बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ :  विप्लव

शनिबार, ०६ असोज २०८०, १७ : ३५
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । 

महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहोर्‍याए । शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यकता समेत औँल्याए । महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे।

उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ । त्यसले मात्रै बुझ्न सक्छ त्यो । नि:शर्त दाउमा राखेर लड्ने मानिसले मात्रै बुझ्ने कुरा हो नि यो । सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन । हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्‍याएको छ । र, यो वस्तुवादी कुरा हो । यो गर्नैपर्छ । त्यो मात्रै होइन सारा कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउनेगरी सोच्नुपर्छ । हामीले बहस गर्ने आँट गर्नु पर्छ । तिमी साँच्चै देशको सेवा गर्ने हो, जनताको माया गर्ने हो ? ल यसरी भन्ने आँट गर्नु पर्छ । त्यो मात्रै होइन, काँग्रेससँग पनि बहस गर्ने आँट गर्नुपर्छ । ऊ पनि एउटा राजनीतिक क्षेत्र हो नि त । त्यहाँ हामीले बहस गर्नैपर्छ । त्यो गर्ने गरी नै हामी समाजवादी मोर्चामा भाग लिएका हौँ । त्यस कारण यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने । यो होइन । नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ ।’

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्ब नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप