आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बुटवलका कलेजमा नाटक प्रदर्शन गर्दै चलचित्र ‘परदेशी २’ का कलाकार

मङ्गलबार, ०९ असोज २०८०, १९ : ३७
मङ्गलबार, ०९ असोज २०८०

बुटवल । दसैँको अवसर पारेर आगामी असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतिबेला प्रचार प्रसारका लागि देश दौडाहामा छ ।  

फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिम सोमवार नेपालगन्जमा  रहेकोमा आज मंगलवार बुटवलमा पत्रकारहरूसँग साक्षात्कार गरेको छ । यस्तै, केही कलेजमा नाटक पनि प्रदर्शन गरेको छ । 

साक्षात्कार कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपुतले ‘परदेशी २’ आफू अभिनीत पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए । आगामी दिनमा आफ्नै कथामा फिल्म निमार्ण गर्ने योजनामा रहेको उनले सुनाए । प्रकाशको यो डेब्यु चलचित्र हो । 

त्यस्तै, अभिनेत्री केकी अधिकारीले  आफ्नो ३३ औ फिल्म भएको जनाउँदै मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको सुनाइन् । 

‘परदेशी २ मा प्रत्येक घर–घरको कथा समावेश छ । यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । यो हामी सबैको कथा समेटिएको फिल्म हो,’ उनले भनिन् ।  

निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । संसार घुमे पनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मुख्य सार रहेको उनले सुनाए । ‘परदेशी २’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको  छ ।

उनले आफ्नो पहिलो फिल्म गोरखा पल्टनदेखि अहिलेसम्म विदेशिनेहरुको  कथा  रहेको बताए ।  पहिलो  फिल्म  विदेश  फौजका लागि जाने,  दोस्रोमा  रोजगारीका लागि र  तेस्रोमा अहिले अध्ययनका लागि जानेहरुको कक्षा समेटिएको बताए ।  

फिल्मको टिमले मङ्गलवार नै बुटवलका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गर्दै विद्यार्थीहरूसँग पनि साक्षात्कार गरेको थियो । पर्दामा देखिने प्रकाश सपुत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरू निकै खुसी देखिएका थिए । 

राजेश वंशल अग्रवाल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

फिल्मलाई मानकृष्ण महर्जनले छायाङ्कन गरेका हुन् भने पाल्पा, पोखरा,  काठमाडौँ लगायतका ठाउँमा सुटिङ भएको छ । ‘परदेशी २’को टिम पोखरा हुँदै केही दिनमा काठमाडौँ फर्किनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप