सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल घटना

इजरायल पुगेको २६ दिनमै ज्यान गुमाए आनन्दले, परिवार र सिङ्गो गाउँ शोकमग्न

सोमबार, २२ असोज २०८०, १६ : ०१
सोमबार, २२ असोज २०८०

जनकपुरधाम । २६ दिन अगाडिमात्रै इजरायल पुगेका धनुषाका एक युवाले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २५ वर्षीय आनन्द साह गत भदौ २६ मा कृषि सम्बन्धी तालिम लिन इजरायल गएका थिए । उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू पनि सोही तालिमका लागि गएका थिए ।

आनन्दको मृत्युपछि परिवारका कुनै पनि सदस्य बोल्न सक्ने अवस्थामा छैनन् । बुबाआमाको चार सन्तानमध्ये एकमात्र छोरा आनन्द मारिएको खबरले परिवारको साथै सिङ्गो गाउँ शोकमा छ ।

आनन्दको मृत्युको खबर आइतबार दिउँसो ४ बजे गाउँमा आगोजस्तै फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । उनको गाउँ र पूर्वराष्ट्रपति डा. रामवरण यादवको गाउँ एउटै हो ।

इजरायलमा हमासले आक्रमण गरेको खबर प्रकाशमा आएसँगै आनन्दकी बहिनीले पटक–पटक फोन सम्पर्कको प्रयास गरेकी थिइन् । आनन्दसँग सम्पर्क हुन नसकेपछि उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यु भएको खबर प्राप्त भएको हो ।

जनकपुरकै एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट प्लस–टु उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।

प्लस–टु सकेपछि आनन्द सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा बीएससीएजी पढ्न भर्ना भए । एग्रीकल्चरको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो ।

इजरायल गएपछि आनन्दले घरमा आमाबुबा तथा बहिनीहरुसँग दैनिकजसो कुराकानी गर्थे । परिवारका सदस्यहरुसँग अन्तिम कुराकानी शुक्रबार राति ८ बजेतिर भएको थियो । आनन्दले कल गर्दा बुबा सोमन बाहिर थिए भने आमा र बहिनीहरुसँग लामै कुराकानी गरेका थिए ।

शनिबार इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि घरपरिवारले आनन्दसँग लगातार सम्पर्क गर्ने प्रयास गरिरहे । परिवारका सदस्यले आइतबार अबेरसम्म आनन्दलाई फोन गरिरहे । तर आनन्दसँग कुरा हुन पाएन । ‘मोबाइलमा फोन जान्थ्यो, तर फोन उठेन,’ आनन्दकी बहिनी सरस्वतीले भनिन् ।

आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित परिवारको कुरा भइरहेको थियो । रिमामार्फत नै आनन्दको बारेमा परिवारले जानकारी लिने गरेको थियो । उनले आनन्द घाइते भएको र उपचार भइरहेको परिवारजनलाई बताएकी थिइन् ।

साँझ मृतक र घाइतेको विवरण सार्वजनिक भएपछि भने परिवार छाँगाबाट खसेजस्तै भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप