बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको निर्णयपछि रिना साहले भनिन्, ‘एमालेमै छु, ममाथि अन्याय भयो’

मङ्गलबार, ३० असोज २०८०, १७ : ३३
मङ्गलबार, ३० असोज २०८०

रौतहट ।  रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहले पार्टी छोडेको भन्दै नेकपा एमालेको सिफारिसमा मंगलवार निर्वाचन आयोगले मेयर पदबाट हटाएको छ। तर साहले आफू नेकपा एमाले पार्टीमै रहेको जिकिर गरेकी छिन् । उनले एमालेको टिकटबाट चुनाव जितेकाले आफू अहिलेसम्म पनि एमालेमै रहेकाे बताएकी हुन् ।

साहका श्रीमान् तथा पूर्व मन्त्री प्रभु साहले भने एमाले पार्टीको टिकट नै छोडेर स्वतन्त्र रूपमा प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएपछि आफ्नै नेतृत्वमा आमजनता पार्टी दर्ता गराएको छन् । ‘उहाँले के गर्दै हुनुहुन्छ, त्यसको जवाफ मैले कसरी दिने ?,’ साहले प्रश्न गरिन् । 

प्रभु साह अहिले संगठन विस्तारको क्रममा देश दौडाहामा रहेको तर आफू आमजनता पार्टीको कुनै औपचारिक कार्यक्रममा नगएको उनले दाबी गरेकी छन् । आफू एमाले पार्टीबाट जितेको कारण अर्को पार्टीमा जाने कुरै नहुने र आफूमाथि पार्टी छोडेको आरोप गलत भएको जिकिर गरिन्। 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे र निर्वाचन आयोगको कदम बारे जानकारी जानकारी पाएको बताउँदै साहले एमालेले आफूमाथि अन्याय गरेको आरोप लगाइन् । उनले यसविरुद्ध कानुनी बाटोमा न्यायालय तर्फ जाने सरसल्लाह भइरहेको पनि जानकारी दिइन् । 

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय सहित दिएको निवेदनमाथि छानबिन गरी मंगलवार निर्वाचन आयोगले मौलापुर नगरपालिकाको मेयर प्रभु साहकी श्रीमती रिनाकुमारी साहको पद स्वतः रिक्त भएको जानकारी गराएको छ । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम नगर प्रमुख रिना साहको पद स्वतः रिक्त भएको मंगलवार सार्वजनिक गरेको हो। 

उता प्रभु साह नेतृत्वको आमजनता पार्टीले दलीय सिन्डिकेटको आवरणमा लोकतन्त्रको हत्या भएको टिप्पणी गरेको छ। एमालेले अनैतिकताको पराकाष्ठा पनि पार गरेको  पार्टीको ठहर छ।  मौलापुर नगर नेतृत्वको कारण स्थानीय स्तरमा आम जनतालाई सरकारको प्रत्याभूति सँगसँगै सामाजिक न्याय, सुशासन र विकासले आफ्नो एउटा छुट्टै मोडल स्थापित गरिरहेको बेला यस सन्दर्भमा एउटा कर्तव्यनिष्ठ महिलालाई दलीय सिन्डिकेटको आवरणमा केवल आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमालेले आज जसरी पदमुक्त गरेको छ, यो घटना आम जनभावना विपरीत, लोकतन्त्रको उपहास एवं अनैतिकताको पराकाष्ठा रहेको पार्टीको ठहर छ । 

‘गत स्थानीय निर्वाचनमा पूर्व मन्त्री प्रभु साह र उहाँको टिमको अथक प्रयास एवं प्रभावको बलमा एमाले पार्टीले अनगिनत स्थानमा चुनाव जितेको विषय जगजाहेर नै छ । तर आज एमाले पार्टीले नैतिकताको आधारमा हाम्रो मत फिर्ता गर्नुको सट्टा उल्टै उहाँको पत्नीलाई कागजी कार्यवाहीको डण्डा देखाई तर्साउने कार्य गर्नु अनैतिकताको पराकाष्ठा मात्र नभई दलीय निरंकुशताद्वारा गरिएको वास्तविक लोकतन्त्रको हत्या पनि हो,’ आमजनता पार्टीले भनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप