पोखरा झरे हिमाली च्याङ्ग्रा, २५ हजार खसी बोका र भेडा–च्याङ्ग्रा आयात हुने
पोखरा । मुगुका सोम तामाङले दसैँको छेकोमा भेडा–च्याङ्ग्राको ब्यापार गरेको दशक बितिसक्यो । कोरोना अघिसम्म चीनबाट च्याङ्ग्रा भित्र्याएका उनले कोरला नाका ठप्प भएपछि बाजुरा, बझाङ लगायतका लेकबाट झार्न थाले ।
उनीजस्तै व्यवसायीका कारण पोखरामा पश्चिम क्षेत्रका भेडा–च्याङ्ग्राको बजार बढ्दै गएको छ । यो वर्ष मुस्ताङभन्दा पहिले बाजुरा र बझाङका भेडा–च्याङ्ग्राले पोखराको च्याङ्ग्राबजार भरिएको छ ।
नवरात्रि सुरु हुनुभन्दा एक दिन अघि नै सैपाल क्षेत्रबाट भेडा–च्याङ्ग्रा ल्याएर बिक्री हुन थालेको छ । ‘पहिले चीनको च्याङ्ग्रा बेच्थेँ । नाका बन्द भएपछि पश्चिमतिर लागेको हुँ,’ तामाङले भने, ‘मासुको स्वादमा खासै फरक छैन । उता पनि लेकबाटै झार्ने हो ।’
डोल्पाका चन्द्रमान रोकायाले यो वर्ष दसैँ लाग्नुअघि नै मुस्ताङबाट च्याङ्ग्रा पोखरा झारे । १ सय ५० च्याङ्ग्रा ल्याएका उनीसँग जम्मा ५ वटा बाँकी छन् । ८० वटा च्याङ्ग्रा काठमाडौँका व्यवसायीले बाटोबाटै किनेर लगे । केही च्याङ्ग्रा पोखरामै बिक्री भएको छ । ‘अब ५ वटा बाँकी छ । अरु साथीहरुको आइपुगेकै छैन, मेरो सकियो,’ रोकायाले भने, ‘अरु पनि ल्याउने कि भनेर सोचिरहेको छु ।’
घटस्थापना सँगै याम्दी क्षेत्रमा भेडा–च्याङ्ग्राका बथान आइपुगेका छन् । मुस्ताङबाट १ हप्ता हिँडाएर भेडा–च्याङ्ग्रा पोखरा ल्याउँछन् व्यवसायीहरु । मुस्ताङी भेडा–च्याङ्ग्रा केही आइपुगे पनि अधिकांश बाटोमै छन् ।

मंगलबारसम्म सबै भेडा–च्याङ्ग्रा पोखरा आइपुग्ने व्यवसायीहरुको भनाइ छ । यो वर्ष पोखरामा मात्रै १२ हजार हाराहारी भेडा–च्याङ्ग्रा आउने अनुमान छ । यसबाहेक खसी, बोका, राँगो, कुखुरा लगायत अन्य पशुपंक्षी पनि दसैँमा भोग दिने चलन छ ।
‘मुस्ताङबाट ४८ सय भेडा–च्याङ्ग्रा हिँडिसकेका छन् । डोल्पा र पश्चिमतिरबाट पनि आउँदैछन्,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने, ‘यो वर्ष पनि १२ हजारजति भेडा–च्याङ्ग्रा आउने अनुमान छ ।’
बझाङ, बाजुराबाट ३ हजार भेडा–च्याङ्ग्रा आउँदैछन् भने बाँकी डोल्पा, जुम्ला र मुस्ताङका हुन् ।
पहिले खसीबोका भन्दा सस्तो भएर खाने भेडा–च्याङ्ग्रा अहिले सबैभन्दा महँगो भइसकेको छ । महँगो भए पनि च्याङ्ग्रा संस्कृति सकिएको छैन । ‘पहिले त सबैभन्दा सस्तो यही पर्थ्यो । कसैले खाँदैनथे । अहिले त माग बढ्दैछ,’ पोखराका मीमबहादुर भाटले भने, ‘अहिले जति महँगो भए पनि खान्छन् । जति दुःख भए पनि च्याङ्ग्रा खानैपर्छ भन्ने संस्कार विकास भएको छ ।’
यो वर्ष भेडा–च्याङ्ग्राको मूल्य झनै बढेको छ । अघिल्लो वर्ष ४५ हजारसम्म विक्री हुने भेडा–च्याङ्ग्रा अहिले ६० हजारसम्म पुगेको छ । बढ्दो माग र उत्पादन घट्दै गएकाले मूल्य आकासिएको हो । कोरोना संक्रमणपछि चीनबाट च्याङ्ग्रा नझरेका कारण पनि महँगिएको छ ।

दसैँका लागि च्याङ्ग्रा र भेडाबाहेक खसीबोका पनि करिव १५ हजार जति खपत हुने अनुमान गरिएको छ । ‘खसीबजार र अन्य व्यवस्थित बजारबाट १५ हजार खसीबोका बिक्री हुने अनुमान छ ।
सामान्य समयमा पनि दैनिक डेढ सय भन्दा बढी खसीबोका पोखरामा खपत हुन्छ । बाहिरबाट आएका भेडा–च्याङ्ग्रा तथा खसीबोकाको विज्ञ केन्द्रका प्राविधिकहरुले स्वास्थ्य परीक्षण गर्छन् । उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले परीक्षण गरिएको पाण्डेको भनाइ छ ।
रोगी र अस्वस्थ खसीबोका भने बिक्रीका लागि बन्देज गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण