बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

केही कीर्तिमानसहित भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि

आइतबार, ३१ भदौ २०८०, १८ : २६
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करणको उपाधि भारतले जितेको छ । भारतले आइतबार खेलिएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

श्रीलंकाको कोलम्बोमा खेलिएको फाइनल खेलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको घरेलु टोलीले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो । एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा कम योगफल हो । 

जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ६.१ ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पार गरेको थियो । एसिया कप क्रिकेटको हालसम्मको इतिहासमा कुनै पनि टोलीले सबैभन्दा कम ओभरमा विजयलक्ष्य पुरा गरेको हो ।

ओपनर ब्याट्सम्यानद्वय शुभमन गिल र इशान किसनले भारतलाई विजयलक्ष्य पार गराएका थिए । शुभमन गिलले अविजित २७ र इशान किशनले अविजित २३ रन बनाए । गिलले १९ बलको सामना गरी ६ चौका र इशान किसनले १८ बलको सामना गरी तीन चौका हिर्काए । 

भारतले आठौँ पटक एसिया कप एसिया कपको उपाधि चुमेको हो । भारत सबैभन्दा बढी एसिया कपको उपाधि जित्ने राष्ट्र पनि हो । भारतले यसअघि सन् १९८४, सन् १९८८, सन् १९९०/९१, सन् १९९५, सन् २०१०, सन् २०१६ र सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो ।

दोस्रो स्थानमा रहेको श्रीलंकाले हालसम्म ६ पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले सन् १९८६, सन् १९९७, सन् २००४, सन् २००८, सन् २०१४ र सन् २०२२ मा एसिया कपको उपाधि जितेको थियो । पाकिस्तानले पनि दुई पटक एसिया कपको उपाधि हात पारेको छ । पाकिस्तानले सन् २००० र सन् २०१२ मा एसिया कपको उपाधि हात पारेको थियो ।

त्यसअघि एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको थियो । श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलंकाले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

भारतका दायाँहाते तिब्रगतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलंकाली ब्याट्सम्यानहरु निरीह सावित भएका थिए । श्रीलंकाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । 

त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भएका थिए । तेस्रो विकेटका रुपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किएका थिए । चौथो विकेटका रुपमा चरिथा असालंका पनि शून्य रनमै आउट भएका थिए । 

यसैगरी पाँचौं विकेटका रुपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैठौं विकेटका रुपमा कप्तान दासुन सानका शून्य रनमै आउट भएका थिए । सातौं विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भएका थिए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काएका थिए । उनी श्रीलंकाका लागि दोहोरो अंकमा रन बनाउने एकमात्र खेलाडी हुन् । 

यसैगरी आठौँ विकेटका रुपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलंकाले नवौं विकेटका रुपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलंकाले अन्तिम विकेटका रुपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमाएको थियो ।

श्रीलंकाली टोलीले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौं, १२ रनमै छैठौं, ३३ रनमा सातौं, ४० रनमा आठौँ, ५० रनमा नवौं र ५० रनमै दशौं विकेट गुमाएको थियो ।  

श्रीलंकाका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन पनि यही हो । श्रीलंकाको पहिलो विकेट भने जसप्रित बुमराहले लिएका थिए । श्रीलंकाको आठौँ विकेट हार्दिक पाण्डेयाले लिए । नवौं र दशौं विकेट पनि हार्दिकले नै लिएका थिए ।

यसअघि एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन थियो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्घको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४.२ ओभरमा अलआउट भएको थियो । 

एसिया कपमा सबैभन्दा कम योगफलको अर्को खराब कीर्तिमान पनि बंगलादेशकै नाममा थियो । सन् १९८६ मा भएको एसिया कपमा पाकिस्तानविरुद्घ नै बंगलादेशी टोली ९४ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा बंगलादेशी टोली ३५.३ ओभरमा अलआउट भएको थियो । 

एसिया कपको इतिहासमा सबैभन्दा छिटो विजयलक्ष्य पुरा गरेको भने १५ ओभरमा हो । सन् १९९७ को एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय ३१ रनको विजयलक्ष्य भारतले १५ ओभरमै केवल एक विकेट गुमाएर पुरा गर्दै नौ विकेटले खेल जितेको थियो । यसैगरी सन् २००८ मा भएको एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय १६ रनको लक्ष्य पाकिस्तानले १९.४ ओभरमा पुरा गर्दै १० विकेटले खेल जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप