विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – माथिसा पाथिराना (श्रीलङ्का)

काठमाडौँ । श्रीलङ्काले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुम्न सकेको छ । दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले सन् १९९६ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला श्रीलङ्काले फाइनलमा बलियो अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।
सन् १९९६ को विश्वकप दक्षिण एसियाली राष्ट्रहरूले नै आयोजना गरेका थिए । यसपटक फेरि दक्षिण एसियामै विश्वकपको १३औँ संस्करण आयोजना हुँदैछ । जिम्बाबेमा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको श्रीलङ्का यतिबेला दोस्रो पटक विश्वकप घर लैजाने दाउमा छ ।
तर, हालै घरेलु मैदानमा सम्पन्न एसिया कपको फाइनलमा भने श्रीलङ्काली टोलीको प्रदर्शन ज्यादै निराशाजनक रह्यो । यसका बाबजुद एसिया कपमा पनि २० वर्षीय दायाँहाते तीव्र गतिका बलर माथिसा पाथिरानाको बलिङ भने उत्कृष्ट रह्यो ।
पाथिराना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खासै अनुभवी खेलाडी होइनन् । उनले हालसम्म देशका लागि टेस्ट क्रिकेट खेल्ने अवसरसम्म पाएका छैनन् । श्रीलङ्काली टोलीबाट उनले हालसम्म १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय र एउटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् ।
तर, आफ्नो फरक शैलीको बलिङ आक्रमणका कारण विश्व क्रिकेटका प्रभावशाली ब्याट्सम्यानहरू पनि उनको सामना गर्न हच्किन्छन् । पाथिरानाले सन् २०२३ को जुन २ मा अफगानिस्तानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।
उनले आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका थिए । उनले हालसम्म श्रीलङ्काका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै १५ विकेट लिएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर चार विकेट हो ।
सन् २०१९ को विश्वकपलगत्तै श्रीलङ्काली टोलीका प्रभावशाली बलर लासिथ मालिंगाले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि श्रीलङ्काली टोली मालिंगाको रिक्त स्थान लिन सक्ने बलरको खोजीमा थियो । श्रीलङ्काली टोलीको त्यो खोजी अहिले पाथिरानामै आएर टुंगिएको छ । त्यसैले उनी श्रीलङ्काली क्रिकेटमा ‘बेबी मालिङ्गा’ को उपनामले पनि परिचित छन् ।
पाथिरानाको बलिङ शैलीबाट प्रभावित भएर नै चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले उनलाई सन् २०२२ को इन्डियन प्रिमियर लिग खेल्न आफ्नो टोली चेन्नई सुपर किङ्समा भित्राएका थिए । उनले गुजरात टाइटन्सविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमै गुजरातका प्रभावशाली ब्याट्सम्यान शुभमन गिलको विकेट लिएर गतिलो चर्चा बटुलेका थिए । उनले आफ्नो पहिलो बलमै गिलको विकेट लिएका थिए । यो विश्वकपमा श्रीलङ्काले पाथिरानाबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप