शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सव सम्पन्न

शनिबार, २३ भदौ २०८०, ११ : ४१
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । लगानी बोर्डका उपाध्यक्ष माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको १२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजनाहरु सञ्चालन गर्नुपर्ने बताए ।

लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ । त्यस्तै ६००० र ३००० टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्सी शिवम सिमेन्ट र ह्वासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन् ।

धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । ९०० मेगावाटको अरुण–३ जलविद्युत परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन् ।

४५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । यसका साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पीडीएको तयारी समेत शुरु भएको छ ।

यस अवधिमा लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रूपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको छ । नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्ललगानी गर्ने भएको छ । लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितीले कार्य थालनी गरिसकेको छ ।

यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले चर्चा गरे । 

उक्त अवसरमा तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवद्र्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुर्याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप