आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक उपाधि जितेको तेस्रो विश्वकप

सोमबार, १५ असोज २०८०, १३ : १४
सोमबार, १५ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण पनि इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । तेस्रो संस्करणको सफल आयोजनासँगै क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्ड लगातार तीनपटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो । 

यो विश्वकपलाई पनि प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले नै मुख्य प्रायोजन गरेको थियो । त्यसैले प्रतियोगिताको नाम ‘प्रुडेन्सियल कप—८३’ राखिएको थियो । विश्वकपको तेस्रो संस्करण पनि इन्टरनेशनल क्रिकेट कन्फरेन्सले नै आयोजना गरेको थियो । 

विश्वकपको तेस्रो संस्करण सन् १९८३ को जुन ९ देखि २५ तारिखसम्म सञ्चालन भएको थियो । यो विश्वकपका खेलहरू इङ्ल्यान्ड र वेल्सका विभिन्न १५ वटा रंगशालामा खेलाइएको थियो । विश्वकपको तेस्रो संस्करणमा पनि आठवटै राष्ट्रले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, पाकिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्ड गरी ६ वटा टेस्ट खेल्ने राष्ट्रिय सहभागी थिए । यसका अतिरिक्त श्रीलङ्का र क्यानडा विश्वकपमा छनोट भएका थिए । जिम्बाबेले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । श्रीलङ्काको भने यो लगातार दोस्रो सहभागिता थियो । 

तेस्रो विश्वकपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलङ्का थिए । प्रतियोगिताको समूह ‘बी’ मा भने वेस्ट इन्डिज, भारत, अस्ट्रेलिया र जिम्बाबे परेका थिए । 

तर, पहिलो र दोस्रो संस्करणको तुलनामा तेस्रो संस्करणमा समूहगत चरणको खेल केही फरक तरिकाले खेलाइएको थियो । तेस्रो संस्करणमा आफ्नो समूहमा रहेका टोलीहरूले एकअर्कासँग दुई—दुई खेल खेलेका थिए । त्यसपछि दुवै समूहबाट अङ्क तालिकाको सबैभन्दा माथि रहने दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

Dev-175

प्रारम्भिक चरणको खेलपछि समूह ‘ए’ बाट आयोजक इङ्ल्यान्ड २० अङ्कसहित पहिलो र पाकिस्तान १२ अङ्कसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । न्युजिल्यान्डको समेत १२ अङ्क भए पनि नेट रन रेटमा पाकिस्तानसँग पछाडि परेको थियो । 

यसैगरी समूह ‘बी’ बाट भने वेस्ट इन्डिज २० अङ्कसहित पहिलो र भारत १६ अङ्कसहित दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । आठ अङ्क जोडेको अस्ट्रेलिया समूहमा तेस्रो भएको थियो । समूहगत चरणमा प्रत्येक टोलीले ६—६ वटा खेल खेलेका थिए । 

त्यसपछि प्रतियोगिताको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनल खेलमा भने वेस्ट इन्डिजले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको थियो । वेस्ट इन्डिज लगातार तीनपटक फाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको थियो । 

तर, वेस्ट इन्डिजले विश्वकप उपाधिमा ह्याट्रिक गर्ने अवसर भने पाएन । प्रतियोगिताको फाइनलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराउँदै उपाधि चुम्यो । एसियाली राष्ट्र भारतले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

यो विश्वकप पनि ६०—६० ओभरमै खेलाइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै ५४.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने ५२ ओभरमा अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो । यो विश्वकपको कुनै पनि खेल दिवा—रात्रि रूपमा खेलाइएको थिएन । 

Gower

विश्वकपको तेस्रो संस्करणमा इङ्ल्यान्डका डेभिड गोवर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले सात खेल खेल्दै कुल तीन सय ८४ रन बनाएका थिए । दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका भीम रिचर्डसले आठ खेल खेल्दै तीन सय ६७ रन बनाएका थिए ।

यसैगरी तेस्रो स्थानमा रहेका इङ्ल्यान्डका ब्याट्सम्यान ग्रामी फोलरले सात खेलमा तीन सय ६० रन बनाएका थिए । चौथो स्थानमा रहेका पाकिस्तानका जहिर अब्बासले सात खेल खेल्दै तीन सय १३ र पाँचौँ स्थानमा रहेका भारतका कपिल देवले आठ खेल खेल्दै तीन सय तीन रन बनाएका थिए ।

Binny

यसैगरी यो विश्वकपमा सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा भारतका रोजर बिन्नी पहिलो स्थानमा थिए । उनले कुल १८ विकेट लिएका थिए । १७ विकेटसहित श्रीलङ्काका असान्था डी मेल दोस्रो, १७ विकेटसहित भारतका मदन लाल तेस्रो, १४ विकेटसहित न्युजिल्यान्डका रिचर्ड हेड्ली चौथो र १३ विकेटसहित इङ्ल्यान्डका भिक मार्क पाँचौँ स्थानमा थिए । विश्वकपको तेस्रो संस्करणमा कुल २७ खेल खेलाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप