शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लोकमार्ग विस्तार गर्न अछेतेका घरटहरा भत्काइँदै

शनिबार, ०६ असोज २०८०, १३ : २१
शनिबार, ०६ असोज २०८०

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन सकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका छन् । लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ । 

यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका  घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।

बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो । 

यसअघि गत असार १९ गतेको  नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । “लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौँ, अहिले भत्काउने घरहरुलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौँ”, सुवेदीले भने । 

बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचौँ पटक म्याद थपको चरणमा पुगेको छ । घरटहरा भत्काउनका लागि स्थानीयले सहजीकरण गरेकाले समस्या नहुने बागलुङका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए । 

अछेते बजारका स्थानीय दीपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तिका आधारमा घरटहरा भत्काउन दिने सहमति जनाइसकेको बताए । भण्डारीका दुईवटा टहरा मापदण्डभित्र परेपछि भत्काइँदै छ । स्थानीयवासीले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ति पाएपछि घरटहरा भत्काउन दिने भएपछि अछेतेमा लोकमार्ग विस्तारसँगै कालोपत्रको काम अगाडि बढ्ने भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप