सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’

आइतबार, २४ भदौ २०८०, १८ : ५७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । मनोविद्हरूले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् ।  

अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौँमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरूले यस्तो बताएका हुन् । 

मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्य समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताए । उनले गरिबी, अशिक्षा र वैदेशिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताए । उनले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताए । 

आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै डा ठगुन्नाले आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिब ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताए । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।

मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भूमिका रहने बताए । उनले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताए । 

जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए । उनले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताए । सहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताए । उनले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताए ।

सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप