बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

शनिबार, २७ असोज २०८०, १२ : २८
शनिबार, २७ असोज २०८०

काठमाडाैँ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहबिच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेका हुन् ।

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरू मध्ये ९०.८ प्रतिशत उजुरीमाथि आयोगले कारबाहीको लागि सिफारिस गरेको जनाएको छ । सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी 'राष्ट्रिय' शब्द थपेर राष्ट्रिय मधेसी आयोग राख्न आयोगले सिफारिस गरेको छ ।

आयोगले गाई-माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन, भ्रूण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरूलाई जिम्मेवार बनाउन, तराई-मधेस क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरू ल्याउन जस्ता महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।

आयोगका अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरू प्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताएका छन् । सरकारको बेवास्ताले गर्दा मधेसी समुदायको सशक्तीकरणमा नकारात्मक असर परेको बताउँदै अध्यक्ष डा. दत्तले सरकारको मधेसी समुदाय प्रति सकारात्मक सोच हुनु अत्यावश्यक रहेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप