शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा केसीको आक्रोश : हरेक क्षेत्रमा विधिविहिनता पराकाष्ठामा पुग्दैछ

सोमबार, ०८ असोज २०८०, १३ : ५७
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देश असफलता र सामाजिक पद्धति अराजकतातिर गइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।  जारी सोमबारको केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्दै नेता केसीले लोकतन्त्र विधिको शासन भएकाले विधिविहिनताले न देश न पार्टी चल्ने भएकाले नेतृत्वको गम्भीर ध्यान जान जरुरी रहेको बताएका छन् । 

‘राज्यमा सुशासन नभए जनतामा अनुशासन हुँदैन । पार्टी विधिसंगत सञ्चालन नभए कार्यकर्तामा अराजकता र अनुशासनहीनता फैलिन्छ, । आज हरेक क्षेत्रमा विधिविहिनता पराकाष्ठामा पुग्दैछ’, केसीले भनेका छन् । 

साथै उनले समाजमा व्यापक निराशा र असन्तुष्टि किन बढिरहेको भनेर प्रश्न समेत गरेका छन् । ‘बेथिति, अव्यवस्था, विधिविहिनता र भ्रष्टाचार किन मौलाइरहेको छ ? सुशासन केवल नारामा मात्र किन सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान अराजकता किन धकेलिरहेको छ ? आज जनस्तरमा देखिएको यो निराशा र वितृष्णामा हामी को को कति दोषी छौँ ?’, केसीले यस्ता प्रश्न गर्दै  अब छिपछिपे ज्ञान र टालटुले समाधान वा केवल प्रियतावादी (पपुलिस्ट) तरिकाले नहुने बताएका छन् । 

नेता केसीले जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माणको लागि समाधानको ठोस नीति, वैचारिक पुनर्जागरण र रूपान्तरण सहित नयाँ आशा, विश्वास र भरोसा सिर्जना गर्नु जरुरी बताएका छन् । ‘देश असफलता र सामाजिक पद्धति अराजकतातिर गइरहेको छ’, केसीको भनाइ छ । 

नेता केसीले नेताहरू पार्टी कब्जाको होडमा लागेको तर जनता पार्टीबाट टाढिँदै गएको पनि बताएका छन् । ‘पार्टी कब्जाको होडमा हामी छौँ, तर जनता पार्टीबाट टाढा टाढा हुँदैछन्’, केसीको भनाइ छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप