सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
निगमको एक्सन

भन्सार छली गरेर ‘ओभरलोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई कारबाही

चालकलाई ५० हजार र ट्याङ्कर साहुलाई एक लाख रुपैयाँ जरिवाना
बिहीबार, १८ असोज २०८०, ०७ : ३७
बिहीबार, १८ असोज २०८०

बारा । भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ ।

भारतको बरौनीबाट बाराको अमलेखगञ्जका लागि पेट्रोल लिएर आएको ना४क ३१५६ नम्बरको ट्याङ्करलाई निगमले जरिबाना सहित ३ महिनाका लागि ढुवानीमा रोक लगाएको छ ।

३ साताअघि वीरगञ्ज भन्सार कार्यालयले गोप्य सूचनाका आधारमा शंकास्पद ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा करिब १ हजार ७९७ लिटर ओभरलोड बोकेको पाइएपछि नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्याङ्करलाई निगमको अमलेखगञ्ज डिपोमा ल्याएर भन्सार र निगम कर्र्मचारीको संयुक्त रोहवरमा चेकजाँच गरिएको थियो । जसमा १ हजार ७९७ लिटर बढी पेट्रोल फेला परेको आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख विनितमणी उपाध्यायले जनाए ।

निगमले बढी पेट्रोल बोकेको ट्याङ्करलाई जरिवाना गरेको छ भने वीरगञ्ज भन्सार कार्यालयले चालकलाई ५० हजार र ट्याङ्कर मालिकलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

uphdayaनिगम प्रमुख उपाध्यायले भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले नेपालमा महँगो मूल्यमा बेच्ने उद्देश्यले भन्सार छलेर ल्याएको हुनसक्ने बताए । नेपालको तुलनामा भारतमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा सस्तो छ ।

‘यो एकदमै गैरकानुनी काम हो, निगमले २० हजार लिटरमात्र ढुवानी गर्ने अनुमति दिएको हुन्छ, तर त्यो अनुमति दिदाँदिँदै पनि यदाकदा चालकहरुले यस्तो गैरकानुनी काम गरेको घटना सार्वजनिक भएका छन्,’ उपाध्यायले भने, ‘हामीले सबै व्यहोरा जानकारी गराएर केन्द्रीय कार्यालयलाई पत्राचार ग¥यौँ, केन्द्रीय कार्यालयले सो ट्याङ्करलाई ३ महिनाको लागि ढुवानी गर्न नपाउने गरी निलम्बन गरेको छ ।’

सरकारले भन्सार, सडक मर्मत शुल्क, वातावरण प्रदुषण, पूर्वाधार विकास कर गरेर पेट्रोलमा प्रतिलिटर अधिकतम् ६३ रुपैयाँ कर लिने गर्दछ ।

जसअनुसार ढुवानीकर्ताले गैरकानुनी ढंगले ल्याएको १ हजार ७९७ लिटर पेट्रोलमा १ लाख १३ हजार २११ रुपैयाँ भन्सार छली गरेको देखिएको छ ।

ni5

पछिल्लो घटनापछि भन्सारको सूचनाका आधारमा निगमले ट्याङ्करहरुको चेकजाँचमा कडाई गर्न थालेको छ । ‘हामीले चालक, ढुवानीकर्ताहरुलाई बोलाएर भन्सार छलीजस्तो गैरकानुनी कार्य गर्ने हो भने तपाईहरुलाई नेपाल सरकारले गर्ने कारबाही बाहेक निगमले पनि हदैसम्मको कारबाही गर्छ भनेर सचेत गराएका छौँ,’ अमलेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने ।

यसअघि पनि निगमको भैरहवा कार्यालयमा सोही प्रकृतिको घटना भएको थियो ।

पेट्रोलियम ढुवानीकर्तालाई पत्र

गैह्रकानुनी रुपमा भन्सार छली गरेर पेट्रोलियम पदार्थ ढुवानी भएको घटनापछि आयल निगम अमलेखगञ्ज डिपोले ढुवानीकर्ताहरुलाई पत्र काटेर सचेत गराएको छ ।

निगमले असोज ९ गते पत्र पठाएर ढुवानी व्यवसायी, चालक तथा पेट्रोलियम ट्याङ्कर व्यवसायीहरुलाई यस्तो कार्य नगर्न-नगराउन निर्देशन दिएको हो ।

कानुनी दफा खुलाएर अगामी दिनमा गैरकानुनी काम गरे÷गराएको घटना थाहा पाए स्वयम् चालक, ढुवानीकर्ता, ट्याङ्कर मालिकलाई कारबाहीको दायरामा ल्याउने निगमले जनाएको छ ।

नेपालतर्फको भन्सार बिन्दुमा तौल गर्न सुरु

भारतबाट इन्धन ढुवानी गर्ने ट्याङ्करले नै तस्करी गरेको खुलेपछि वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मै खाली ट्याङ्कर र इन्धनसहितको ट्याङ्करको छुट्टाछुटै चेकजाँच सुरु गरिएको छ ।

आयल निगम अमलेखगञ्ज डिपो र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त समन्वयमा खाली ट्याङ्कर र बरौनीबाट लोड भएर आएको ट्याङ्करको चेकजाँच सुरु गरिएको हो ।

ni7

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले इन्धन तस्करीलाई नियन्त्रण गर्न खाली ट्याङ्कर र इन्धन बोकेर बरौनीबाट आएका ट्याङ्करहरुलाई नेपालतर्फ चेकजाँच सुरु गरिएको बताए ।

यसअघि सीमापार भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा इन्धन बोकेर नेपाल आउने ट्याङ्करहरुको इन्धनको तौल हुने गरे पनि नेपालतर्फ तौल गर्ने चलन थिएन ।

हाल बरौनीबाट अमलेखगञ्ज डिपोमा दैनिक पेट्रोल बोकेका २० देखि २५ वटा ट्याङ्कर आउने गर्दछन् । डिजेल भने मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट सोझै नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा भित्रिने गरेको छ ।

मुलुकभित्र हुने कुल खपतको ७५ देखि ८० प्रतिशत इन्धन वीरगञ्ज नाकाबाट भित्रिने गर्दछ । साथै वीरगञ्ज भन्सार कार्यालयले संकलन गर्ने कुल राजस्वमा इन्धनको योगदान सबैभन्दा बढी छ । 

ni3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप