शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमणमा जडीबुटीदेखि भैँसी र बङ्गुरको मासु निर्यातका एजेन्डा

रातो च्याउ र यार्सागुम्बामा चीनको इच्छा, किवी र ड्रागन फ्रुटले बजार पाउने
सोमबार, १८ भदौ २०८०, ११ : ३५
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ५ एजेन्डा तयार भएका छन् । कृषि मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमण लक्षित ५ एजेन्डा परराष्ट्र पठाएको हो ।

यो सूचीमा नेपालबाट करिब २ दर्जन प्रजातिका जडीबुटी, डेरी प्रडक्ट, बफेलो मिट्स र अदुवा, बेसार लगायत वस्तु निर्यातको एजेन्डा तयार पारिएको छ । मन्त्रालयकी प्रवक्ता शवनम शिवाकोटी अर्यालले परराष्ट्रमा चीन भ्रमणका लागि ५ वटा एजेन्डा पठाइएको रातोपाटीलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले परराष्ट्र मन्त्रालयमा ४/५ वटा एजेन्डा पठाएका छौं । उताबाट कुन–कुन एजेन्डा राख्ने भनेर अन्तिम सूची तयार पारिन्छ ।’ सन् २००१ मा नेपाल र चीन सरकारबीच कृषि वस्तु आयात–निर्यातको सम्झौता भएको थियो । ५ वर्षसम्म चल्ने सम्झौताको समय दुई पटकसम्म थपिएको थियो ।

तर, यतिबेला उक्त सम्झौता निष्क्रिय छ र प्रधानमन्त्रीको चीन भ्रमणमा उक्त सम्झौतालाई नवीकरण गर्ने तयारी छ । यो एजेन्डा चीन भ्रमणमा कृषि मन्त्रालयले आफ्नो पहिलो एजेन्डामा राखेको छ । यसबाहेक चिनियाँ पक्षले नेपालबाट केही वस्तुको आयातमा इच्छा देखाएका छ । जसमा कृषि मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

चिनियाँ पक्षले नेपालको जडीबुटी, किवी, ड्रागन फ्रुट, तरकारी र अन्य फलफूल आयात इच्छा देखाएका छन् । यसबाहेक, बफेलो मिट, चिकेन, पोर्क, डेरी प्रडक्ट र लाइभ एनिमलको आयातमा समेत इच्छा देखाएका छन् । यस्तै, अदुवा, बेसार र चियामा हाल्ने ‘लेमन ग्रास’ समेत आयातको सूचीमा राख्न अनुरोध गर्ने कृषि मन्त्रालयको इच्छा छ ।

नेपालबाट अमिलो फलफूल (सुन्तला, कागती र जुनार लगायत) चीन निर्यात गर्न यसअघि नै द्विपक्षीय सम्झौता सम्पन्न भइसकेको छ । यो सम्झौतालाई कार्यान्वयन गर्न समेत प्रधानमन्त्रीको चीन भ्रमणमा समझदारी गर्ने तयारी नेपाली पक्षको छ । ‘यो सम्झौता छिटो कार्यान्वयन गर्नका लागि चिनियाँ पक्षसँग छलफल हुन्छ,’ प्रवक्ता अर्यालले भनिन् । यस्तै, नेपालमा उत्पादित चिया निर्यातको ‘प्रोटोकल’ सम्झौताको तयारी समेत नेपालले गरेको छ । यसका लागि चीनको मापदण्डअनुसार नेपालका केही उत्पादन दर्ता भइसकेका छन् ।

यसबाहेक, चीन सरकारसँग अनुदानमा सहयोग अनुरूप आयोजना बनाइदिनु अनुरोध गर्ने एजेन्डा तयार भएको छ । ‘नेपालले निश्चित आयोजना र योजना तय गरेर सहयोग गर्न अनुरोध गर्नेछ,’ अर्यालले भनिन्, ‘तर यो सम्झौता प्रधानमन्त्रीको भ्रमणका क्रममा हुँदैन ।’ यसपछि, चीन सरकारको सहयोगमा ‘एग्रो इन्डस्ट्रियल पार्क’ बनाउन चीनले प्रस्ताव गरेको छ । यो प्रस्तावमा समेत नेपालले आवश्यक काम गर्दै छ ।

यो एजेन्डामा नेपाल पनि इच्छुक छ । तर, यो आयोजनामा काम गर्न थप गृहकार्य चाहिने भएकाले यसपटकको भ्रमणमा छलफलको विषय मात्रै राख्ने तयारी छ । 

यस्तै, नेपालबाट चीनतर्फ निर्यात हुने कृषि उपज वस्तुमा कडा क्वारेनटाइन नीति लागु हुन्छ । यो नीति पुरा गर्न कठिन भएकाले अत्याधुनिक ल्याब सहयोग गर्न नेपालले चीनलाई अनुरोध गर्नेछ ।

जडीबुटी निर्यातको बाटो खुल्ने

प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणमा नेपालबाट चीनतर्फ बहुमूल्य जडीबुटी निर्यातको ढोका नेपालको तयारी छ । चिनियाँ पक्षले नै नेपालबाट यार्सा गुम्बा, रातो च्याउ, गुर्जो, अमला लगायतका जडीबुटी आयातका लागि इच्छा देखाएको छ । यीसहित करिब डेढ दर्जन जडीबुटी आयात गर्न चीनले प्रोटोकल पठाइसकेको छ । यो सूचीमा थप जडीबुटी थपेर दुई दर्जन जडीबुटीको सूची  निर्यातका लागि पठाउने तयारी मन्त्रालयको छ ।

‘चीनले १५ वटा जडीबुटी आयातका लागि मागेको थियो,’ नेपाल हब्स एन्ड हर्बल प्रडक्ट एसोसिएसनका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरेले भने, ‘अहिलेसम्म नेपालबाट चीनतर्फ इन्डिया, थाइल्यान्ड र भियतनाम हुँदै निर्यात हुन्थ्यो ।’ चीनले आफ्नो कस्टम क्वारेनटाइनमा नेपालका १५ जडीबुटीको सूची राखेपछि औपचारिक माध्यमबाट चीन निर्यात खुल्ने सम्भावना छ ।

नेपालमा १३० प्रकारका जडीबुटी निर्यातको सम्भावना देखिएको छ । नेपालमा पर्याप्त जडीबुटी रहेकाले यी महँगा र बहुमूल्य जडीबुटीको निर्यात गरेर लाभ लिनका लागि राज्यले छिटो पहल गर्नुपर्ने घिमिरेले बताए ।

यस्तो छ चीनले आयातको इच्छा देखाएको जडीबुटीको सूची: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप