शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्रीमा आङ्बोलाई कांग्रेस असन्तुष्ट पक्षको चुनौती, केन्द्रको निर्णय कुर्दै राप्रपा

बिहीबार, २५ असोज २०८०, १८ : १७
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । कोशी सरकार गठन प्रक्रिया रोचक मोडमा पुगेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयपछि सरकार गठन प्रक्रियाले रोचक मोड लिएको हो ।

मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट  कांग्रेस संस्थापक पक्षको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । त्यस्तै एमालेको साथ लिएर कांग्रेसका असन्तुष्ट पक्षका सांसदहरूको तर्फबाट केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । यद्यपि अहिलेसम्म उनको दाबी पेस भएको छैन ।  तर गठबन्धनमा निर्णायक मानिएको राप्रपा केन्द्रको निर्णय कुरेर बसेको छ ।

केन्द्रको निर्णयबिना आफूहरूले कसैलाई पनि समर्थन नगर्ने राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।  ‘मुख्यमन्त्रीमा क–कसले दाबी गरे हामीलाई जानकारी छैन । पार्टीको आधिकारी निर्णय नआएसम्म राप्रपाले कसैलाई पनि समर्थन गर्दैन’, उनले भने । 

यसै विषयमा निर्णय गर्न राप्रपाले शुक्रवार बिहान पदाधिकारी बैठक बोलाएको छ । सबै विकल्पमा छलफल गरी निर्णय लिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताइसकेका छन् । ९२ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । सत्ता गठबन्धनबाट कांग्रेसको २९,  माओवादी केन्द्रको १२, एकीकृत समाजवादीको ४ र जसपाको एक गरी ४७ सांसद छन् ।

विपक्षी गठबन्धनमा एमालेको उपसभामुखसहित ४० र कांग्रेसका असन्तुष्ट पक्षका ८ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ । निर्णायक शक्ति मानिएको राप्रपासँग ६ सिट रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप