बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अग्रिम टिकट बुकिङ

यथास्थितिमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको उद्घोष

सेना, प्रहरी र स्कुलको बस प्रयोग गर्ने सरकारको तयारी !
बुधबार, १७ असोज २०८०, १८ : ४८
बुधबार, १७ असोज २०८०

काठमाडौँ । मुख्य चाडपर्व दसैँ–तिहार तथा छठको अवसरमा सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले सार्वजनिक यातायातको मात्र भर नपर्ने भएको छ । खास गरी, यस पर्वमा हुने यात्रुहरुको भिडभाड र सडक सुरक्षालाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले नेपाली सेना, प्रहरी र स्कुलको बससमेत दसैँ, तिहारमा सार्वजनिक यातायातको रुपमा प्रयोग गर्ने गरी तयारी थालेको हो । 

यसै मुद्दामा केन्द्रित हुँदै बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकले चाडवाड विशेष सार्वजनिक यातायातलाई बढीभन्दा बढी भरपर्दो र सुरक्षित बनाउन सरकारका विभिन्न निकायमा रहेका सवारी साधनहरुलाई प्रयोग गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

आवश्यकताका आधारमा सेना, प्रहरी, निजामती कर्मचारीले प्रयोग गर्ने गाडीहरुसँगै स्कुल कलेजका सवारी साधनहरु समेत दसैँ–तिहारको यात्राका लागि प्रयोग गराउन सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

‘चाडपर्व विशेष सार्वजनिक यातायातको सहजता, सडक सुरक्षा र पूर्वतयारीमा हामी निकै सजग र सचेत छौँ । सोहीअनुसार आवश्यक तयारी पनि गरिरहेका छौँ’ मन्त्री ज्वालाले भने, ‘यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरुसँग निरन्तर संवाद भइरहेको छ । जतिसक्दो छिटो दसैँ, तिहारको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न हामीले यातायात व्यवसायीहरुलाई आग्रह गरेका छौँ ।’ 

‘तर, उहाँहरु भाडा वृद्धिको माग गरिरहनु भएको छ । चाडपर्वकै मुखमा भाडा वृद्धि गराउन सकिँदैन, मैले स्पष्ट भनिसकेको छु । तथापि, उहाँहरु अग्रिम टिकट बुकिङ खुल्ला गर्न तयार हुनुभएन भनेपनि विकल्प खोज्नुपर्ने हुन्छ’ मन्त्री ज्वालाले अगाडि भने, ‘आवश्यकताका आधारमा सेना, प्रहरी र स्कुल कलेजका बसहरु समेत प्रयोग गर्न सकिन्छ । तर, पहिले पहिले जस्तो एउटै सिटको तीन वटासम्म टिकट काट्ने प्रवृत्ति यस पटक रोक्ने तयारीमा मन्त्रालय, विभाग रहेको छ ।’ 

यातायात व्यवसायीहरुलाई घटस्थापनाको कम्तीमा एक साता अगावै अग्रिम टिकट बुकिङ खुल्ला गर्न आग्रह गरिएको मन्त्री ज्वालाले समितिलाई जानकारी गराए । 

उता, यथास्थितिमा अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसकिने यातायात व्यावसायीहरुको अडान रहेको छ । आफूहरुको माग सम्बोधन नगरी यथास्थितिमै दसैँ–तिहारको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने मनसायमा उनीहरु देखिँदैनन् । 

यथास्थितिमा अग्रिम टिकट बुकिङ खुल्ला हुँदैन : वरिष्ठ उपाध्यक्ष, सिटौला

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य सिटौला ‘सरोज’ले रातोपाटीसँग भने, ‘हामीले सरकारसँग ठूला माग केही पनि राखेका छैनौँ । मात्र, सार्वजनिक यातायातको, व्यवसायीहरुको समस्या बुझिदिन भनेका हौं । वर्षौवर्ष भइसक्यो सार्वजनिक यातायातको भाडा समायोजन नभएको । सडकको अवस्था नाजुक छ । यी समस्याहरु त सम्बोधन हुनुपर्‍यो नि । दसैँको मुखमा व्यवसायीहरु भाडा वृद्धिको माग गरे भनेर प्रचार गर्ने तर समस्या नबुझिदिने गर्न मिल्छ ?’ 

सरकारले सार्वजनिक यातायात जसरी पनि चला भन्ने तर व्यवसायिक सुरक्षाको प्रत्याभूति नदिने गरेको उनले गुनासो गरे । तथापि, दसैँ–तिहारको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सन्दर्भमा व्यवसायीहरुले यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको र आवश्यक तयारीपछि तत्काल खुल्ला गरिने उनले बताए । 

‘अझै समय बाँकी छ । टिकट बुकिङ खुल्ला गर्न ढिला भएको छैन । तर दसैँ, तिहारकै अवसरमा हुने सडकको भिडभाड, सडक सुरक्षाका विषयमा राज्य संवेदनशील हुन आवश्यक छ ।’ बर्खाले बिग्रिएको, भत्किएको र खाल्डाखुल्डी परेका सडक मर्मत गर्न उनले सरकारसँग आग्रह गरे । 

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतको सडक विभागले आवश्यक सडक मर्मतको तयारी गरिरहेको जनाएको छ । बुधबार बसेको समितिको बैठकमा पूर्ण रुपमा सडक मर्मतका लागि बजेट नभएपनि आवश्वक तत्तत सडकहरुको मर्मत गरिने बताएको छ ।  

तीन वर्गमा छुट्याएर सडक मर्मत गरिने

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको मातहतमा रहेका सडक तीन वर्गमा वर्गीकरण गरेर प्राथमिकताका साथ मर्मत गरिने बताएका छन् ।

खास गरी, दसैँ–तिहारको अवसरमा लाखौंलाख यात्रु उपत्यका बाहिरिने मुख्य मुख्य सडकमार्गका लामा रुटका राजमार्गलाई एउटा वर्गमा राखेर स्तरोन्नति गरिने, दोस्रोमा स्थानीय सडक सञ्जाल र तेस्रोमा उपत्यकासहित देशका मुख्य मुख्य सहरका सडकहरुको मर्मत गरिने उनले बताए । 

‘सडक सुरक्षाको मामिलामा हामी निकै संवेदनशील छौँ । सडक विभागले आवश्यक सडक मर्मत स्तरोन्नतिको काम अघि बढाइसकेको छ । मन्त्रालय मातहतका सडक सञ्जाल दसैँअघि नै मर्मत गरिसक्छौं,’ मन्त्री ज्वालाले प्रतिवद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप