सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली

सोमबार, २९ असोज २०८०, २२ : ४८
सोमबार, २९ असोज २०८०

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।  नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न विसं २०७४ मा काम सुरु गरेको थियो । विसं २०७६ मा खम्बा गाडिएको थियो । 

सोही योजनाअनुसार उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए । “खम्बा गाडेको चार वर्षपछि गत शनिबारदेखि केन्द्रीय लाइनको बिजुली बाल्ने सपना पूरा भएको छ”, उनले भने, “खम्बा गाड्न र तार तान्न बाँकी रहेकाले दुखुका अझै ५० घरमा बिजुली बल्न बाँकी छ ।”

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताइन् । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे । 

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ । 

केन्द्रका इञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए । खम्बा गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको उनले बताए । 

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९–८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले हालै रु २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको छ । 

भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गर्ने तयारी भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप