बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – क्यामरुन ग्रिन (अस्ट्रेलिया)

शुक्रबार, १२ असोज २०८०, १९ : ५०
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सर्वाधिक सफल राष्ट्र हो, अस्ट्रेलिया । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँचपटक एकदिवसीय विश्वकपको उपाधि चुमिसकेको छ । यसपटक अस्ट्रेलिया छैटौँ पटक उपाधि चुम्न लक्ष्यसहित भारत यात्रामा निस्कँदै छ । 

यो विश्वकपमा अस्ट्रेलियाले निकै भरोसा गरेको खेलाडीमध्ये एक हुन्, क्यामरुन ग्रिन । उनी अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ जति आक्रामक छ बलिङ पनि उत्तिकै धारिलो छ । २४ वर्षीय ग्रिनले पछिल्लो समय अस्ट्रेलियाको थुप्रै सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

ग्रिन दायाँ हाते ब्याट्सम्यान हुन् भने दायाँ हाते मध्यम तेज गतिका बलर । उनले सन् २०२० को डिसेम्बर २ मा भारतविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म अस्ट्रेलियाका लागि २४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

एकदिवसीय प्रतियोगितामा १७ पाली खेल्दै उनले ३७.९० को औसतले कुल तीन सय सात रन बनाएका छन् । उनले एकदिवसीय खेलमा एउटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन अविजित ८९ रन हो । उनले न्युजिल्यान्डविरुद्ध त्यो रन बनाएका हुन् । 

एकदिवसीय प्रतियोगितामा उनले १६ विकेट पनि लिएका छन् । एकदिवसीय खेलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३३ रन दिएर पाँच विकेट हो । उनले अस्ट्रेलियाका लागि २४ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३३.५९ को औसतले कुल एक हजार ७५ रन बनाएका छन् । 

टेस्ट क्रिकेटमा उनले एक शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १४ रन हो । टेस्ट क्रिकेटमा उनले ३० वटा विकेट पनि लिएका छन् । टेस्टमा उनको उत्कृष्ट प्रदर्शन २७ रन दिएर पाँच विकेट हो । 

यसका अतिरिक्त उनले अस्ट्रेलियाका लागि आठवटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल एक सय ३९ रन बनाएका छन् । टी—२० मा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी—२० प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ६१ रन हो । 

अन्तर्राष्ट्रिय टी—२० प्रतियोगितामा उनले पाँच विकेट पनि हात पारेका छन् । भारतमा आयोजना हुने १३औँ विश्वकपमा अस्ट्रेलियाले उनलाई खासगरी ब्याटिङकै जिम्मेवारी सुम्पिएको छ । उनी मध्य क्रममा क्रिज समाल्न आउने छन् । उनलाई अस्ट्रेलियन टोलीका पूर्वखेलाडी माइकल वेभनको झल्को दिने खेलाडीका रूपमा हेरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप