मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

केदेमको ‘एउटा गाउँले ठिटो’ विमोचन

मङ्गलबार, १६ असोज २०८०, १४ : २६
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । ब्रिटिस गोर्खाका पूर्वसैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको सँगालो ‘एउटा गाउँले ठिटो’ विमोचन गरिएको छ । पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा सोमबार आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी लुमुम्बू, दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राई, प्राज्ञ नन्दु उप्रेती र लेखक स्वयंले उक्त किताब सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रम कृतिबारेमा प्रकाश पार्दै अश्कले साहित्यमा काल्पनिक पात्र भए पनि संस्मरणमा लेखिन हरेक कुरा यथार्थ हुने बताए । “अन्य साहित्यहरूमा काल्पनिक पत्र बनाएर कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छ । कसैसँग मेल खाएमा संयोग मात्र हुन्छ भनेर उम्कन मिल्न सकिन्छ,” उनले भने “अनुभूति तथा संस्मरण विधामा भने लेखकको नितान्त आफ्नो कथा हुन्छ ।” 

दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले साहित्यको निबन्ध विधाभित्र संस्मरण, नियात्रा आदि पर्ने बताउँदै निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको सशक्त विधामा लेख्नु  सरह हो भने । 
त्यस्तै प्राज्ञ नन्दु उप्रेतीले केदेमको किताबले ताप्लेजुङदेखि विश्वका विभिन्न ठाउँ घुमाएको बताए । उनले आफू पनि लिम्बू समुदायसँग हुर्किएकोले लिम्बू रीति, संस्कृतिसँग परिचित भएको बताए ।

लेखक केदेमले जीवन भोगाइको क्रमलाई लेख्नुपर्छ भन्ने लागेर लेखेको बताए । “आफ्नो जीवनको भोगाइ मात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि किताबमा उल्लेख गरेको छु ।” केदेमले भने ।

कार्यक्रममा सङ्गीतकार वसन्त मुकारुङ, साहित्यकार प्रेम रिबुसाल राई, गायक दीपक लिम्बू, किरात याक्थुङ चुम्लुङ, काठमाडौँका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, कोशी प्रदेश प्रमुखका प्रमुख देवेन्द्र खापुङ, कवि शुक्र राईलगायतको उपस्तिथि थियो । सो कार्यक्रम एलिसा ढुङ्गानाको सञ्चालन गरेकी थिइन् । कार्यक्रम प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको थियो । 
किताब रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । ३२० पृष्ठको पृष्ठको किताबको मूल्य रु. ५९५ रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप