असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति कति तोकियो ?
काठमाडौँ । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले रातोपाटीलाई जानकारी दिए ।
‘दसैँतिहारका लागि कति नयाँ नोट चाहिन्छ अहिले नै यकिन भएको छैन । तर, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने गरी हामीले तयारी गरेका छौँ’ कार्यकारी निर्देशक शाक्यले रातोपाटीसँग भने ।
बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक सुकिला नोटको व्यवस्था गरेको बताउँदै कार्यकारी निर्देशक शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने बताए ।
मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।
‘त्यसो त अहिले पनि केन्द्रीय बैंकले सुकिला नोट उपलब्ध गराइरहेकै छ । तर विशेष गरी दसैँतिहारका लागि नै बढी सुकिला, नयाँ नोटको माग हुने गरेकाले हामीले नोट सटहीको सुविधा प्रदान गर्दै आएका छौँ’ शाक्यले भने, ‘तथापि, पछिल्लो समय बढ्दो डिजिटल बैंकिङ तथा पेमेन्टको प्रयोगले नगद कारोबार र सटही केहीँ कम हुने हामीले विश्वास गरेका छौँ ।’
तर, दशैंतिहारमा हुने नगद कारोबारमा भने सुकिला नोट नै प्रयोग गर्नुपर्ने शाक्यको भनाइ छ । दसैँको टिकाटालो, पूजापाठमा चल्ने नोटमा अबिरकेसरी पानी पर्ने हुँदा सुकिला नोटको प्रयोग नै उचित हुने उनको भनाइ छ ।
नोट सटहीका लागि क्यूआरको व्यवस्था गरिने
सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।
यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुनेछ । तर, अन्य बैंक तथा वित्तीय संस्थाहरूले भने आफू अनुकूल सटहीको सुविधा लिन सक्ने उनले बताए । यसअघि नगद सटहीमा यस्तो सुविधाको व्यवस्था गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण