बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कर्णालीमा एमाले अधिवेशन : नेतृत्वका लागि हानथाप !

जनताबाट ‘रिजेक्टेड’ नेता पनि नेतृत्वका लागि केन्द्रको आशीर्वाद खोज्दै
आइतबार, २४ भदौ २०८०, ११ : ३९
आइतबार, २४ भदौ २०८०

सुर्खेत । कर्णालीमा नेकपा एमालेको प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । असोज १० र ११ गते प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि भदौ ३० मा प्रतिनिधि छनोट गरिसक्ने तयारी छ ।

अधिवेशन नजिकिएसँगै प्रदेशको नेतृत्वका लागि केही नेताले ‘लबिङ’ सुरु गरिसकेका छन् भने कतिपय नेताले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । पोलिटब्युरो तहको नेता पनि अध्यक्ष बन्न पाउने भएपछि प्रदेशको नेतृत्वका लागि हानथाप नै देखिन्छ ।

यसअघि लुम्बिनी प्रदेशको अधिवेशनमा एमाले महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबिच प्रतिस्पर्धा भएको थियो । कर्णालीमा पौडेल पक्षको खासै प्रभाव छैन । बरु यहाँ शङ्कर पोखरेल पक्षभित्र नै उपगुट छ ।

केन्द्रीय कमिटीमा कुनै पदाधिकारी नभएको कर्णालीमा स्थायी कमिटी सदस्य गोरख बोगटी र यामलाल कँडेल पक्षबिच आन्तरिक प्रतिस्पर्धा हुने देखिन्छ ।

एमाले कर्णालीमा गुटको राजनीति यसरी झाँगिएको छ कि पछिल्लो समय सामाजिक सञ्जालमै छरपस्ट हुने गरेको छ । यतिबेला एमाले सुर्खेतको इञ्चार्ज गोरख बोगटी छन् भने सुर्खेतका यामलाल कँडेललाई दैलेख इञ्चार्ज बनाइएको छ । तर, कँडेलले सुर्खेत नछोड्दा बोगटीले सामाजिक सञ्जालमा सुर्खेतमा असहयोग गरिएको सङ्केत सहितको धारणा राख्ने गरेका छन् ।

अध्यक्षका लागि कर्णालीका पूर्व सभामुख राजबहादुर शाही (दैलेख), मीनबहादुर शाही (कालिकोट), लालबहादुर महतारा (जाजरकोट), ध्रुव शाही (सुर्खेत) सम्भावित उम्मेदवार हुन् । केन्द्रीय सदस्यबाट विष्णु रिजाल (दैलेख), निरज आचार्य (जाजरकोट), नगीन्द्र शाही (कालिकोट) र दल रावल (हुम्ला)को चर्चा छ । यस्तै पोलिटब्युरो तहबाट आउँदा लक्ष्मी पोखरेल र गुलाबजंग शाह सम्भावित उम्मेदवार हुन् ।

अधिवेशनमा कँडेल र बोगटी फ्याक्टरले कति काम गर्छ, त्यो भने हेर्न बाँकी छ । अध्यक्षको चर्चामा रहेका दुवै जना पोलिटब्युरो सदस्य सुर्खेतका ध्रुव शाही कँडेल पक्षधर नेता हुन् भने दल रावल, नगीन्द्र शाही, मीनबहादुर शाही बोगटी पक्षधर मानिन्छन् । यद्यपि पछिल्लो समय हुम्लामा दल रावल र दल फडेरा मिलेपछि स्वयम् बोगटी नै कमजोर अवस्थामा रहेको कतिपयको बुझाइ छ ।

केन्द्रीय सदस्य रिजाल, आचार्य र पूर्व सभामुख राजबहादुर शाही अहिले कुनै पक्षमा खुलेका छैनन् । यद्यपि शाही केन्द्रीय कमिटीमा केपी ओली कमजोर रहेका बेला ओलीको रक्षा कवच बनेर उभिने नेतामा पर्छन् । केन्द्रीय सदस्य रहेका नेताहरूले केन्द्रको ‘सिग्नल’ नपाएकाले खुलेर अध्यक्षको लागि दाबी गर्न सकिरहेको अवस्था छैन । तथापि प्रदेश तहका कतिपय नेताले भने आन्तरिक रूपमा छलफल चलाइसकेको एमाले वृत्तमा चर्चा छ ।

राजबहादुर शाहीले उम्मेदवारका रूपमा छलफल चलाइसकेका छन् । उनी लामो समयसम्म पार्टीका लागि योगदान गरेका र अध्यक्षका लागि सम्भावना बोकेका नेता हुन् ।

उम्मेदवारमा चर्चाका आएका धेरैजसो नेताभन्दा शाही सिनियर हुन् । यद्यपि उनी पार्टीभित्र पदीय जिम्मेवारीमा भने थिएनन् । वैचारिक रूपमा पनि शाही अध्यक्षका लागि सक्षम रहेको एमालेका धेरैजसो नेताको तर्क छ ।

‘उहाँ (राज शाही) इमानदार, वैचारिक र पार्टीभित्र निरन्तर योगदान दिँदै आउनुभएको नेता हो,’ एमालेका प्रदेशस्तरीय एक नेताले भने, ‘प्रदेशमा सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता हो उहाँ । यद्यपि पार्टीभित्र इमानदार नेताहरूलाई पार्टीले बेवास्ता गरेको देखिन्छ । यो दुखद कुरा हो ।’

सन्त नेताको छवि बनाएका शाही पार्टी संगठनलाई बलियो बनाउने र जनमुखी बनाउनका लागि आफू सक्षम रहेको ठान्छन् ।

तल्लो तहबाट आउने अन्य नेताका सुर्खेतका ध्रुव शाही पनि बलिया उम्मेदवार हुन् । उनी यसअघि सुर्खेत जिल्लाको अध्यक्ष भइसकेका व्यक्ति हुन् । यद्यपि प्रतिनिधिसभाको चुनावमा भने उनी पराजित भएका थिए । शाहीलाई कँडेलले विशेष सहयोग गर्न सक्ने देखिन्छ । कँडेल नेतृत्व सकेसम्म सुर्खेत बाहिर नजाओस् भन्ने पक्षमा देखिन्छन् ।

लालबहादुर महतारा पनि बलियो उम्मेदवार हुन् भने कालिकोटका मीनबहादुर शाही पनि उत्तिकै सक्रिय नेतामा पर्छन् । महतारालाई अघि सार्न अहिलेका अध्यक्ष विनोदकुमार शाहले पनि आन्तरिक रूपमा सहयोग गरिरहेको स्रोतको दाबी छ ।

पूर्व सभामुख शाहीले अध्यक्षका लागि पार्टी केन्द्रमा पनि ‘लबिङ’ गरिसकेका छन् ।

केन्द्रीय सदस्यबाट आउँदा विष्णु रिजाल र निरज आचार्यको सम्भावना बढी देखिन्छ । यद्यपि दल रावल पनि सक्षम नेता नै हुन् । उनी यसअघि नेकपाको सरकार हुँदा सामाजिक मन्त्री बनेका थिए ।

‘जनताबाट रिजेक्ट भएका नेतालाई केन्द्रको आशा’

अधिवेशनमा ०७९ को निर्वाचनको विषयलाई लिएर नेता, कार्यकर्ताहरू विभाजित हुने देखिन्छ । प्रदेशका कतिपय नेताले महासचिव शङ्कर पोखरेल निकट व्यक्तिलाई नै अध्यक्ष बनाउन पोलिटब्युरो तहको नेतालाई अगाडि सार्ने काम भइरहेको आरोप लगाइरहेका छन् ।

अध्यक्षका लागि सम्भावित मानिएका पोलिटब्युरो सदस्य गुलाबजंग शाह (प्रदेश सभा) र लक्ष्मी पोखरेल (प्रतिनिधि सभा) दुवै जनता जनताबाट ‘रिजक्टेड’ नेता हुन् । यस्तै सुर्खेतका ध्रुव शाही, कालिकोटका नगीन्द्र शाही, हुम्लाका दल रावल, निरज आचार्य पनि ०७९ मङ्सिरमा भएको चुनावमा पराजित भएका थिए ।

पराजित शाह र पोखरेल त्यो बेला स्वयम् सह–इञ्चार्जको जिम्मेवारीमा थिए । जिम्मेवारीमा रहेका उनीहरू आफैँ चुनाव त हारे भने समग्र प्रदेशमा प्रतिनिधि सभातर्फ एमाले शून्य बन्यो । यी यावत् कारण हुँदाहुँदै पनि पोलिटब्युरो तहको नेतालाई अध्यक्षमा अघि सार्नु राम्रो मान्न नसकिने प्रदेशका अधिकांश नेताहरूको बुझाइ छ ।

यद्यपि शाह भने केन्द्रको आशीर्वादबाट भए पनि आफूलाई अध्यक्षको बलियो दाबेदारका रूपमा उभ्याइरहेका छन् ।

शाहले सल्यानमा प्रतिनिधि सभाको टिकट राप्रपाका राजेन्द्रवीर रायलाई दिएका थिए । तर, चुनाव सकिएको केही दिनमै राय एमाले छाडेर नागरिक उन्मुक्तिमा लागे भने स्वयम् शाह आफैँ चुनाव हारे ।

उक्त विषयमा पार्टी केन्द्रसम्मै रिपोर्ट पुगिसकेको थियो । तर, पनि महासचिव पोखरेलले भने उनलाई विश्वास पात्रमा रूपमा उभ्याइरहेको नेताहरूको आरोप छ । पोखरेलले पनि केन्द्रकै आशीर्वाद कुरिरहेका छन् ।

‘सक्षम व्यक्ति, हिजोदेखि पार्टीमा योगदान दिइरहेका सिनियर नेताहरू तल जिम्मेवारीविहीन अवस्थामा छन्, आफू निकट व्यक्तिलाई नै अगाडि सार्नका लागि पोलिटब्युरो तहको नेतालाई अगाडि सार्नु राम्रो होइन,’ प्रदेश तहका एक नेता भन्छन्, ‘यसले नेताहरूलाई त फाइदा गर्ला तर, समग्र पार्टी र जनतामाझ राम्रो सन्देश जाँदैन ।’

पार्टीका जिम्मेवार नेताहरूले पनि पोलिटब्युरोबाट आएको साथीहरूबाट कर्णालीको पार्टी संगठन माथि उठ्न नसक्ने तर्क गरे । ‘शून्य सिट ल्याउँदाको नेतृत्वदायी भूमिकाको टिम त उही हो,’ एक नेता भन्छन्, ‘दोस्रो, आफैँ उनीहरू चुनाव हारेको र रिजक्टेड नेताहरू हुन्, यहाँ माओवादी पनि बलियो छ, कांग्रेसपनि उस्तै छ ।’

अझ केन्द्रीय कमिटीभन्दा पनि तलबाट आउने नेताहरूलाई स्थान दिइनुपर्ने ती नेताको भनाइ छ । नाम उल्लेख नगर्ने बताएका ती नेता भन्छन्, ‘फ्रेस, सकारात्मक आकाङ्क्षा राखेको मान्छेलाई सपोर्ट गरे ऊ पार्टीको लागि दौडिन्छ नि ! विनोद शाह जस्तो अध्यक्ष बनाएर पार्टी उँभो लाग्दैन ।’

एक केन्द्रीय सदस्यले केन्द्रबाट दबाब दिने कोसिस गरियो भने त्यो कार्यकर्तालाई स्वीकार्य नहुने बताए । लुम्बिनी प्रदेशमा चुनाव भए पनि कर्णालीमा सकेसम्म सर्वसम्मत तरिकाले चुनाव सम्पन्न गराउनुपर्ने नेताहरूको भनाइ छ । प्रदेश इञ्चार्ज लेखराज भट्टले पनि सकेसम्म सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप