बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अटो शोको रौनक

गाडीको बुकिङसँगै सवारी कर्जाको माग बढ्यो

विकास बैंकलाई ब्याजदर प्रतिस्पर्धाको चुनौती !
शुक्रबार, २९ भदौ २०८०, ११ : १८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । मंगलबारदेखि राजधानीमा जारी १५औँ संस्करणको नाडा अटो शो २०२३ को रौनक चुलिँदो छ । आर्थिक शिथिलताका बाबजुद पनि आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको ‘फ्लो’ उत्साहप्रद रूपमा बढेको आयोजक नाडाले जनाएको हो । 

अटो शोको तेस्रो दिन अर्थात् बिहीबारसम्ममा ३० हजार बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । यसले अटो पारखीहरू गाडी किन्न चाहिरहेको र उपयुक्त अवसर र अफर खोजिरहेको देखिन्छ । 

उसो त नजिकिँदै गरेको दसैँ, तिहार र छठ जस्ता ठुला चाडबाडलाई नै लक्षित गर्दै आयोजना गरिएको अटो शोमा उपलब्ध अटोमोबाइल ब्रान्डहरूले आकर्षक छुटसहित विविध खालका स्किम तथा अफर पस्किँदै ग्राहक आकर्षित गरिरहेका छन् । जसले गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकहरू बढेको कम्पनीहरूको भनाइ छ । 

अन्ततोगत्वा यसले अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको छ । ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष अटो शोको रौनक निकै राम्रो छ । अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएको छ । सोहीअनुसार यता बैंकमा फाइनान्सिङका लागि मागसमेत बढेको छ,’ भृकुटीमण्डप प्रदर्शनी हलभित्रै स्टल राखेको नबिल बैंकका बजार सम्पर्क अधिकृत विवेक केसीले रातोपाटीसँग भने । 

उनका अनुसार अटो शोको तेस्रो दिन सम्ममा अटो लोनकै लागि ८० जना भन्दा बढीले इनक्वायरी (सोधपुछ) गरिसकेका छन् भने सो मध्ये झन्डै एक दर्जन ग्राहकले कर्जाका लागि सोही प्रदर्शनी हलमार्फत् नै कर्जाका लागि ‘फरदर प्रोसेस’ चालिसकेका छन् । 

बैंकले फिक्स (स्थिर) ब्याजदरमा ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशतमा नै सवारी कर्जा उपलब्ध गराइरहेको छ । जसमा सेवा शुल्कबापत बैंकले ०.७५ प्रतिशत मात्र काट्ने केसीले बताए । 

यस्तै, अटो शोको प्रदर्शनी हलभित्रै स्टल राखेर बैंकिङ सेवा प्रवाह गरिरहेको ग्लोबल आईएमई बैंकले पनि फिक्स रेटमा १०.४९ प्रतिशतदेखि १०.९९ प्रतिशतमा नै अटो कर्जा उपलब्ध गराइरहेको छ । विद्युतीय गाडी (ईभी) मा ८० प्रतिशतसम्म फाइनान्सिङ गरिरहेको बैंकले पेट्रोलियम गाडीमा भने ५० प्रतिशत मात्र फाइनान्सिङ गर्ने जनाएको छ । 

अटो शोको तेस्रो दिन सम्ममा २०० जना भन्दा बढीले अटो कर्जाका लागि स्टल भिजिट गरेको ग्लोबल आईएमई बैंकको प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए । 

ईभीलाई मात्र फाइनान्सिङ गर्दै प्रभु बैंक

यता प्रभु बैंकले भने ईभीलाई मात्र फाइनान्सिङ सुविधा प्रदान गर्ने उद्देश्यसहित अटो शोमा भाग लिइरहेको छ । कुनै पनि ब्राण्डको विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने बैंकले  जनाएको छ । जसमा बैंकले आफ्नो आधार दर (बेस रेट) मा थप एक प्रतिशत मात्र प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने बैंकका प्रतिनिधि रोशी थापाले बताइन् । 

उनका अनुसार बिहीबारसम्ममा ७० जनाभन्दा बढीले अटो कर्जाका लागि सम्पर्क काउन्टरमा बुझेका छन् । यसैगरी, प्रदर्शनी स्थलमै बैंक काउन्टर राखेर सेवा प्रवाह गरिरहेको लक्ष्मी–सनराइज बैंकले पनि फिक्स रेटमा नै आकर्षक ब्याजदरमा अटो कर्जाको अफर गरिरहेको छ । 

लक्ष्मी–सनराइज बैंकले ईभीका लागि आफ्नो बेस रेटमा जम्मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गर्ने बताइरहेको छ भने नर्मल (पेट्रोलियम) गाडीका लागि बेस रेट प्लस १.५ प्रतिशत स्थिर ब्याजदर लगाउने बताएको छ । 

तर, यस्तो कर्जा ५ वर्षका लागि मात्र भएको बैंकका असिस्टेन रिलेशनशिप म्यानेजर सुवास सुवेदीले रातोपाटीसँग बताए । 

‘अटो शोको अवसरमा हामी सरल कर्जा सुविधा प्रदान गरिरहेका छौं । व्यक्तिले न्यूनतम ब्याजदरमा नै ५ वर्षका लागि फिक्स ब्याजदरमा कर्जा लैजान सक्छन्,’ सुवेदीले भने, ‘सेवा सुविधा पनि जम्मा ०.७५ प्रतिशत मात्र लाग्छ ।’

अटो लोनका लागि सिधै मोबाइल बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले बिहीबारसम्म एक सय बढी ग्राहकको इन्क्वायरी लिइसकेको बताएको छ । 

यस्तै, अटो शोमा भाग लिएको अर्को हिमालय बैंकले ८ वर्षसम्मका लागि सस्तो ब्याजदरमा नै अटो लोन (सवारी कर्जा) अफर गरिरहेको छ । बैंकले जुनकुनै गाडीमा आफ्नो बेस रेटमा १.१२ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गर्ने जनाएको छ । हाल बैंकको बेस रेट १०.८६ प्रतिशत रहेको छ । 

विकास बैंकलाई ब्याजदर प्रतिस्पर्धाको चुनौती

अटो शोमा भाग लिएको ८ वटा बैंकहरुमध्ये दुई वटा विकास बैंकहरु सहभागी छन् । जसमा कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले ग्राहक तान्ने होडमा ६ वटा वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

कामना सेवा विकास बैंकले अटो शोमा सवारी कर्जाका लागि ११.९५ प्रतिशत ब्याजदर अफर गरिरहेको छ भने महालक्ष्मी विकास बैंकले अधिकतम १२.९९ प्रतिशत ब्याजदर अफर गरिरहेको छ । 

तुलनात्मक रूपमा यो वाणिज्य बैंकले अफर गरेको ब्याजदर भन्दा केही बढी हो । 

स्वभाविक रूपमा यसले वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धामा केही चुनौती थपिएको कामना सेवा विकास बैंकका कुलेश्वर ब्रान्चका ब्रान्च म्यानेजर मधु श्रेष्ठ बताउँछन् । 

‘वाणिज्य बैंकको तुलनामा विकास बैंकको ब्याजदर केही बढी हुनु स्वभाविक हो । एउटै फिल्डमा प्रतिस्पर्धामा उत्रिनु पर्दा चुनौतीपूर्ण नै मान्नुपर्छ,’ श्रेष्ठले भने, ‘तर, हामीले आफ्नै किसिमले सेवा प्रवाह गरिरहेका छौं । रिलेशन, चिनजानका हिसाबले सरल तरिकाले कर्जा प्रवाह गर्ने हुँदा समस्या छैन ।’ 

यस पटकको नाडा अटो शो, २०२३ मा एउटा निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स र ८ वटा बैंकसहित ९ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिएका छन् । भदौ २६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप