आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
इजरायल घटना

इजरायलमा अझै सम्पर्कविहीन छन् विपिन : शनिबार दिनभर कुरा गरौँला भनेका छोराको आएन फोन

मङ्गलबार, २३ असोज २०८०, १३ : ३१
मङ्गलबार, २३ असोज २०८०

कञ्चनपुर । शुक्रबारको दिन थियो । इजरायलमा रहेका छोरा विपिन जोशीसँग एकछिन कुरा भयो । छोराले ‘शनिबार मेरो बिदा छ, मम्मी ! भोलि टन्न कुरा गरौँला’ भन्यो । त्यसपछि आमा पद्माले फोन राखिदिइन् ।

भोलि छोरासँग टन्न फोनमा गफ गर्ने भन्दै उनी आफ्नो काममा व्यस्त भइन् । शनिबार बिहानैदेखि उनले छोरालाई फोन लगाइन् । तर, छोराको फोन लागेन । दिनभर प्रयास गर्दा पनि फोन नलागेपछि कतै व्यस्त होला, पछि फुर्सद भएको बेला ‘कलब्याक’ गरिहाल्ला भन्ने सोचमा रहिन् पद्मा ।

दिनभरको कामको थकानले राति खाना खाए लगत्तै उनी सुतिन् । निदाउँदासम्म पनि शनिबार बिहानै इजरायलमा भएको आतंकवादी हमलाबारे उनले कुनै चाल पाइनन् ।

आइतबार बिहानै उठेर आफ्नो ड्युटीमा गइन् । पढाउन विद्यालय पुगेपछि अन्य स्टाफले इजरायलमा गोलाबारी चलिरहेकोबारे जानकारी गराए । त्यसपछि भने पद्माको मनमा चिसो पस्यो । उनको होस–हवासै उड्यो । मन थिर हुन सकेन । शनिवारदेखि छोरा सम्पर्कमा नआउनुको कारण उनले बल्ल पत्ता लगाइन् ।

पद्मा घर आउँदा परिवारका अन्य सदस्य पूरै मौन थिए । कसैले पनि उक्त घटनाबारे उनलाई केही जानकारी गराएनन् । उनले छोरालाई पटकपटक फोन सम्पर्कका लागि प्रयास गरिन् । तर, उनको प्रयास अहिलेसम्म सार्थक हुन सकेको छैन । अर्थात् उनको छोरा शनिबारदेखि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा सम्पर्कविहीन छन् । सुदूरपश्चिम विश्वविद्यालयमार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल पुगेका जोशी शनिबारदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

उनी सम्पर्कमा नआउँदा घर परिवार चिन्तित बनेको छ । उनीसँगैका १० जना साथीले ज्यान गुमाएको घटनाले उनको परिवारमा थप पीडा दिएको छ ।

‘शुक्रबार फोन गरेको थियो । शनिबार दाइ र बहिनीसँग कुरा भएको रहेछ । नेपालको १२ बजेको समयमा खाना खाँदैछु दाइ, पछि कुरा गरौँला भनेको थियो । पछि लाइनबाटै अफ भयो,’ पद्माले रातोपाटीसँग भनिन् ।

शनिबार धेरै कुरा गरौँला भनेको छोराले अहिलेसम्म पनि फोन नगरेपछि पद्मा विक्षिप्त छिन् । ‘शनिबार दिनभर फोन आउँछ कि भनेर हेरिरहेँ । मैले पनि फोन गरेँ । तर, लागेन,’ उनले भनिन्, ‘दिनभर फोन आएन, बेलुकाको खाना खाएर म सुतिहालेँ । पछि भतिजाहरूले फोन गरेका थिए । मलाई कसैले पनि भनेनन् ।’

375983534_6241181282657276_8678843399094641781_n

आइतबार ड्युटीबाट फर्किएर छोरालाई बारम्बार फोन गर्दा सम्पर्क हुन नसकेको उनले सुनाइन् । छोराको अवस्था पत्ता लगाइदिन उनको परिवारले सबैमा अनुरोध गर्दै आएको छ ।

तेलअभीस्थित एक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । ती तीनै जनाको परिचय खुल्न सकेको छैन । तीमध्ये विपिन हुन सक्ने अनुमान गरिएको इजरायलमा रहेका विद्यार्थी नितिन भण्डारीले रातोपाटीलाई बताए ।

‘तीन जनाको चिन्न नसक्ने अवस्थामा उपचार भइरहेको छ । फेसबाट चिन्न सकिने अवस्था छैन । त्यसमा विपिन पनि हुन सक्ने हाम्रो अनुमान हो । त्यसैले एनआरएनएका दाइहरू त्यहाँ जानु भएको छ,’ उनले भने ।

अप्रेशन थिएटरमा गइसकेकाले अप्रेशन सकिएपछि मात्रै उनी हुन् वा होइनन् भन्नेबारे यकिन हुने नितिनको भनाइ छ ।

घटना भएपछि त्यहीँ रहेका विद्यार्थीहरूले आफूहरू सुरक्षित रहेको भन्दै जानकारी गराएका थिए । तर, पछि एकाएक विपिन सम्पर्कविहीन भयो भन्ने खबर पाएको पद्माको भनाइ छ ।

उनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास, अस्पताल, स्थानीय सुुरक्षा संयन्त्र, नेपाली संघ संस्थाका प्रतिनिधिहरू सक्रिय रहेको दूतावासले जनाएको छ ।

शनिबार बिहान विपिनले दाइसँग कुरा गरेका थिए । गाजाले हवाई आक्रमण गरिराखेको र खाना खाएर आफू बंकरभित्र जाने उनले दाइलाई बताएका थिए । त्यसपछि दाइ किशोर जोशीसँग समेत उनको सम्पर्क भएन ।

विपिन गत भदौ अन्तिम साता मात्रै इजरायल पुगेका थिए । उनीसँगै सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी इजरायल गएका थिए । आक्रमणमा परी १० जनाको नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थीलाई अर्को सुरक्षित स्थानमा सारिएको छ ।

‘हिजो राति इजिप्ट नजिकको क्षेत्रमा ल्याएर राखेको छ । इजरायलको आर्मीले सुरक्षा दिइरहेको छ । तर यहाँ बंकर भने छैन । प्यालेस्टाइनबाट आतंककारीहरू आएर आक्रमण गर्ने हुन् कि भन्ने डर छ,’ नितिनले भने । उनीहरूलाई आर्मीले स्कर्टिङ गरेर उद्धार गर्दै अर्को क्षेत्रमा लगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप