बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुक्यो : रवि लामिछाने

बुधबार, ०३ असोज २०८०, ११ : ३२
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् ।
बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका र उनीहरुले समृद्धिको ढोका खोजिरहेको बताएका छन् । 

उनले भनेका छन् : ‘आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् ।’ उनले संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको दाबी समेत गरेका छन् । यद्यपि संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनले बताएका छन् ।

उनले लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै यो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस भन्दै सबैलाई संविधान दिवसको शुभकामना समेत दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप