सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

बुधबार, १७ असोज २०८०, १२ : २७
बुधबार, १७ असोज २०८०

चितवन । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । 

महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ । 

त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताए। 

उनीहरुमार्फत नै स्थानीय सरकारसँगै विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पर्यटकलाई भरतपुर भ्रमण गर्न पठाउन आग्रह गरिएको छ । नेपालीहरुले सञ्चालन गरेका  होटल, रेष्टुरेन्ट, पसलहरुमा भ्रमण वर्षका पोष्टर राख्न, भ्रमण वर्षसम्बन्धी तयार गरिएका डिजिटल सामग्री प्रसारण गर्न आग्रह गरिएको छ । 

यसैगरी राजदूतावासहरुमा भ्रमण वर्षसम्बन्धी पोष्टर, पम्प्लेट जस्ता सामग्री राखिँदै छ । सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घका अध्यक्षहरुलाई सल्लाहकार बनाएर भ्रमण वर्षमा अधिकतम पर्यटक भरतपुर भित्र्याउने योजना बनाइएको छ । 

गैरआवासीय नेपाली सङ्घको सम्मेलनको पूर्वसन्ध्यामा अक्टोबर १४ तारेखमा भरतपुरमा अन्तरराष्ट्रिय समन्वय समिति चितवन समाजको सम्मेलन हुँदैछ । यसले विदेशमा रहेका नेपालीहरुलाई भ्रमण वर्षमा यहाँ आमन्त्रण गर्न र योजना बनाउन सहज हुने भएको छ । विश्वमा एक सय १२ भन्दा बढी देशमा नेपाली रहेका छन् । 

महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत विदेशमा रहेका भरतपुरवासी, चितवनवासी र समग्र नेपालीलाई भ्रमण वर्षमा निम्तो दिन लागिएको बताइन् । यसैगरी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घमार्फत विश्वभर भ्रमण वर्षको प्रचारको काम गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् । 

आफूहरु विदेश भ्रमणमा जाँदा भेटिएका त्यहाँका अधिकारीहरुलाई मौखिक रुपमा निम्तो दिने काम भइरहेको उनले जानकारी दिइन् । आन्तरिक र बाह्य पर्यटकलाई आमन्त्रणसँगै पर्यटकको बसाइँ लम्ब्याउन महानगरपालिकाले नयाँ गन्तव्यको खोजीसँगै तयारी तीव्र रुपमा अघि बढाएको छ । 

यहाँ आउने पर्यटकका लागि पहिलो रोजाइ चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका दुर्लभ वन्यजन्तु हुन् । आएका पर्यटकलाई बाघ देखाउनका लागि महानगरपालिकाको देवनगरमा खुल्ला खोर बनाइँदै छ । दाहालले भनिन्, “भरतपुर आएका पर्यटकले बाघ नहेरी फर्किन नपरोस् भनेर काम अघि बढाएका छौं ।” ऐतिहासिक महत्व बोकेको दियालो बङ्गला खुल्ला गर्ने अन्तिम तयारीमा महानगर जुटेको छ । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षको तयारी तिव्र गतिमा अघि बढेको बताए । स्वदेशी र विदेशी पर्यटक उल्लेख्य रुपमा आउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । महानगरभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थित गर्ने र नयाँ गन्तव्यको खोजीमा महानगर जुटेको उनले बताए ।

भ्रमण वर्षमा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । अधिकारीले नेपाल भित्रिने पर्यटकमध्ये धेरै भरतपुर ल्याउने गरी तयारी भइरहेको बताए । यसका लागि नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय गर्ने काम भइरहेको छ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । कोभिडपछि थला परेको यहाँको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले टेवा पुग्ने अपेक्षा गरिएको छ । 

महानगरपालिकाले विभिन्न समिति निर्माण गरेर भ्रमण वर्षका गतिविधि अघि बढाएको छ । भरतपुरमा मेघौली, पटिहानी, जगतपुर, देवनगरलगायत मुख्य सहरी क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यहाँ सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म पर्यटकीय गन्तव्य रहेका छन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगरको राप्तीतर्फको भाग निकुञ्जसँग जोडिएको छ । त्यसका कारण पर्या पर्यटनका हिसाबले यसलाई देशकै महत्वपूर्ण ठाउँका रुपमा लिन थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप