बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

भर्सटायल गौरी : गायनमा दश वर्षपछि पुनरागमन

‘गजल गाएर सबैको मनमा राज गर्ने चाहना छ’
सोमबार, २५ भदौ २०८०, १३ : ३३
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । भेला भएका छौँ आज फुकाई धक 
साथी, संगी, छिमेकी एकै ठाउँमा भेट
हे लाज शरमा पन्छाइदेउ, घिनघिन मादल घन्काइदेऊ
धिन ताका नाका धिन, धिन ताका नाका धिन

माथिका शब्द अभिनेत्री तथा गायिका गौरी मल्लको नयाँ गीत ‘धिन ताका नाका धिन’को हो । केही दिन अगाडि भिडियोसहित सार्वजनिक रोमान्टिक डान्सिङ शैलीको यो गीतले अहिले दर्शक श्रोताको मन जितिरहेको छ ।

तीजको अवसर पारेर सार्वजनिक यो गीत उनले तीजका लागि भनेर ल्याएकी हुन् । गीतमा शब्द, संगीत तथा स्वरसमेत उनकै छ । 

गीतको भिडियोमा उनलाई वरिष्ठ अभिनेत्री मिथिला शर्माले साथ दिएकी छन् । थुप्रै कोरस प्रयोग गरेर तामझामको साथ भिडियो निर्माण भएको छ ।

अभिनयमा पारङ्गत मानिने अभिनेत्री गौरीको छायामा परेको एउटा पाटो हो गायन । यो गीतसँगै उनको गायनमा दश वर्षपछि पुनरागमन भएको छ । 

तीजको यो गीत उनले गायनमा फर्किने उद्देश्यले र आफैले गाउँछु भनेर तयार गरेको भने होइन । गायिका रचना रिमालको स्वरकी फ्यान उनले यो गीत रिमाललाई नै गाउन लगाउने उद्देश्यले तयार गरेकी थिइन् । तर, रिमालले यो गीतका लागि समय निकाल्न नसक्दा उनी आफैले गाउनु पर्‍यो ।

‘१० वर्षदेखि मैले गीत गाएकी थिइनँ । ‘रियाज’ पनि थिएन । यो गीत मैले गाउने कुरा पनि थिएन’, गौरीले भनिन् ‘स्टुडियोलगायत सबैको डेट मिलिसकेको थियो । रचनाले व्यस्तताका कारण नभ्याउने भएपछि डिजे एलएक्स भाइ (एरेन्जर) ले तपाईंले नै गाउँदा राम्रो हुन्छ भनेर हौस्याउनु भयो । मैले प्रयास गरे ।’ 

यसरी धेरै पटकको प्रयासपछि गीत रेकर्डिङ भएको उनको भनाई छ । भनिन्, ‘गीतको शब्द, संगीत पनि आफ्नै भएकोले गाउने आँट आयो, राम्रै भएको छ जस्तो लाग्छ ।’

Capture

त्यसो त गौरीले यो गीतको लाइन बनाएको धेरै भैसकेको थियो । तर बल्ल आएर गीत रेकर्ड भयो । किन होला ? 

‘तीजको अवसरमा अस्ट्रेलियामा आयोजना हुने केही कार्यक्रममा सहभागी हुँदै थिए । तीजको माहौल पनि छ । तीजलाई आधार बनाएर स्वदेश तथा विदेश रहने नेपाली दिदीबहिनीलाई नचाउने गीत बनाउने भन्ने लाग्यो’, उनले अगाडि थपिन्, ‘पहिले यो गीत फरक टाइपमा ल्याउन सोच थियो । अहिले तीज गीतको रूपमा आयो ।’

गीत रेकर्ड गर्दा राम्रो चर्चा होला भनेर उनले सोचेकी थिइनन् । अहिले गीतको राम्रो चर्चा भयो । साथीभाइ, आफन्त धेरैले राम्रो भनेका छन् । केहीले रियाज नपुगेको भन्दै कमेन्ट गरेको समेत उनले सुनाइन् ।

गजल गाउन मन छ

गौरीमा बाल्यकालदेखि तीनवटा सौख थियो । लेख्ने, पढ्ने र गाउने । सबैभन्दा अधिक रुचि गायनमै थियो । त्यसैले, उनी बाल्यकालमा गीत गुनगुनाएर घरआँगन चहार्थिन् । पछि २०४५ सालमा उनले संगीत अगाडि बढाउने उद्देश्यले संगीत प्रशिक्षण पनि लिएकी थिइन् ।

‘धेरैले गीत राम्रो गाउँछे भनेर गाउनसमेत लगाउँथे । स्टेज शोहरुमा बोलाउँथे’, गौरी सुनाउँछिन् ‘त्यो समय गायनभन्दा अभिनयमा स्कोप धेरै थियो ।’ चर्चा र सफलताका लागि अभिनय रोज्दा उनको गायन ओझेलमा पर्न पुग्यो ।

दर्जन बढी आफ्नै शब्दको गीत रेकर्ड गरेकी छन् उनले । तर अहिलेसम्म एल्बम भने ल्याएकी छैनन् । त्यस्तै, भीम तुलाधर, आरभ तथा केही फिल्मको समेत गरेर उनले करिब डेढ दर्जन बाहिरको गीतमा पनि स्वर दिएकी छन् ।

‘बाहिरको गीत चेतन सापकोटाको ‘टिकटकमा एउटै ड्रेस भो’ व्यङ्ग्य गीतदेखि भजन, नेवारी र आधुनिकसम्म छन्’, उनले भनिन्, ‘गायनभन्दा मलाई दर्शकले अभिनयमा रुचाए । अभिनय नै पेसा भयो । जसले गर्दा गायनलाई निरन्तरता दिन सकिन ।’ 

अभिनयमा रमाए पनि गायन प्रतिको आफ्नो हुटहुटी कहिल्यै नमरेको उनी बताउँछिन् । त्यसैको फलस्वरूप आइपुगेको छ अहिले ‘धिन ताका नाका धिन’ गीत ।

आफ्नो गायनले यो पटक राम्रो चर्चा पाएकोमा उनी दंग पनि छिन् । त्यसैले अव उनमा गायन पनि अगाडि बढाउने सोच पलाएको छ ।

‘धेरै हेभी गीत गाउँदिन । मेरो स्वर सुहाउने गीत अब निरन्तर गाउँछु’, उनले थपिन्, ‘अहिले गजल गाउन मन लागेको छ ।’ गजल गाउन मन लाग्नुको कारण गजलमार्फत छिट्टै मानिसको मनमा बस्न सकिन्छ भनेर हो । गजल गाएर मानिसको मनमा राज गर्ने उनको चाहना छ ।

सानैदेखि गजलको फ्यान उनी जगदीश सिंह र चित्रा सिंहको गजलको फ्यान हुन् । यी गायक गायिकाको प्रायः गजल उनले सुनेकी छन् । यिनले गजललाई अलि मोडर्न तरिकाले गाएको उनले पाएकी छन् । 

अब निर्माण र निर्देशनमा पनि

अभिनयमा पारङ्गत गौरीले एक सय बढी नेपाली फिल्ममा अभिनय गरेकी छन् । सिरियल र म्युजिक भिडियो पनि थुप्रै छन् उनका । अघिल्लो वर्ष प्रदर्शित फिल्म ‘महापुरुष’मा उनको अभिनयले राम्रै तारिफ पाएको थियो । 

अहिले पनि फिल्मका अफर त धेरै छन् उनलाई । केहीको भने उनी अभिनय गर्ने हिसाबले होमवर्कमा छिन् । 

उनको गौरी मल्ल नामक आफ्नै युट्युब च्यानल पनि छ । जसका लागि म्युजिक भिडियो बनिरहेको छ । फिल्म र डकुमेन्ट्री निर्माण योजनाका साथ साथीहरूसँग छलफलमा छिन् ।

‘मनोरञ्जनको अलावा राम्रो र सकारात्मक म्यासेज दिन सकिने विषयवस्तु उत्पादनको पहलमा छु,’ उनी भन्छिन् ।

फिल्म अभिनयमा चर्चा र सफलता दुवै हात पारेकी उनको निर्माण र निर्देशन गर्ने चाहना पनि छ । त्यसका लागि उनी अनुकूल समयको पर्खाइमा छिन् ।

‘जे कुरोको पनि समय आउनुपर्छ । आफुले चाहेर मात्र हुँदैन’, उनले भनिन्, ‘त्यो अनुकूल समय र कथाको पर्खाइमा छु ।’ 

‘म अहिले मानिसलाई राम्रो चिज कसरी दिने भन्नेमा छु । किनभने यतिको वर्ष कलाकारितामा बिताएको मबाट दर्शकमा ठुलो अपेक्षा हुन्छ । त्यो मिट गरेर काम गर्नु मेरो लागि चुनौती छ’, उनी थप्छिन् ‘राम्रो रूपमा आउन सकिएन भने आउनुुको औचित्य रहँदैन, बदनाम मात्र भइन्छ ।’

‘एउटा राम्रो प्रोजेक्ट हात लागोस्, जसले गर्दा म कन्फिडेन्सका साथ निर्देशनमा होमिन सकौँ,’ उनले प्रार्थना गर्ने गरेकी छन् ।

केही दिन अगाडि गौरी तीज कार्यक्रमका लागि अस्ट्रेलिया उडेकी छन् । ५ वर्षपछि अस्ट्रेलिया उडेकी उनको त्यहाँका ताजमेनिया, सिड्नीलगायत सहरमा कार्यक्रम रहेको छ । 

कार्यक्रममा नृत्यसँगै गीत पनि गाउने उनको तयारी छ । भनिन्, ‘५ वर्षपछि अस्ट्रेलिया आएकी छु । केही न केही धमाका त गर्नु पर्‍यो नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप