छ । उनले भने, 'मकाउमा काम गर्ने नेपालीलाई स्वदेश फर्कन नि:शुल्क ट्रान्जिट भिसा वा हङकङको अनअराइभल भिसाका लागि नेपाली पक्षबाट पहल हुन सके राहत मिल्ने थियो । 

मकाउमा नेपाली कामदारको माग उच्च रहेको बताइन्छ  । अहिले ३ हजार ५०० को हाराहारीमा मकाउमा नेपाली कार्यरत रहेका छन् । उनीहरु सबै व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएर मकाउ गएका हुन् । श्रम सम्झौताका लागि पहल भएको खण्डमा नेपालीको श्रम बजार विस्तार हुनुका साथै आम्दानी पनि राम्रो हुनसक्ने उनको भनाइ छ । 

376394089_965443427849363_8074971302004885569_n

साथसाथै यसले दुई देशबीचको सम्बन्ध पनि मजबुत बन्न मद्दत पुग्ने उनको विश्वास छ । 

 उनका अनुसार हाल मकाउमा कार्यरत नेपालीमध्ये ८ लाखसम्म तलब खाने पनि छन् । यस्तै हङकङमा पनि अम्रेला प्रकरणपछि धेरै मान्छे मान्छे पलायन हुँदा अहिले श्रमिकको अभाव रहेको अवस्था छ । हङकङले फिलिपिन्सलगायतका मुलुकबाट कामदार आपूर्ति गरिरहँदा नेपालले पनि पहलकदमी लिएको खण्डमा रोजगारीका आकर्षक गन्तव्य बन्न सक्ने उनको विश्वास छ ।  ‘यो बेलामा प्रधानमन्त्री तहबाट पहल भयो भने हङकङ र मकाउका लागि राम्रो श्रम गन्तव्य बनाउन सकिन्छ’, उनले भने, ‘चीन र नेपालबीचको सम्बन्ध पनि सुधार हुनसक्छ ।’

अहिले नेपालीहरू मकाउ रोजगारीका लागि जाने भनेको व्यक्तिगत तवरले हो । मनोरञ्जन क्षेत्रको केन्द्र मानिने मकाउमा क्यासिनोमात्रै ४७ वटा छन् । क्यासिनोसहित होटेल, रेस्टुरेन्टलगायतमा रोजगारीको राम्रो अवसर छ ।   नेपाल–मकाउको यात्रा दुरी करिब ४ घण्टा रहेकाले नजिकको गन्तव्य र सुरक्षाको हिसाबले पनि राम्रो रहेको थापा मगरको भनाइ छ ।  ‘त्यस कारण सरकारले श्रम सम्झौता गरिदिएको खण्डमा र त्यहाँ कन्सुलर जनरल अफिस समेत राखिएको खण्डमा रोजगारीको राम्रो अवसर सिर्जना हुन्छ कि भन्ने लाग्छ ।’

अझ सरकारले चीनसँग नै पनि जीटुजी सम्झौता गरेर श्रमिक लैजाने गरी पहल गर्नुपर्नेमा उनले जोड दिए ।  विशेष गरी मकाउमा सेक्युरिटी गार्डमा नेपालीको माग उच्च छ । 

मकाउबाट लगानीकर्ताको चासो

थापाले मकाउका व्यवसायीले नेपालमा लगानी बढाउन चाहेको खुलाए । तर त्यसका लागि लगानीकर्ताले नेपालमा स्थिर सरकार चाहेको उनको भनाइ छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राजनीतिक स्थायित्वको र लगानीको सहज वातावरण रहेको सन्देश चिनियाँ पक्षलाई दिनुपर्ने थापाले बताए । 

यस्तै विगतमा भएका सम्झौतालाई नेपाली पक्षबाट फलो अप र कार्यान्वयनमा लैजान पहलकदमी लिनुपर्नेमा पनि उनले जोड दिए ।  ‘सरकार चेन्ज भए पनि पहिलेका सरकारले गरेका निर्णयको फलो अप गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले देशभित्र राम्रो काम गर्नुभएको छ । चीनमा गएर पनि नेपालीको पक्षमा पहलकदमी लिनुपर्छ ।’ 

नेपालमा मकाउका व्यवसायीले क्यासिनो, पर्यटनलगायतका क्षेत्रमा लगानी इच्छुक देखिन्छन् ।  त्यसका लागि पहल भइरहेको पनि उनले बताए । लुम्बिनी र पोखराको प्रचार गराएर चीनबाट नेपाली पर्यटक भित्र्याउन सकिने भन्दै त्यस्ता पर्यटकलाई लक्षित गरेर मकाउका व्यवसायीले क्यासिनोमा लगानी गर्न चाहेको उनको भनाइ छ ।  यसका लागि नियमित हवाई उडानको व्यवस्था मिलाइनुपर्ने उनको धारणा छ । ‘सहजहरूमा चिनियाँ पर्यटक आउन सक्नेगरी उडानको सङ्ख्या बढाउनपर्छ । नेपालले सोहीअनुसारको पहलकदमी लिनुपर्छ’, उनले भने ।  

लगानीको सहज वातावरण बनाउन जोड

काठमाडौँको दक्षिणकालीका थापाको मकाउमा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एक्पोर्ट/इम्पोर्टलगायतको व्यवसाय रहेको छ भने नेपालमा पनि हाइड्रो, स्टक मार्केट, रियल स्टेटलगायतका क्षेत्रमा लगानी छ । 

सन् १९९८ मा हङहङ हुँदै मकाउ पुगेका उनले २००६ मा व्यवसाय सुरु गरेका थिए । उनले नेपालमा चिनियाँ लगानी भित्र्याउन पहल गर्नुका साथै नेपालमा चिनियाँ लगानीका केही परियोजनामा काम पनि गरिसकेका छन् । 

तर, नेपालमा लगानी भित्र्याउन प्रशासनिक झण्डटसहितका विभिन्न असहजता रहेको उनको अनुभव छ।  त्यसलाई सच्याएर सहज बनाउनतर्फ सरकारले पहलकदमी लिनुपर्ने उनको धारणा छ ।

नेपाल दुई ठुला अर्थतन्त्र भएको मुलुकको बीचमा रहेकाले आफ्नो अर्थतन्त्रमा सुधार ल्याउन सरकारले भूमिका खेल्नुका साथै आवश्यक वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप