आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
संविधान दिवसको अवसरमा हेटौंडामा हस्तकला प्रदर्शनी, तस्बिरहरु

संविधान दिवसको अवसरमा हेटौंडामा हस्तकला प्रदर्शनी, तस्बिरहरु

बुधबार, ०३ असोज २०८०

मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवर्द्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा हेटौडा उपमहानगरपालिकाको परिसरमा ‘प्रथम हस्तकला प्रवर्द्धन मेला–२०८०’ आयोजना गरिएको हो ।

असोज ३ र ४ गते दुई दिन चल्ने मेलाको बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

मेलामा हस्तकलाका २५ वटा स्टल राखिएको बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यले जानकारी दिए । विशिष्ट मौलिक कला, संस्कृति तथा परम्परागत हस्तकलाको महत्त्वपूर्ण उद्गमस्थलको रूपमा रहेको अध्यक्ष शाक्यले बताए । विश्व सम्पदा सूचिमा सूचिकृत विशिष्ट कला सम्पदाहरु भएका कारण नेपालले विश्वमा छट्टै पहिचान स्थापित गर्न सकेको उनको भनाई छ ।

मौलिक कलाहरुको बिम्बको रूपमा हस्तकलाले देश तथा अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता पाइरहेको उनले बताए ।  

हस्तकलासँग आबद्ध उद्यमी व्यवसायीको हकहितलाई कायम गर्दै हस्तकलाको थप प्रवर्द्धन तथा स्तरोन्नति र हस्तकलाका उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको उनले बताए । 

उत्पादक र व्यवसायीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सञ्जालमा जोड्ने कार्यलाई सहजीकरण गर्नु मेलाको उद्देश्य रहेको उनको भनाई छ । प्रदर्शनीमा प्रदेशका १३ जिल्लाका विशेष हस्तकलाका उत्पादनहरु राखिएको उनले बताए । उक्त अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच धातुको बाघचाल खेल खेलाइएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शर्माले नागरिकहरुको आर्थिक उपार्जनमा हस्तकलाको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले हस्तकालाको विकास र विस्तार गर्न सकेको खण्डमा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउन सकिने बताए ।

राज्यले प्राचीन तथा सांस्कृतिक र सप्रदायीक हस्तकलाहरुलाई जोगेर्ना गर्ने प्रकृतिको कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने उनले बताए ।  कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलालाई पर्यटनसँग जोडेर विकास एवं विस्तारको काम गरिने बताए । हस्तकला उद्योगको प्रचार प्रसार तथा अन्तर्राष्ट्रियकरणका लागि प्रदेश सरकारले पहिलो पटक हस्तकला मेला आयोजना गरेको उनको भनाई छ । उक्त मेलालाई समयानुकूल परिमार्जन गर्दै हरेक वर्ष आयोजना गरिने उनले बताए ।

अध्यक्ष शाक्यका अनुसार प्रदर्शनीमा परालको सुकुल, खोस्टाको चकटी लगायतका सामाग्री प्रत्यक्ष रूपमा बनाएर देखाइएको छ भने प्रस्तक कला, धातुकला, काष्ठ कला, चाँदीका गरगहना, चित्रकला, नेपाली हाते कागज, ऊनी तथा फेल्ट, सेरामिक्सका सामानहरु, प्राकृतिक रेशा र कपडाका समानहरु, काठको ठेकी, बाँसुरी, धातुको बाघचाल, प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा विशेष समुदाय विशेष ‘पौभा’ ‘पूँ’ चित्रकला समेत राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया