संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।
संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पनि औँल्याए ।
“संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
संविधान मुलुकको सर्वोच्च कानून हो । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उनको भनाइ छ ।
नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताए ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उनको भनाइ छ । “संसद्ले एकाधबाहेकका कानूनहरू निर्माण गरिसकेको छ । तर, दीर्घकालीन असर गर्ने केही कानूनबारे छलफल र बहस भइरहेका छन् । आशा छ, जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुङ्गोमा पुर्याउनेछौँ”, शुभकामना सन्देशमार्फत उनले भनेका छन्, “संविधानले विकास गरेका प्रणालीको सही सञ्चालन, व्यवस्थापन र कार्यान्वयन गर्न सकेमात्रै जनतालाई अनुभूत गराउन सक्दछौँ ।”
संविधान निर्माण गर्न भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू, घाइते, अपाङ्ग तथा शान्तिपूर्ण आन्दोलन गर्ने अगुवाहरूको योगदानलाई पनि सभामुख घिमिरेले स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण